सम्झनामा माघ १९ः के गरेका थिए कांग्रेसको अस्तित्व जोगाउँदै त्यो दिन शोभाकर पराजुलीले ?
प्रकाशित २०७४ माघ १९ शुक्रबार
312
Shares
काठमाडौं । विसं २०६१ साल माघ १९ एक कालो दिन थियो । त्यसबारेमा किताब पनि कोरिए । लेखहरु पनि लेखिए । त्यो पछिमात्र थियो ।
त्यो दिन भने संकटकाल थियो । संकटग्रस्त थियो । त्यसै दिनको बिहान १० बजेदेखि धेरै कुरा फेरिएको थियो । पत्रपत्रिकादेखि रेडियो र टेलिभिजनका कार्यालयमा सेनाको पहरा थियो ।
समाचार सेन्सर गरेर मात्र जाने व्यवस्था सेनाले गर्यो । एफएम रेडियोबाट समाचार जान बन्द गरियो ।
थुप्रैको जागिर गयो । सेनाले भनेकै समाचार राख्नुपर्ने भएपछि टेलिभिजन र पत्रपत्रिकामा पनि समस्या आयो ।
लोकतन्त्र खोसियो । जनताको अधिकार खोसियो । नेताहरुलाई घरघरमा निगरानीमा राखियो ।
हो, त्यो थियो माघ १९ कालो दिन । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाहीकाल लगाएको दिन । उनले आफै पूर्णाधिकार लिएर प्रेसमाथि अंकुश लगाएको दिन ।
दलका नेताहरु हिम्मत गरेर अगाडि आउन मानेनन् । मिडियाले छाती तेस्र्याएर लोकतन्त्रको बचाउ गर्न सकेनन् ।
सम्पादकीय लेख्दा हात कमाए । यसमा सबै त्यस्ता थिएनन् । केहीले साहस पनि बनाए । ती सलाम योग्य छन् ।
सबै दलका नेता तथा कार्यकर्ताा त्यस्ता पनि थिएनन् । कोही साहसी पनि थिए ।
साहस गर्ने एक कांग्रेसी कार्यकर्तामा थिए कांग्रेस केन्द्रीय सचिवालयका सचिवका हैसियतका शोभाकर पराजुली । पराजुलीले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साख जोगाएका थिए ।
त्यसबापत तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई आन्दोलनको उत्कर्षमा मुख्यसचिवमा पदोन्नति गरेका थिए ।
कसरी सम्झन्छन् त पराजुली ?
हाम्राकुरासंगको छोटो कुराकनीमा उनले माघ १९ लाई सम्झदै यसो भने, ‘मैले टेलिभिजनमा ज्ञानेन्द्रको शाही भाषण हेरें । त्यसपछि म पार्टी कार्यालय सानेपामा गएँ । नेताहरुलाई फोन गरें । सम्भव भएन । त्यतिन्जेलसम्ममा सबैजसो फोन काटिएका थिए । त्यसपछि के गर्नेत भन्दाभन्दै डेढ घण्टा बित्यो । नेपाली मिडियासंगै विदेशी मिडिया पनि आए । पार्टीको धारणा बुझ्न थाले ।
म एकछिन अलमलमा परें । तर केही त गर्नैपर्छ भन्ने निष्कर्षमा पुगेपछि मैले हातैले विज्ञप्ति लेखें । त्यो विज्ञप्तिलाई फोटोकपि गरेर मिडियाका साथीहरुलाई बाँडें ।
त्यतिबेला मैले ज्ञानेन्द्रको ‘कू’ प्रजातन्त्रको विरोधमा हो, लोकतन्त्रको विरोधमा हो भनेर पार्टीको धारणा राखें, यसको विरोधमा उत्रनुको विकल्प छैन भनेर विज्ञप्ति बनाएँ । काँग्रेस नै सुरुआतमा विज्ञप्ति निकाल्ने पहिलो पार्टी हो ।
विज्ञप्ति निकालेपछि बाँड्दै म बाहिर निस्किएँ । म निस्केको २–३ घण्टापछि सेनाको टोली आएछ । मलाई खोजेछ । मेरो नेमप्लेट निकालेर भुईँमा फालेर खुट्टाले कुल्चेछ ।
नेपाली मिडियामा त्यो समाचार आउन सम्भव थिएन । सेन्सर लागेको थियो । विदेशी मिडियाले भने विज्ञप्तिलाई राम्रो प्राथमिकता दिए । टाइम्स अफ इन्डियादेखि बीबीसी, सीएनएनले राम्रो स्थान दिए ।
त्यो विज्ञप्ति मैले हिम्मत गरेर निकालेको थिएँ । त्यसको कदरस्वरुप तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला ज्यूले मलाई बढी जिम्मा दिनुभयो । उहाँकै निर्देशनमा मैले काठमाडौंका विभिन्न ठाउँमा केन्द्रीय कार्यालय स्थापना गर्दै आन्दोलनको माहौल बनाएँ ।
आन्दोलन गर्नका लागि त्यो कदम निकै राम्रो बन्यो । आन्दोलन निष्कर्षमा पुग्न लाग्दै गिरिजाबाबुले मलाई मुख्य सचिव दिएर अझ बढी जिम्मेवार बनाउनु भयो । त्यसदेखि अझ बढी म जिम्मेवार भएर लागें ।
म निरन्तर काँग्रेसमै छु । काँग्रेसमै रहेर मर्न चाहन्छु । मेरो जीवनको एक एक क्षण र धडकन काँग्रेसकै लागि धड्किइरहेको छ । म काँग्रेस, मेरो काँग्रेस ।’