arrow

वाम गठबन्धनलाई सरकार बनाउने जिम्मा : प्रचण्ड

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ ११ बिहिबार
prachanda4.jpg

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  वाम गठबन्धनलाई जनताले ठूलो आशा र भरोसाको साथ सरकार बनाउने जिम्मा दिएको बताएका छन् ।
 
उनले  जनताको चाहानाअनुरूप नै नयाँ सरकार बन्ने बताए । उनले जनचहाना अनुसार अब ५ वर्ष टिक्ने स्थायी सरकार बन्नेमा ढुक्क हुन सबैलाई आग्रह गरे ।

रूपन्देहीको देवदहमा सञ्चालित चौँथो राष्ट्रिय औद्योगिक मेलाको बिहीबार उद्घाटन गर्दै प्रचण्डले भने, ‘जनताले हामीलाई (वाम गठबन्धन) लाई झण्डै दुई तिहाइ मत दिएका छन् । जनताले दिएको ऐतिहासिक अवसरलाई हामी (वाम गठबन्धन)ले गुम्न दिँदैनौं ।’

उनले जनताको अभिमतलाई सम्मान गर्नुको विकल्प नभएको बताए । ‘अबको सरकार स्थायी हुन्छ । देशको आर्थिक विकास र समृद्धिमा केन्द्रित हुन्छ,’ प्रचण्डले भने ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएलगत्तै वाम गठबन्धनको नयाँ सरकार बन्ने बताए । अब बन्ने सरकारको ध्यान स्थायित्व, शुसासन र आर्थिक विकासमा केन्द्रित हुने उनको भनाइ छ ।

रूपन्देही प्रदेश नम्बर ५ को राजधानी भएपछि अब जिल्लाको विकासले गति लिने उनले बताए । ‘नेपाल र चीन सरकारबीच केरुङ, काठमाडौं, पोखरा लुम्बिनी रेल निर्माण कार्य अगाडि बढिसकेको छ’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘पूर्व पश्चिम रेलमार्ग पनि रूपन्देही हुँदै अगाडि बढ्दै छ । जसले गर्दा अब रूपन्देही देशको नमूना विकास जिल्ला बन्नेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ