प्रदेश पाँचमा १२ जिल्लाका सांसदहरुको एजेण्डा फरक लक्ष्य समृद्धी
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ २२ सोमबार
528
Shares
बुटवल । राज्यको नयाँ संरचना बमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को पहिलो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा सम्पन्न भएको छ। बैठकले ३० दफा र ४ अनुसूची रहेको प्रदेश सभा संचालन कार्यविधि पारित गरेको छ। साथै सभामुखको निर्वाचन फागुन २ गते हुने भएको छ।
पहिलो पटक प्रदेश सभा बैठकमा गएका सांसदहरू उत्साहजनक रूपमा कार्यक्रम सम्पन्न भएको बताउँछन्। प्रदेश नम्बर ५ मा रहेका १२ जिल्लाका प्रदेश सभा सदस्यहरू फरक–फरक एजेण्डासहित प्रदेश नम्बर ५ लाई समृद्ध बनाउने योजना रहेको बताउँछन्।
१२ जिल्लाका प्रतिनिधित्व गर्ने सांसदसंग हामीले उनीहरुको प्रदेश सभाको पहिलो अनुभव र समग्र प्रदेश नम्बर ५ को समृद्विका लागी खेल्ने भुमिकाको बारेमा सोधेका छौँ । प्रस्तुत छ उनीहरुको बिचार जस्ताको तस्तै:
निर्मला क्षेत्री,अर्घाखाँची
यो हामी सबैको लागि पहिलो अनुभव थियो। पहिलो पटक प्रदेश बैठक सम्पन्न भएको छ । एकदम उल्लासमय लागेको छ। धेरै नै अवसर तथा चुनौतीहरू रहेका पनि छन्। आएका चुनौतीहरूलाई चिरेर काम गर्नुपर्ने वातावरण सिर्जना हुँदैछ। म अहिले सम्म ७० जिल्लामा घुमिसकेकी छु। मैले ती जिल्लाहरूमा घुम्दा महिला उत्पीडनमा परेका कुराहरू धेरै नै आएको छ। त्यसैले महिलाको क्षेत्रमा सचेतना जगाउन आवश्यक रहेको छ । बालबालिकाको लागि पनि पहिलो विद्यालय घर र पहिलो शिक्षक नै महिला हुने हुँदा पनि महिलालाई सम्मान गर्नसक्ने वातावरण बनाउन आवश्यक रहेको छ। सबै क्षेत्रमा महिलामाथि हुने हिंसाजन्य कार्यहरू रोक्नु जरुरी छ।
बिरबहादुर राना,पाल्पा
स्वभाविक रूपमा संविधान जारी भएको छ। सरकारबाट ३ चरणमा निर्वाचनहरू सम्पन्न भइसकेका छन्। पहिलो स्थानीय, दोस्रो प्रदेश सभा र तेस्रो संविधानसभा निर्वाचन। आइतबार जुन किसिमको पहिलो बैठक भयो, यो एउटा नयाँ अभ्यास हो । सबै सदस्यहरूमा नौलो अनुभूति रहेको छ। नयाँ चिन्तनमा र विकासका कुरा गर्दै जनस्तरमा माथि उठाउन आवश्यक रहेको छ। यो क्रममा विकास अवश्य हुनेछ। समग्र प्रदेश नम्बर ५ को विकासको लागि पर्यटकीय माध्यम एउटा उत्कृष्ट माध्यम हो। हामीसँग रहेको प्रत्येक जिल्लामा एउटाभन्दा बढी उत्कृष्ट पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नको लागि मद्दत पुर्याउँछु।
मोहम्मद याकुब अन्सारी, बाँके
पहिलो पटकको अनुभव केही बुझेजस्तो र नबुझे जस्तो भएपनि समग्रमा उल्लासमय रूपमा सम्पन्न भएको छ। हाम्रो क्षेत्र पनि अब हामी आफै विकासको लागि पहल गर्न सक्दछौं। प्रदेश नम्बर ५ भनेको सबै क्षेत्रमा भविष्य बोकेको प्रदेश हो। यसमा धेरै किसिमका जातजाति तथा भाषा र धर्म मान्ने मानिसहरू रहेका छन्। विशेषगरी म बाँके जिल्लाबाट निर्वाचित जनप्रतिनिधि भएको हुँदा बाँकेमा धेरै मुस्लीम जातिको जनसमुदायहरूको बाहुल्यता रहेको छ। जातजातिको हिसाबमा हुने भेदभावलाई हटाउन आवश्यक रहेको छ। सबै जातजातिको समग्र हिसाबबाट यस प्रदेशको विकास हुनेछ। म जातियता को विषयमा हुने विभिन्न किसिमका द्वन्द्वहरूलाई हटाउने पक्षमा कार्य गर्नेछु।
भुवनेश्वर चौधरी,बर्दिया
पहिलो पटकको प्रदेश बैठक हो, जे होस् उल्लासजनक रूपमा नै सम्पन्न भयो। बर्दिया तथा समग्र प्रदेश नम्बर ५ को विकासको लागि जातीय हिसाबबाट हुने विभिन्न किसिमका तनाबहरूलाई हटाउनको लागि आवश्यक पहल गर्न जरुरी छ। समग्र भूगोल र समुदायालाई समेटेर विकास र समृद्विको योजनाहरू बनाउनु आवश्यक देखिन्छ। त्यसको लागि सबैका समस्याहरूलाई बुझ्नु आवश्यक हुन्छ। यो सँगै प्रदेश नम्बर ५ मा १ सय २० बिगाह क्षेत्रफलमा फैलिएको ताल रहेको छ। यो संगै लुम्बिनी दाङ उपत्यकालगायतका क्षेत्रहरूबाट पनि पर्यटकीय क्षेत्रहरूको पनि विकास गर्न सकिने छ। यो संगै यो क्षेत्रमा जडीबुटीहरू पनि धेरै रहेका छन्। त्यसको बिक्री वितरणबाट पनि आर्थिक रूपमा सक्षम हुन सकिन्छ।
दिनेश पन्थी,गुल्मी
यो एउटा गौरबको कुरा हो। हामीले अब स्थानीय क्षेत्रबाट नै सरकारको लाभ उठाउन सकिने छ। यो संगै नयाँ अनुभव लिने अवसर पनि पाइयो। अनुभवसंगै नयाँ जिम्मेवारी पनि थप भएको छ । प्रदेशको विकासमा आर्थिक विकासका यो क्षेत्रलाई समृद्व बनाउन सकिन्छ। यसको लागि आर्थिक विकासका लागि कृषिजन्य सामग्रीको प्रबद्र्धनबाट समेत आर्थिक रूपमा समृद्व बनाउन सकिन्छ। प्रदेशलाई आर्थिक हिसाबमा समृद्व बनाउनको लागि सबैको पहल र सहयोग आवश्यक छ। हामी त्यस काममा अवश्य सहयोग गर्ने छौं।
दामाकुमारी शर्मा,दाङ
एउटा हौसलाको कुरा हो। पहिलो बैठक सम्पन्न भएको छ । यसले सबैलाई अवश्य पनि जिम्मेवारी प्रदान गरेको छ र, महशुस पनि गराएको छ। यो संगै प्रदेश नम्बर ५ को समृद्विको बाटोमा लाग्नको लागि हामी सबैले आ–आफ्नो क्षेत्रबाट प्रतिबद्वता जनाइसकेका छौं। र, त्यो प्रतिबद्वता पूरा गर्नको लागि हामी सबैले कार्य गर्नेछौं । हामीसंग चुनौती पनि रहेको छ। प्रदेशको स्थायी राजधानीको कुरा पनि रहेको छ । ती चुनौतीहरूलाई सामना गरेर हामी अगाडि बढ्नु आवश्यक रहेको छ।
बैजनाथ चौधरी थारु,नवलपरासी
संसद् भवनमा गएको मेरो पहिलो अनुभव त होइन्। तर प्रदेश सभाको लागि भने पहिलो अनुभव नै हो। हुन त धेरै माननीयहरू नयाँ हुनुहुन्छ तर २-४ वटा बैठकपछि उहाँहरूलाई पनि अवश्य पनि बानी पर्नेछ। केही कुराहरू त बुझिसक्नु भएको छ। सबै भन्दा पहिला त सरकार बन्नु पर्यो। पहिलै मैले यो गर्छु र गर्न सक्छु भन्ने केही छैन। पार्टीले मलाई कुन पदमा र कति पावर भएको स्थानमा पुर्याउँछ त्यही हेरेर मात्र नै यो गर्नसक्छु भन्ने हो। प्रदेश सदस्यको यो नै गर्न सक्छु भन्ने केही हैसियत हुँदैन। पद पाएमा विकासको लागि धेरै योजनाहरू बनाएर कार्य गर्ने छु।
लिला गिरी,रूपन्देही
उत्कृष्ट सिटीको रूपमा विकास गर्ने योजनाहरू रहेका छन् समग्र प्रदेशलाई नै। सबै सांसद्हरूले जनता सँग गरेका वाचा तथा प्रतिबद्वताहरू पूरा गर्न लागेमा अवश्य पनि हरेक क्षेत्र तथा स्थानहरू विकसित हुनेछन्। विदेशमा गइरहेको व्यक्तिहरूलाई स्वदेशमा नै रोजगारीको सिर्जना गर्नसकेमा पनि धेरै ठूलो कार्य हुनेछ। यसले देशको अर्थतन्त्रमा निकै नै राम्रो प्रभाव पार्नेछ। यो संगै यो प्रदेशमा रहेका सबै स्रोतहरूको पहिचान गरी प्रयोग गरेमा हरेक क्षेत्रमा उतपादकत्व बढाउन सकिने छ। प्रदेशका जनता तथा समाजलाई सभ्य नागरिक र नमुना प्रदेशको रूपमा चिनाउने योजना रहेको छ र सबैले चाहेमा यो सबै सम्भव पनि छ।
विष्णु पन्थी,कपिलवस्तु
यो पहिलो पटकको बैठकमा एउटा राम्रो एवम् उत्साहजनक रूपमा सम्पन्न भयो। धेरै नयाँ नै थियौं। केही कुराहरू थाहा भयो। यो संगै केही जिम्मेवारी पनि बोध भयो। प्रदेश नम्बर ५ धेरै प्रकृतिका सम्पतिहरू भएको प्रदेश हो। यहाँको कृषि र पर्यटकीय क्षेत्रबाट यस प्रदेशलाई समृद्व बनाउन सकिन्छ। अब राजनीति छाडेर प्रदेश विकासको एजेण्डाको पछाडि सबै लाग्नु जरुरी छ। यो ५ वर्ष राजनीतिलाई छाडेर विकासको काममा लागेमा अवश्य सफल भइनेछ। यसको लागि म तयार छु।
पूर्णबहादुर घर्ति,रुकुम
यो पहिलो बैठक हो। यहाँ धेरैजसो राजनीतिक पार्टीका व्यक्तित्वहरूले आफ्नो तथा पार्टीगत विचार व्यक्त गरेका छन् । यो एउटा सुखद अवसर रहेको छ। यो प्रदेशमा धेरै नै विविधता रहेको छ। देशको अन्य प्रदेशको तुलनामा धेरै विविधताले धनी छ। यहाँको विकासको लागि पर्यटन नै मुख्य आधार हो। यसले यस क्षेत्रको विकासमा मद्दत पुर्याउँछु भनेर जनतासंग गरेको वाचा तथा प्रतिबद्वता पूरा गर्नु आवश्यक छ।
कुलप्रसाद केसी, रोल्पा
यो अवश्य पनि सबैको लागि नयाँ अनुभव हो। यसमा धेरैले नयाँ जिम्मेवारीसमेत पाउनुभएको छ। यस प्रदेशको समृद्विको लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नु जरुरी छ। यस प्रदेशको समृद्विका लागि पहिलो कुरा त पर्यटकीय क्षेत्र नै हो। जसमा पहिलो नाम नै लुम्बिनी र सिस्ने जलजला हो। यो संगै अन्य जिल्लामा उत्पादन हुने गरेका कृषिको सामग्रीहरूको पनि उपलब्धता पनि उत्तिकै रहेको छ। रेलमार्ग पनि निर्माणको लागि राम्रो माध्यम रहेको छ। रेलमार्ग चीनसम्म पुर्याएमा त्यताबाट आउने सबै किसिमका आर्थिक कारोबारहरूसमेत बढ्नेछन्।
तारा केसी,प्युठान
यो पहिलो अनुभव अवस्य हो तर यसलाई हामीले पहिलो मानेर गल्ती गर्नु हुँदैन्। हामीसंग धेरै चुनौतीहरू रहेका छन्। हामी संघीयतको पक्षमा नरहे पनि यस प्रदेशको जनताको निम्ति हामीले कार्य गर्नु जरुरी छ। हामीले यस क्षेत्रको विकासको लागि सबै चुनौतीहरू सामना गरेर विकासको निम्ति हरेक कदमहरू चाल्न तयार छौं।