चितवन । नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता र संघीय सरकारमा पनि ७०-३० कै हाराहारीमा हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवन शाखाले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६०-४० को भागबन्डा गरेपनि चुनावको परिणामले दुई पार्टीलाई ७०-३० को अनुपातमा लगेको बताए ।
प्रदेशमा ७०-३० को भागबन्डा गरिएको बताउँदै नेता पाण्डे भने, “राष्ट्रियसभा र प्रदेशको सिट बाँडफाँड ७०-३० प्रतिशतको आधारमा गरिएको छ, पार्टी एकीकरण र संघीय सरकार पनि त्यसै अनुपातमा हुनसक्छ ।”
उनले एक जना मन्त्री यता र उता हुँदा प्रतिशतमा तलमाथि भए पनि समग्रमा यसैलाई आधार मानिने स्पष्ट पारे।
नेता पाण्डेले भने “एमालेलाई ६० देखि ७० प्रतिशत र माओवादी केन्द्रलाई ३० देखि ४० मा घटी बढी नहुने गरी पार्टी र सरकारको भागबन्डा मिलाईन्छ ।”
पार्टी एकीकरणका लागि विभिन्न आधार तय गरिएको बताउँदै उनले पार्टी एकीकरण भन्दा पहिला नै सरकार गठन हुने बताए । नेता पाण्डे दुई वटा पार्टी भएर सरकारमा जाँदा धेरै कुरामा फाइदा हुने बताउँदै दुई पार्टीबीच अहिलेसम्म कुनै बिमति नरहेको र पार्टी एकीकरण पनि सहज रुपमा हुने दाबी गरे।
पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले सरकारले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने खालका निर्णय गर्नु लोकतान्त्रिक पद्धती विपरित भएको उल्लेख गर्दै देउवा सरकारका निर्णयले अर्थतन्त्र धरासायी हुने बताए ।
चितवनले प्रदेशको राजधानी नपाए पनि आर्थिक राजधानी बन्न कसैले रोक्न नसक्ने बताउँदै उनले भनेभयो, “चितवन नमूना आर्थिक राजधानी बन्छ, यसलाई कसैले रोक्न सक्दैन ।” चितवनले राजधानी र मन्त्री नपाए पनि यहाँको विकास र समृद्धि नरोकिने पनि उनले बताए ।