प्रदेश ६ को मुख्यमन्त्री : ‘प्रचण्ड’का शाही कि ‘वादल’का भण्डारी ?
प्रकाशित २०७४ माघ २२ सोमबार
356
Shares
काठमाडौं । प्रदेश ६ को मुख्यमन्त्री छान्न माओवादी भित्रै सकस भएको छ । आन्तरिक कुरा नमिल्दा राष्ट्रिय सभा निर्वाचन अघि संसदीय दलको निर्वाचन समेत नहुने देखिएको छ ।
२४ माघ अर्थात् वुधबार राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ । प्रदेशको संसदीय दलको नेताको सिफारिसलाई अन्तिम रुप दिने जिम्मा केन्द्रीय सचिवालयलाई दिइएको छ । मुख्यमन्त्रीका लागि पूर्व ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र माओवादीमा एकताबाट मिसिन आएका नरेश भण्डारीबीच प्रतिस्पर्धा छ ।
पूर्वमन्त्री रहेका शाही कुनै समय माओवादीका छैटौं डिभिजन कमाण्डर थिए । उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल निकट हुन् । केन्द्रीय संसदको स्वाद चाखिसकेका शाही प्रदेशतिर हानिएको पनि मुख्यमन्त्रीकै लागि हुन् । उनले चुनावकै समयमा आफु मुख्यमन्त्रीको मूख्य दावेदार भनेका थिए ।
भण्डारी एकता प्रक्रियाबाट माओवादीमा मिसिन आएकाका हुन् । भण्डारीले पार्टीभित्र अवसर पाएका छैनन् । दोस्रो तहका नेता रामबहादुर थापा नजिक भण्डारी मुख्यमन्त्री पाउने आश्वासनकै कारण प्रदेशसभा निर्वाचन लड्ना राजी भएका बताइन्छ ।
आन्तरिक रुपमा छलफल भइरहेकाले सहमतिबाटै संसदीय दलको नेता छनोट हुने र संसदीय दलको नेता छनोट हुने प्रदेश ६ का इञ्चार्ज शक्तिबहादुर बस्नेतले बताए ।
वाम गठबन्धनको सहमति अनुसार माओवादी केन्द्रले प्रदेश ६ र ७ को मुख्यमन्त्री पाएको छ । प्रदेश ७ मा प्रदेश कमिटिबाट त्रिलोचन भट्ट सिफारिस भएपनि आन्तरिक किचलो भएको छ ।
सहमतिको प्रयास सफल नभएपछि माओवादीले निर्वाचनबाटै प्रदेशको संसदीय दलको नेता चयन गर्ने निधो पनि गरिसकेको छ । मुख्यमन्त्रीका दावेदार शाही भन्छन्, ‘राष्ट्रियसभा चुनावको तयारीले गर्दा त्यतै केन्द्रित हुनुपर्दा दलको नेता चुन्ने विषयमा तत्काल निर्णय गर्न सकिएको छैन । निर्वाचन लगत्तै चयन हुन्छ ।’
प्रदेश २ बाहेक ६ वटा प्रदेशमा सरकार गठन गर्न लागेको वाम गठबन्धनमा आकांक्षी धेरै भएपछि संसदीय दलको नेता छान्न सकस भएको छ । प्रदेश ५ मा भने एमाले नेता संकर पोखरेल संसदीय दलको नेता भइसकेका छन् ।