नेविसंघको प्रशिक्षणमा नेताहरुको उमेरसँगै युग पनि सकिएको वहश
प्रकाशित २०७४ माघ १२ शुक्रबार
699
Shares
रौतहट । नेपाल विद्यार्थी संघको प्रदेश नम्बर दुई स्तरीय प्रशिक्षण सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियन जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षणमा काँग्रेसका केन्द्रिय नेताहरुले प्रशिक्षण दिएका थिए।
प्रशिक्षण कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं बारा क्षेत्र नम्बर १ का सांसद उमाकान्त चौधरीले काँग्रेसको नर्सरीको रुपमा रहेको नेविसंघलाई अझ शसक्त बनाउन पार्टी नेतृत्वको ध्यान जानुपर्ने बताए।
कार्यक्रमलाई संबोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य धनराज गुरुङले पार्टीको विचार र संगठन मात्रै ठिक भएर नहुने, पार्टीलाई सवल र सक्षम नेतृत्व पनि आवश्यक रहेको औल्याए। उनले पार्टीको पराजयको समिक्षा गर्दै नेतृत्वलाई सच्याउनुपर्ने बताए। नेतृत्व अझै नसच्चिने हो भने काँग्रेसमा झनै निरासाको अवस्था सिर्जना हुने उनको ठोकुवा थियो।
‘निर्वाचन पछिको सन्दर्भ र नेपाल विद्यार्थी संघको भूमिका’ विषयमा केन्द्रित प्रशिक्षण कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य गगनकुमार थापाले अबको पाँच वर्ष पछि हुने चुनावमा लाइनमा बसेका सय जना मतदाता मध्ये ५१ जनाले नेपाली काँग्रेसलाई मत दिने अवस्था बनाउने गरि काँग्नेसको नेतृत्व तयार गर्नुपर्ने बताए।। नेपाली जनताले नेतृत्व हेरेर पनि भोट दिँदा रहेछन् भन्ने कुराको उदाहरण भरखरै सम्पन्न निर्वाचनको परिणामले देखाएको उनले बताए।
२०४६ साल पछि लगातार पार्टीमा नेतृत्व गरि पटकपटक सरकारमा समेत बस्दै आउनु भएका प्रभावशाली नेताहरुलाई युग पुरुषको सज्ञा दिँदै थापाले भने “उहाँहरु युग पुरुष हुनुहुन्छ । अब उहाँहरुको युग समाप्त भयो । अब नयाँ युगमा नयाँले नेतृत्व गर्नुपर्छ। ती युग पुरुषहरुले अभिभावकको भूमिका निर्वाह गरी नेपाली काँग्रेसप्रति जन विश्वास बढाउने काम गर्नुपर्छ ।”
नेतृत्वले कार्यकर्ताको मनोभावना र पार्टीहित भन्दा पनि सिमित व्यक्तिको कुरा सुन्दा पार्टीले पराजय भोग्नुपरेकोले कम्तिमा महासमिति बैठक बोलाउदै निर्वाचनको समिक्षा हुनुपर्ने पूर्व सांसद एवं नुवाकोट काँग्रेस सभापति जगदिश्वर नरसिंह केसीले बताए।
नेविसंघका महामन्त्री कुन्दनराज काफ्लले विद्यार्थी देशका भविष्य र सम्पत्ति दुबै भएकोले विद्यार्थी अधिकार र शिक्षामा समानताको लागि राज्यको क्रियासिलता अझै नपुगेको औल्याए।
कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ का सांसद सदस्य देवप्रसाद तिमल्सिना, नेविसंघका उपाध्यक्षद्वय रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, सहमहामन्त्रीद्वय राजेश रौनियार, प्रमेश्वर शाह, केन्द्रिय सदस्य शुशिल भट्ट, रत्नहरी ढुङ्गेल, नवराज त्रिपाठी, नवराज देवकोटा, साधु यादव र विद्यार्थी नेता निरञ्जन थापा, हरी आचार्य लगायतले धारण राखेका थिए।
स्वतन्त्र विद्यार्थी युनियन जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरका सभापति संगम श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रशिक्षणमा बोल्ने अधिकांश वक्ताले नेविसंघको गुट र उपगुटको बारेमा चिन्ता जनाएका थिए। प्रशिक्षण कार्यक्रममा पाँचसय जनाभन्दा बढीको सहभागीता रहेको नेबिसघका सहमहामन्त्री राजेश रौनियारले जानकारी दिए।