पुनर्वास,कञ्चनपुर । पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्दै आएका रानाथारू समुदायका भलमन्सा (मुखिया)हरूले स्थानीय तहका विभिन्न सामाजिक कार्यहरूमा सहभागिताको माग राख्दै नगर प्रमुखलाई १३ बुँदे ज्ञापनपत्र शुक्रबार बुझाएका छन् ।
थारू समुदायको नेतृत्वको रूपमा रहेका थारू भलमन्साहरूले स्थानीय तहमा हुने भेला, गोष्ठी, सेमिनार देखि विविध सामाजिक कार्य र स्थानीय तह मातहतका संघसंस्थाहरूमा अनिवार्य प्रतिनिधित्व गराउनु पर्ने माग गरेका छन् । विशेष गरी कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदाय र पश्चिम नेपालको तराईमा बसोबास गर्ने थारू समुदायले समाजमा कुनै पनि कार्य गर्दा होस् अथवा कुनै समस्या आइपर्दा भलमन्सा, बडघर वा महतौहरूलाई सोधपुछ गरी उनीहरूकै सुझाव अनुसार काम गर्ने गर्दछन् ।
स्थानीय तहमा निर्वाचित थुप्रै जनप्रतिनिधिहरू थारू समुदायकै रहेपनि सबै वडाको प्रतिनिधित्व हुने गरी आफुहरूलाई समाबेश गर्नुपर्ने माग राखेका हुन् ।
उनीहरूले थारू समुदायमा चलिआएको प्रथा अनुसार न्यायिक कार्य स्वयं थारू भलमन्साको नेतृत्वमा हुनुपर्ने समेत माग गरेका छन् । हाल सम्म राज्यबाट कुनै पनि सुविधा नलिई सामाजिक कार्य गर्दै आएको भएपनि परिवर्तित समय र महंगीले गर्दा राज्य र समाजलाई समृद्ध बनाउन तल्लीन थारू बडघर, भलमन्सा तथा महतौलाई तलब भत्ताको व्यवस्था गर्नु पर्ने माग गर्दै सम्बन्धित स्थानीय तहमा ज्ञापनपत्र बुझाएको भलमन्सा क्षेत्रिय समितिका अध्यक्ष फूल चरण चौधरीले बताए ।
यसैबीच शुक्रबार कञ्चनपुरको पुनर्वास नगर तदर्थ भलमन्सा समितिले नगर भलमन्सा भेला कार्यक्रमको आयोजना गरी १३ बुँदे माग पत्र नगर प्रमुख जीवन थापा लगायत वडा अध्यक्ष र सम्बन्धित निकायमा पेश गरेका छन् ।
माग पत्रमा माघी, होली र आइतवारी पर्वमा सार्वजनिक विदा दिनुपर्ने, नगरस्तरीय थारू संग्रहालय निर्माण हुनुपर्ने, सामुदायिक विद्यालयमा अनिवार्य पदेन सदस्य रहने व्यवस्था गर्नुपर्ने, भलमन्साको अभिलेख संकलन गरी राख्नुपर्ने र थारूहरूमा देखिने सिकलसेल एनिमिया लगायतका विभिन्न रोगहरूको निदानका लागि निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेको नगर भलमन्सा संयोजक सुमन चौधरीले बताए ।