प्रदेश २को काँग्रेस संसदीय दलको नेतामा यादव सर्वसम्मत, अन्य प्रदेशमा गृहकार्य हुँदै
प्रकाशित २०७४ माघ २२ सोमबार
632
Shares
जनकपुर। नेपाली काँग्रेसले प्रदेस स्तरिय संरचनामासंसदीय दलको नेता छान्न शुरु गरेको छ। प्रदेशका वैठकहरु शुरु हुन थालेपछि काँग्रेसले आफ्नो संसदीय फाँटमा नेतृत्व छान्न थालेको हो।
नेपाली काँग्रेसले राष्ट्रिय सभाको चुनावको लागि केन्द्रीय प्रतिनिधीहरु प्रदेशमा पठाए लगत्तै संसदीय दलको नेता छान्ने काम पनि शुरु भएको छ।
नेपाली काँग्रेसले सबै प्रदेशमा चुनावमा सहजिकरण गर्न एक केन्द्रीय प्रतिनिधी र एक प्रशिक्षक पठाएको छ। प्रशिक्षकले राष्ट्रिय सभाको एकल संक्रमणिय पद्धतिमा मत हाल्ने तरिका सिकाउने छन् भने केन्द्रिय प्रतिनिधिले राजनीतिक नेतृत्व गर्नेछन्।
प्रदेश १ मा काँग्रेसले डा मिनेन्द्र रिजाल, २ मा विमलेन्द्र निधी, ३ मा डिना उपाध्याय, ४ मा गोपालमान श्रेष्ठ, ५ मा वालकृष्ण खाँण, ६ मा हृदयराम थानी र ७ मा एनपी साउदलाई केन्द्रीय प्रतिनिधीका रुपमा पठाएको हो।
राष्ट्रिय सभाको चुनावका लागि अहिले स्थानिय तहका मेयर उपमेयर अध्यक्ष उपाध्यक्षसँगै प्रदेश सभा सांसदहरु पनि अस्थायि राजधानीमा जम्मा भएका छन्।
राष्ट्रिय सभाको चुनावमा मत हाल्ने तरिका पनि सिकाउने तथा सम्भव भएको अवस्थामा संसदीय दलको नेता पनि चुन्ने कार्यको लागि यो जमघटको काँग्रेसले उपयोग गर्न खोजेको देखिएको छ।
संसदीय दलको नेतृत्व चयनमा केहि अलमल नहोस भन्नका लागि पार्टीका तर्फबाट केन्द्रीय नेताहरुलाई नै जिम्मा दिएर पार्टीले पठाएको छ।
प्रदेश नम्वर २मा जिम्मा लिएर गएका काँग्रेस नेता विमलेन्द्र निधीले त्यहाँ सर्वसम्मत संसदीय दलको नेता बन्ने माहौल बनाएका छन्।
संयोगले उनकै क्षेत्रबाट निर्वाचित नेपाली काँग्रेस धनुषाका सभापति समेत रहेका रामसरोज यादव काँग्रेसको प्रदेश नम्वर २को संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भए।
मंगलवार सबै प्रदेशमा राष्ट्रिय सभाको चुनावमा मत हाल्ने तरिकाको बारेमा प्रशिक्षण भएपछि संसदीय दलको नेता चयनका बारेमा निर्णय हुनसक्ने अन्य प्रदेशमा गएका काँग्रेस नेताहरुले बताएका छन्।
प्रदेश नम्वर ४मा पनि यहि सेरोफेरोमा संसदीय दलको नेता चयनको गृहकार्य भइरहेको पोखराका प्रदेश सभा सदस्य विन्दु थापाले वताए। केन्द्रीय प्रतिनिधी लगायतका नेताहरु पोखरा आइसकेको कारण पनि अहिले नेता चयन सम्भव हुने उनले वताए।
बुटवलमा पनि केन्द्रीय प्रतिनिधीकै उपस्थितिमा नेता चयन हुन सक्ने बताइएको छ। रुपन्देहीका विरेन्द्र कनौडिया संसदीय दलको नेताको उमेद्वारका रुपमा देखिन्छन। दाङका डिल्ली चौधरी पनि संसदीय दलका नेताका आकाँक्षी हुन्।
प्रदेश नम्वर ६ मा हुम्लाका जीवन वहादुर शाही सर्वसम्मत हुन सक्ने सभा्वना रहेको छ। त्यहाँ काँग्रेसको सबैभन्दा कमजोर क्षेत्र भएका कारण पनि सर्वसम्मत हुने अनुमान छ।
प्रदेश नम्वर ७, १ र ३ मा भने केहि आकाँक्षीहरुका बीच प्रतिष्पर्धा देखिन्छ।