कांग्रेसको मुद्दाले जित्दै गर्दा पार्टीको स्थान खस्कीयो : राना
सीता डोटेल,
प्रकाशित २०७४ माघ १४ आइतबार
777
Shares
पाल्पा । नेपाली कांग्रेस पाल्पाका सभापति एवं प्रदेश नं. ५ का प्रदेश सभा सदस्य विर बहादुर रानाले मुलुकमा कांग्रेसको मुद्दाले जित्दै गर्दा पार्टीको स्थान खस्कीएको बताएका छन् ।
कांग्रेसले इतिहासको हरेक कालखण्डमा लोकतन्त्रको रक्षा र जनतालाई अधिकार सम्पन्न गर्न कहिल्यै नचुकेको तर पार्टीले गरेका योगदान जनतालाई भन्न नसक्दा पछि परेको बताए । नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले गरेको सम्मान तथा बधाई कार्यक्रममा बोल्दै सांसद रानाले विगतका कार्यको समिक्षा गर्दै विगतका दिन र घटना क्रमलाई सच्याएर अघि बढ्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकालले निर्वाचनको परिणाम कांग्रेसको पक्षमा नआए पनि कांग्रेस प्रत्यक तहमा पुग्ने बताए । उनले कार्यकर्तालाई सम्मान र प्रोत्साहन गर्दै अब अभियानका साथ समग्र पाल्पा जिल्लाका प्रत्येक स्थानमा पुग्ने बताएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका जिल्ला कार्य समितिका सचिव अजयमान कर्मचार्य, झपेन्द्र गहिरे, महासमिति सदस्य रमण बहादुर थापा, महाधिवेशन प्रतिनिधि विष्णुमाया ढकाल, नेपाल आदिबासी जनजाति संघ पाल्पाका सभापति कृष्ण राना, नेपाल भुपू सैनिक संघका केन्द्रिय सदस्य विष्णु गाहा, नेपाल विद्यार्थी संघ पाल्पाका सभापति कृष्ण आलेले बोल्दै विगतका कमी कमजोरीलाई सच्याउदै , कसैसंग मनमुटाव नराखी अगाडी बढ्नु पर्ने बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर कार्य समिति रामपुर पाल्पा र तरुण दल रामपुर पाल्पाले पार्टीका जिल्ला सभापति समेत रहेका प्रदेश सभा सदस्यमा निर्वाचित सांसद विर बहादुर रानालाई सम्मान गरेको हो । कार्यक्रममा सहभागीहरुले जिज्ञासा सहित सुझाव समेत दिएका थिए ।