arrow

माओवादीलाई गोल्डेन अफरः २० % मा झर्ने कि ४० % पाउने ?

logo
प्रकाशित २०७४ माघ २४ बुधबार
pm-puspa-kamal-dahal-2017-1.gif

काठमाडौं । नेपाली राजनीतिमा कायापलट हुनका लागि अन्त जानै पर्दैन अधिकांश निर्णय रातिमै हुन्छन् । त्यसैले त भनिन्छ –‘ओभरनाइट’ ले नेपालको भविष्य निर्धारण हुन्छ । 

नेपालीमा त अर्को गज्जबकै उखान छ नि – रात रहे अग्राख पलाउँछ । अग्राख पलाउने गरी नेकपा माओवादी केन्द्रलाई अहिले एउटा गोल्डेन अफर छ – २० प्रतिशतमा खुम्चेर इज्जत कमाउने कि शानसित ४० प्रतिशतमा रहेर रमाउने ।

नेकपा एमालेसंगको पार्टी एकता माओवादीका लागि निकै कठिन यात्रा बन्दै गएको छ । ०६४ सालको सबैभन्दा ठूलो दल दश वर्षकै अवधिमा तेस्रो दलमा झर्यो । 

त्यसमा पनि पार्टी एकता भएपछि अस्तित्व पनि लगभग टुंगिने अवस्था पुगेको छ । ०५२ सालमा सशस्त्र द्धन्द्धमा होमिएको १० वर्षपछि माओवादीले सरकारमा राम्रै प्रभाव जमायो । चुनावमा पहिलो दल बन्यो । 

अहिले त्यही दल एमालेसंग एकता हैन विलय हुने बाटो रोज्दैछ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा ६०–४० को भागबण्डामा उम्मेदवार खडा भएकामा त्यो धेरै टिकेन । 

एमालेले बढी सिट जितेपछि प्रदेश सरकार गठनमा ७०–३० मा झर्यो । यो क्रम अझै अस्थिर हुने देखिएको छ । 

यही गतिमा अगाडि बढ्ने हो भने माओवादी ८०–२० मा झर्ने स्रोत बताउँछ । एमालेको उच्च स्रोतका अनुसार माओवादीले २० प्रतिशत मात्र केन्द्र सरकारमा सिट पाउने छ । 

यो त असम्भव जस्तै भयो नि ? भन्ने हाम्राकुराको प्रश्नमा त्यो स्रोत भन्छ ‘असम्भव नेपाली राजनीतिको खेतीमा छँदैछैन, एमालेसंग नमिलेको भए माओवादीले अहिलेको एक चौथाइ मात्र मत पाउने थियो । मिलेर आफ्नो इज्जत जोगायो । प्रदेशसभा जस्तो केन्द्रमा एमालेले किन त्याग गर्ने ?’

राष्ट्रिय सभाको निर्वाचन सकिँदै गर्दा अब पालो केन्द्रको सुरु हुँदैछ । बिहिबारदेखि एमाले र माओवादी नेताहरुको जोड प्रदेशमा मुख्य मन्त्री र केन्द्रमा सरकार गठनको प्रक्रियामा हुनेछ । 

प्रदेशमा मुख्य मन्त्री आन्तरिक रुपले मात्र अड्किएको छ भने केन्द्रमा चर्चा सुरु भएको छैन । 

तर निर्वाचन आयोगले राष्ट्रिय सभासहित सबै निर्वाचन परिणाम फागुन ५ गते बुझाउने बताइरहँदा अबको पालो केन्द्र सरकार निर्माणको । 

माओवादीलाई २० को सट्टा ४० को अफर 

केन्द्र सरकार प्रतिनिधिसभाका सांसदहरुले बनाउने हो । त्यसमा अझै च्यालेन्ज खुल्ला छ । प्रदेशमा २ नम्बर बाहेक एमाले र माओवादी गठबन्धनले सरकार बनाउने छ । 

केन्द्रमा अझै खुल्ला छ । पार्टी एकता नभएकाले अझै पनि गठबन्धन खुल्ला छ । यो गठबन्धन रात रहे अग्राख पलाउने सिद्धान्तबाट टाढा छैन । 

एमाले एक नेताका अनुसार माओवादीलाई २० प्रतिशत मात्र सिट दिइने छ । सम्भवतः माओवादीले यो मान्ने छैन । 

तर माओवादीलाई २० प्रतिशतमा खुम्चिएर लाचार बन्न मन छैन । किनकि माओवादी त कि सत्ताको नेतृत्व कि त पार्टीको नेतृत्व खोजिरहको छ । 

भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपाल आएर फर्केपछि तत्काल पार्टी एकता टरेको छ । 
एकता टर्नु भनेको भोलिको राजनीति जे पनि हुन सक्छ । अर्थात् एकता नहुने सम्भावना बढेको छ । 

यदि यस्तो हो भने माओवादीले नै सरकारको नेतृत्व गर्ने सम्भावना छ । 

माओवादीले यदि काँग्रेस, संघीय समाजवादी फोरम र राजपासंग मिलेर सरकार बनाउने हो भने २० को ठाउँमा ४० प्रतिशत सिट पाउन सक्नेछ । 

जब एमालेमा त्याग मात्रै गर्नुछ भने यो दोस्रो विकल्प प्रयोग गर्दा के फरक पर्छ ? माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यति धेरै त्याग गर्दा समेत एमाले नेतृत्वले वास्ता गर्न छाडेको छ भने पक्कै पनि माओवादी विरुद्ध नराम्रो हुँदैछ । 

त्यो नराम्रो पर्खिनुभन्दा माओवादी एक कदम अगाडि बढेर सरकारको नेतृत्व गर्दा के फरक पर्ला ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ