मोदी सरकारको अन्तिम बजेट भाषणका दिन स्वराजको नेपाल भ्रमणको अर्थ यस्तो !
प्रकाशित २०७४ माघ १८ बिहिबार
234
Shares
काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने भ्रमणका लागि बिहिबार दिउँसो नेपाल आउँदै गर्दा त्यही दिन नै नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारले यो कार्यकालको अन्तिम बजेट संसदमा पेश गर्दैछ ।
बजेट भाषणकै दिन हतारहतार नेपाल सरकारलाई समेत पर्याप्त जानकारी नदिई स्वराज नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भावी प्रधानमन्त्रीका रुपमा रहेका केपी ओलीको रात्री भोजमा सहभागी हुनको लागि नेपाल आउन लागेकी स्वराजको यो भ्रमणले अहिलेको सरकार र सरकारी शिष्टाचारलाई समेत लत्याएको छ ।
स्वराजको यो भ्रमणलाई अहिले अन्तराष्ट्रिय भन्दा पनि आफ्नै देशको कुनै प्रान्तमा भएको भ्रमण जसरी देशको उच्च तहलाई समेत जानकारी नदिई आउन लागेको भन्दै आलोचना हुँदा पनि भारतीय पक्षले यसलाई वास्ता गर्ने गरेको छैन ।
बिहिबार बिहान ११ बजे अर्थमन्त्री अरुण जेट्लीले संसद्मा बजेट भाषण गर्दैछन् । उनको भाषण सकिएसँगै स्वराज नेपाल भ्रमणमा निस्कने कार्यतालिका छ ।
स्वराज दिउँसो ३ः३० बजे विशेष विमानमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम छ ।
दुईदेशीय सम्बन्ध सुधारको लागि भन्दै नेपाल आउन लागेकी उनले बहालवाला सरकारलाई भने खासै प्राथमिकतामा नराखेको देखिएको छ ।
स्वराजको नेपाल भ्रमण बजेट भाषणकै दिन तय गर्नुपर्ने त्यस्तो विशेष कारण नभएको भएपनि बाहिर देखाउनको लागि भारतले नेपाललाई महत्व दिएको देखाउने र भित्री रुपमा एमालेको आतिथ्यतालाई महत्व दिएको जनाउनको लागि नै बजेट भाषणकै दिन नेपाल आउन लागेको अनुमान समेत राजनीतिक बृत्तमा छ ।
स्वराजको यो भ्रमण आवरणमा सम्बन्ध सुधारको लागि देखिएपनि भ्रमणको भित्री रणनीति भने शंकास्पद देखिन्छ ।
स्वराजले के सन्देश लिएर आएकी छिन् ? त्यो भने केही समय पछि नै बाहिर आउला । तर, स्वराजको भ्रमणले ओली नेतृत्वको सरकारमाथि हस्तक्षेप र चीनसँगको सम्बन्ध अघि बढ्न नदिने प्रपञ्च त हैन भन्ने चर्चा समेत चल्न थालेको छ ।
ओली निर्वाचनमा पराजित होउन् भनेर ठूलै चलखेल गरेकी सुस्मा अहिले ओलीलाई ‘बेष्टफ्रेण्ड’ बनाउन आएकी हुन् भन्ने दृष्टीकोण समेत बाहिर आउन थालेका छन् ।
बाहिर देखाउँदा ‘घनिष्ट मित्र’ र भित्री रुपमा एक ‘एजेन्ट’ बनाउने चलखेल त हैन भन्ने चर्चासमेत हुन थालेको छ ।