arrow

'म मुख्यमन्त्रीको दाबेदार हुँ' : राई

राष्ट्रिय सभाको निर्वाचनलगत्तै पदाधिकारी चयन गर्छौं : साउद

logo
प्रकाशित २०७४ माघ १० बुधबार
sherdhan-rai.jpg

काठमाडौं। नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रदेश सभा सांसद शेरधन राईले एमाले–माओवादी केन्द्रवीच एकता भएपछिपनि पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली नै हुने स्पष्ट पारेका छन् ।  बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता राईले पार्टी एकतापूर्व नै नयाँ सरकार गठन हुन सक्ने विश्वास दिलाए ।

 मुख्यमन्त्रीका समेत दाबेदार रहेका नेता राईले भने,‘एमाले र माओवादीवीच एकता छिट्टै हुन्छ, यसको लागि हामी आन्तरिक गृहकार्यमा जुटिसक्यौं, केही नीतिगत, सैद्धान्तिक र सांगाठनिक कुराहरु जो छन्, यी विषयमा सहमतिमा पुग्नको लागि अलिक समय लाग्नसक्छ।’ राईले पार्टी एकतापूर्व नै सरकार गठन भए कसैले आश्चर्य मान्न नहुने धारणा राखे ।

उनले पार्टी एकतापछि प्रधानमन्त्री र अध्यक्ष एउटै व्यक्ति भएपनि आश्चर्य नमान्न आग्रह गरे । उनले भने,‘ओली र प्रचण्डवीचको समझदारीमा सबै कुरा टुँगोमा पुग्छ, सरकार र पार्टी दुवैको नेतृत्व ओली गर्न सक्नुहुन्छ।’

पूर्वमन्त्री समेत रहेका नेता राईले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै निर्वाचनले पूर्णता पाउने उल्लेख गर्दै भने,‘यतिवेला हामी राष्ट्रिय सभाको निर्वाचनको तयारीमा छौं, यो निर्वाचन सम्पन्न भएपछि निर्वाचनको चक्र पूर्णता पाउँछ, यतिवेला नयाँ सरकार गठन भैसक्नुपर्दथ्यो, तर वर्तमान सरकारले अलिक बढि समय नै बस्ने रुचि देखाएकोले केही विलम्ब भएको थियो, अहिले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त भैसक्यो।’ नेता राईले आगामी फागुणको दोस्रो साताभित्रै नयाँ सरकार गठन भैसक्ने स्पष्ट पारे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने कुरामा कुनै द्धिविधा नभएको स्पष्ट पारे । राईले भने,‘फागुणको दोस्रो साताभित्रै वाम गठबन्धनको त्यसमा पनि एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ, यसमा कुनै द्धिविधा छैन, उहाँ सर्वसम्मतीले संसदीय दलको नेता बन्नुहुन्छ।’ उनले यही माघभित्रै प्रदेश सरकारहरु गठन भैसक्ने समेत जिकिर गरे ।

अब बन्ने सरकारले मुलुकमा स्थायित्व र आर्थिक समृद्धि हाँसिल गर्ने भएकोले जनताको चाहना अनुसार नै नयाँ सरकारले काम गर्ने विश्वास दिलाए । उनले भने,‘अब बन्ने सरकारले मुलुकमा स्थायित्व, सुशासन, अमनचयन, शान्ति र विकास गर्ने प्रमुख लक्ष्य लिनेछ, जनताको चाहना अनुसार काम गर्नेछ, यो सपना पूरा गर्नको लागि वाम गठबन्धनले चुनावमा गरेका प्रतिबद्धताहरुलाई अब पूरा गर्छ, हामी पूर्ण प्रतिबद्ध छौं।’

प्रमुख प्रतिपक्षी दललाई पनि विश्वासमा लिएर आफूहरु अघि बढ्ने उनको भनाई थियो । उनले भने,‘आर्थिक समृद्धि हाँसिल गर्नको लागि हामी विपक्षी दललाई पनि सम्मानका साथ सँगै लिएर जान चाहन्छौं, विकास र समृद्धिको यात्रामा उहाँहरुलाई पनि गोलबन्द गर्नेछौं।’

राईले आफू मुख्यमन्त्रीको दाबेदार भएकोले प्रदेश संसदीय दलको नेताको निर्वाचनमा आफलाई विजयी गराउने विश्वास दिलाए । उनले भने,‘म मुख्यमन्त्रीको दाबेदार हुँ, संसदीय दलको नेतामा उम्मेद्धवार दिन्छु, म पराजित भएँ भने पनि बन्ने प्रदेश सरकारलाई पूर्ण सहयोग र साथ दिनेछु।’ यद्धपी उनले प्रदेश सांसदहरुले आफूलाई नै संसदीय दलको नेतामा विजयी गराउने कुरामा पूर्ण विश्वास रहेको सुनाए ।

उनले आफू प्रदेश नम्बर १ को मुख्यमन्त्री बने उक्त प्रदेशको विकासको लागि दत्तचित्त भएर काम गर्ने विश्वास दिलाए । उनले भने,‘प्रदेश नम्बर १ विकास र समृद्धिको हिसावले अत्यन्तै धेरै ठूलो संभावना बोकेको प्रदेश हो, हामी मुख्यगरि कृषि, पर्यटन र जलस्रोतको विकासमा केन्द्रित हुन्छौं, हाम्रो विकासको मुख्य आधारहरु नै यीनै हुन् ।’

त्यस्तै उनले अहिले तोकिएको प्रदेशको अस्थायी राजधानीको विवादबारे टिप्पणी गर्दै भने,‘प्रदेशको स्थायी राजधानी प्रदेश सभाका दुई तिहाई सांसदहरुले निर्णय गर्ने कुरा हो, हामी उचित र आवश्यकत्ता अनुसार उचित निर्णय लिन्छौं।’

नेपाली कांग्रेसका नेता एन.पी. साउदले राष्ट्रिय सभाको निर्वाचनलगत्तै पार्टीले पदाधिकारी चयन र विभागहरु गठन गर्ने स्पष्ट पारेका छन् । उनले भने,‘निर्वाचन सम्पन्न भएलगत्तै हामी पदाधिकारी र विभागहरु गठन गर्छौं।’
नेता साउदले पदाधिकारी मनोनयनको लागि पार्टीभित्र र बाहिर कुरा उठिरहेको बताउँदै निर्वाचनलगत्तै त्यसबारेमा ठोस निर्णइ लिईने जानकारी दिए । उनले पार्टी सभापति शेरबहादुर देउवाको अहिले विकल्प नरहेको समेत जिकिर गरे ।

साउदले अहिले विशेष महाधिवेशनको कुनै संभावना नरहेको समेत स्पष्ट पारे । उनले भने,‘अहिले विशेष महाधिवेशनको कुनै संभावना छैन, यो पार्टीको हितम पनि छैन, हालै बसेको केन्द्रिय कार्यसमितिको बैठकमा ८० जना केन्द्रिय सदस्यहरुको उपस्थिति थियो, तर तीमध्ये कसैले पनि विशेष महाधिवेशनबारे एक शब्द उच्चारण गर्न सक्नुभएन्, के को विशेष महाधिवेशन ? विशेष महाधिवेशन दुई वटा कारणले मात्रै हुनसक्छ, एउटा केन्द्रिय कार्यसमितिले निर्णय गर्नुपर्छ, अर्को २५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित बुझाउनुभयो भने विशेष महाधिवेशन बैठक बस्न सक्छ।’

उनले कांग्रेस पार्टीका ईतिहाँसमा सभापति महाधिवेशन र क्रान्तिबाट चयन हुने भएकोले १३ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुरको देउवाको अहिले विकल्प नरहेको दाबी गरे । निर्वाचनमा पार्टीले व्यहोरेको हारको अहिले गम्भिर समिक्षा भैरहेको पनि उनले जानकारी दिए । उनले थपे,‘अहिले देशभरिबाट रिपोर्टहरु आईरहेका छन्, गम्भिर समिक्षा भैरहेका छन्।’

नेता साउदले मुलुक यतिवेला संविधान कार्यान्वयनको मध्यान्हतिर आईपुगेको बताउँदै भने,‘अहिले हामी राष्ट्रिय सभाको निर्वाचनको पूर्वसन्ध्यामा छौं, नयाँ सरकार गठन हुन्छ, निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयनको जोखिम पार हुन्छ।’ उनले कांग्रेस पूरानो पार्टी भएकोले पार्टीभित्र उठेका फरक मतहरुको सम्मान गर्नै स्पष्ट पारे ।
 
निर्वाचनमा आफूहरुले अपेक्षा गरेको अनुसार परिणाम नआएको उल्लेख गर्दै साउदले भने,‘निर्वाचनमा अपेक्षा गरे अनुसार परिणाम आएन्, कांग्रेस अनुभवी पार्टी हो, हालै हामीले केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न गर्यौं, यो बैठकमा हामीले राष्ट्रिय निर्वाचनको लागि रणनीति बनायौं, चुनावको बारेमा संक्षिप्त समिक्षा गर्यौं।’ बैठकले निर्वाचनमा पराजयको मुल कारण वाम गठबन्धन बन्नु नै रहेको निश्कर्ष निकालेको पनि उनले जनाए । यद्धपी उनले निर्वाचन मतपरिणाम हेर्दा प्रत्यक्षतर्फ ज्यादा र समानुपातिकतर्फपनि एमालेभन्दा थोरै कम मत आएको सुनाए ।

पूर्वमन्त्री समेत रहेका नेता साउदले निर्वाचन सम्पन्न नहुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अन्र्तराष्ट्रिय बधाई आएको बताउँदै भने,‘एमालेले पनि संसदीय दलको नेता तोकेको छैन, वाम गठबन्धनभित्र पनि सहमति भएर को प्रधानमन्त्री बन्ने भन्नेबारे एकिन भएको छैन, तर हाम्रो एमालेका सभापति आदरणिय केपी शर्मा ओलीजी बैंककबाट फर्किसकेपछि पहिल्यै अग्रिम (यहाँको राष्ट्रपति त उहाँलाई प्रधानमन्त्रीको रुपमा बोलाउनु त स्वभाविक थियो) तर पहिल्यै बाहिरबाट चाहीँ तोकिएकोजस्तो भयो, यो आश्चर्य लागेको छ।’ आफूहरु अब जिम्मेवार प्रतिपक्षको भूमिका बस्ने पनि उनको भनाई थियो ।

कांग्रेसले प्रधानमन्त्री बन्नको लागि कसैलाई पनि अफर नगरेको उनको जिकिर थियो । उनले भने,‘हामीले कसैलाई पनि प्रधानमन्त्री बन्नुहोस् भनेर प्रस्ताव गरेकै छैन, तर कसलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे हामी स्वतन्त्र छौं।’

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सरकार निर्माणको लागि अहिले समय बाँकी भएकोले आफूहरुको प्राथमिकतामा सरकार नभएको स्पष्ट पारे । यादवले अब बन्ने सरकारको प्राथमिकतामा के–के पर्छन र त्यो सरकारले आफूहरुको आवश्यकत्ता महशुस गर्छ कि गर्दैन भन्ने कुरा हेर्न बाँकी नै रहेको बताए । उनले भने,‘त्यसैले यी कुराहरु हेर्न बाँकी नै छ, अहिले नै सरकारमा जाने कि नजाने भन्ने कुरा प्रधान होईन, यो समय र सान्दर्भिक पनि छैन्।’

उनले अहिलेको निर्वाचनको मतपरिणाम अनुसार वाम गठबन्धनलाई राष्ट्रिय सरकार र २ नम्बर प्रदेशमा आफूहरुको नेतृत्वमा सरकार बन्नेगरि मत प्राप्त भएको बताए । उनले भने,‘राजपा र फोरमको गठबन्धनले २ नम्बर प्रदेशमा सरकार बनाउँछ, राजपा एउटा विचारमा आधारित पार्टी हो।’

उनले आफूहरुलाई व्यक्तिमा कुनै गुनासो नभएको पनि बताए । उनले भने,‘हामी निषेधको राजनीति गर्दैनौं, समय र आवश्यकत्ता ध्यानमा राखेर अघि बढ्ने कुरा हो, अहिले हाम्रो मुख्य प्राथमिकता भनेको संविधान संशोधन हो।’
यादवले संविधानमा व्यापक त्रुटि रहेको कुरा अहिले प्रमुख दलहरुवीचको विवादले छताछुल्ल पारिसकेको पनि जिकिर गरे । उनले भने,‘एमालेका साथीहरु अहिले छट्पटाउन थालेका छन्, हामीले हिजो भन्दै आएको कुरा अहिले उहाँहरु प्रमुख दलका नेताहरु नै भन्नथाल्नुभएको छ, यसलेपनि पुष्टि गर्छ कि यो संविधानमा धेरै गडबडी छ।’

उनले संविधान संशोधन वा परिवर्तनको कुनै विकल्प नरहेको समेत जिकिर गरे । अहिलेकै अवस्थामा यो संविधान लागु हुनै नसक्ने उनको ठोकुवा थियो । उनले भने,‘यो त कस्तो देखियो भने हात्तीको शरिरमा उँटको टाउँकोजस्तो भयो, त्यसैले संशोधन अनिवार्य छ।’

२ नम्बर प्रदेशको मुख्यमन्त्री सहमतिमै चयन हुने उनको विश्वास थियो । उनले भने,‘२ नम्बर प्रदेशमा हाम्रो गठबन्धनको सरकार बन्दैछ, हिजोसम्म हामी राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेद्धवार चयनमा व्यस्त थियौं, अब आजबाट राजपा र फोरमवीच छलफल सुरु भएको छ।, हामी आगामी दुई वर्षभित्र प्रदेश सरकारले गर्नुपर्ने कामका प्राथमिकता र अन्य कुराका बारेमा छलफलमा जुटेका छौं, छलफलपछि एउटा विन्दुमा पुग्छौं।’
योग्य र सक्षम अनि विकाससम्बन्धी भिजनरी व्यक्तिलाई नै मुख्यमन्त्री बनाईने उनको विश्वास थियो । उनले भने,‘हाम्रो गठबन्धनवीच कुनै विवाद छैन, सहमतिमै हामी सबै कुरा टुँगो लगाउँछौं।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ