arrow

चिनियाँ उपचार पद्धतिका नाममा नक्कली डाक्टर, सीआइबीले मार्यो राजधानीका सात ठाउँमा छापा

logo
प्रकाशित २०७४ माघ १५ सोमबार
chhapa.jpg

काठमाडौं। केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले चिनियाँ उपचार पद्धतिका नाममा नक्कली चिकित्सकले उपचार गरिरहेको पाएपछि छापा मारेको छ। उपचार गर्ने नाममा त्यस्ता उपचार स्थलहरुबाट अन्य धन्धा सञ्चालन हुँदै आएको भन्ने सुराकीका आधारमा सीआइबीले छापा मारेको हो। प्रहरीले चावहिल चुच्चेपार्टीको चाइना ग्रेटवाल स्वास्थ्य केन्द्र प्रालिमा छापा मारी ४ जनालाई समेत नियन्त्रणमा लिएको छ। प्रक्राउ पर्नेमा तीन जना चिनियाँ र एक जना नेपाली छन् । नेपाली सुलभ बस्नेत, लङ ग्योयुग, लङग्यो चोङ र क्वाङ हुई जु रहेका छन्।

चाइना ग्रेलवालका काठमाडौंमा सात वटा शाखा रहेको बुझिएको छ। यसका संचालक नारायण तिमल्सिना हुन्। सातै ठाउँमा सीआईबीले छापा मारी अनुसन्धान गरिरहेको छ। चावहिलदेखि जोरपाटीसम्म रहेका सबैजसो चिनियाँ नक्कली डाक्टरहरु पक्राउ परेको पनि सीआइबीले जनाएको छ। 

त्यस्ता स्थलमा विशेषगरी दन्त, पाठेघर, पाइल्स लगायतका रोगको उपचार हुँदै आएको छ। यस्ता चिनियाँ उपचार पद्धतिका अस्पताल तथा क्लिनिकमा दक्ष चिकित्सक नभइ केही सिकेका तर अन्य गतिविधिमा संलग्न रहने गरेको पाइएकाले छापा मारिएको जनाइएको छ। स्रोतका अनुसार केही चिनियाँहरु डाक्टरको भेषमा सुराकीसमेत गर्दै हिंडिरहेका छन्।

यस्ता क्लिनिक तथा अस्पतालहरु बढी गरी चिनियाँ गतिविधि हुने स्थलमा बढी रहेका छन्। बौद्ध, जोरपाटी, ठमेल, लाजिम्पाट लगायतमा बढी रहेका छन्। सीआइबीका अनुसार नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएको कारण उनिहरुलाई पक्राउ गरिएको हो।

चिनियाँ उपचार पद्धति के हो ? 
चिनियाँ उपचार पद्धतिलाई विश्वमै एक फरक तर भरपर्दो उपचार पद्धतिका नामले चिनिन्छ। प्राकृतिक उपचार पद्धति भएकाले पनि यसबाट शरीरमा कम हानी पर्छ भन्ने मान्यता छ। प्राकृतिक तरिकाले उपचार हुने भएकाले नेपालमा यो प्रभावकारी बन्दै आएको छ। 

हुनत यदाकदा गुनासो नआएको हैन। उपचार सही नभएको गुनासो आउँछ। तर अकुपञ्चर पद्धतिबाट गरिने उपचार अझ बढी प्रभावकारी भएको बताइन्छ। नसाका रोगहरुमा यसको प्रभाव अझ बढी रहने बताइन्छ। यो उपचार पद्धतिलाई चीन र नेपालबीचको ‘वान बेल्ट वान रोड’को एजेन्डालाई साकार पार्न नेपालमा ठूलो सघाउ पुग्ने अपेक्षा गरिन्छ।

चीनको परम्परागत उपचार पद्धतिलाई विश्वले अनुकरण गर्दा नेपालले पनि अनुकरण गर्नु स्वभाविकै हो। यस पारम्परिक उपचार पद्धतिमा अकुपन्चर, अकुप्रेसर बायो इलेक्ट्रिक थेरापी जस्ता उपचार पद्दति पर्दछन्। यिनीहरुको असर कम हुन्छ। त्यसैले त नेपालमा पनि यसले विस्तारै फैलने अवसर पाएको छ। ‘चाइना हस्पिटल’ ले राम्रो काम गर्दै पनि आएको छ। त्यसअघि देखि नै नेपालमा विभिन्न नामबाट अस्पताल तथा क्लिनिकहरु भने संचालन हुँदै आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ