arrow

ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने

logo
अच्युत रेग्मी,
प्रकाशित २०७४ माघ २४ बुधबार
traffice.jpg.jpeg

काठमाडौँ ।  न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी ।

राजधानीसहित देशका अधिकांश शहरमा अहिले खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम, पानी, धुवाँ धुलो नभनी ट्राफिक व्यवस्थापनमै बितेको छ । थानकोटमा कार्यरत एक प्रहरी जवान राजधानी भित्रिने प्रमुख नाका कलंकी–थानकोट बाटो मर्मतले गर्दा हुने धुलो धुवाँले गर्दा काम गर्न समस्या परेको बताउछन् ।  “धुवाँ र धुलोले गर्दा एकजोर कपडा एक दिनभन्दा दुईदिन लगाउन मिल्दैन,”– उाले भने ।

दरबारमार्गमा कार्यरत अर्का जवान हप्ताको तीनजोर कपडा फेर्ने गरेको बताउछन् ।  “तलबको पैसाले कपडा धुने की, परिवार पाल्ने की औषधोपचार गर्ने ? – उनले भने ।

यी केवल घटनाका पात्रमात्र हुन्, अधिकांश तल्लो तहका कर्मचारी भने तलब थोरै र काम धेरैले गर्दा मर्कामा परेका हुन् । मुलुकको जनसंख्यासँगै बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्ने जिम्मा पाएको ट्राफिक प्रहरीले तोकेको समयभन्दा धेरै समय काम गर्दै आएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनी अहिले उपत्यकाका ट्राफिकले दैनिक न्यूनतम १० घण्टादेखि अधिकतम १६ घण्टासम्म काम गर्दै आएको बताउछन् ।  “ट्राफिक दरबन्दी थोरै र सवारी संख्या धेरै हुँदा ट्राफिक खटिनुपरेको छ,”– उन भने।

एउटा ट्राफिक प्रहरी जवानले मासिक तलब  १७ हजार २ सय ३० का साथै एक हजार भत्ता पाउँदै आएका छन् । विसं २०६९ मा ट्राफिक प्रहरीले उठाएको राजश्वको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई दिने निर्णय गरिएको थियो । आर्थिक वर्ष २०७०/०७१ मा १५ प्रतिशत कमिशन पाएका ट्राफिकले त्यसपछि भने पाएका छैनन् ।

ट्राफिक प्रहरीले भत्ताका लागि नै जथाभावी रुपमा पैसा लियो भन्ने चालकको ब्यापक गुनासो आएपछि गृहमन्त्रालयले विसं २०७४ जेठमा १५ प्रतिशत कमिशन लिने प्रक्रिया हटाएर अतिरिक्त भत्ता दिने निर्णय गरेको थियो ।

गृहले तल्लो तहका ट्राफिक प्रहरीलाई तलबको ४५ प्रतिशत र माथिल्लो तहका कर्मचारीलाई तलबको २५ प्रतिशत अतिरिक्त भत्ता माग गर्दै अर्थ मन्त्रालयमा पठाएकामा अहिलेसम्म अर्थ मन्त्रालयले यसबारे केही जवाफ दिएको छैन ।

अर्थमन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेल ट्राफिक प्रहरीलाई अतिरिक्त भत्ता दिने विषयमा कुनै निर्णय भइनसकेको बताउछन् ।  यातायात व्यवस्था विभागको तथ्यांकअनुसार हाल मुलुकमा झण्डै २८ लाख साना, ठूला सवारीसाधन भएकामा काठमाडौँ उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन ओहोरदोहोर गर्दछन् ।

काठमाडौँ उपत्यकामा एक हजार ५ सय ९४ किलोमिटर सडक भए पनि सवारी साधन गुड्ने व्यस्त सडक ४ सय ७२ किलोमिटर छ । उपत्यकामा हाल ३८ एकाइबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ ।

ती सवारीसाधन व्यवस्थापनका लागि अहिले मुलुकभर तीन हजारको हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपाने ट्राफिक प्रहरीको दरबन्दी दुई हजार ३ सय ६४ मात्र भएकाले खटाइको मात्रा बढेको बताउछन् ।  “ट्राफिकको काम सवारी साधन व्यवस्थापनमात्र भए पनि सबै काम गर्नुपरेको छ,”– उनले भने ।

काममा खटिने ट्राफिकलाई एकछिन थकाइ लागेको बेलामा बस्ने ठाउँदेखि तिर्खा लागेको बेला पिउने पानीसमेतको व्यवस्था नभएको उनको भनाइ छ । उपत्यकामा एक हजार ८५, पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय २ सय ९०, मध्यमाञ्चल ट्राफिक कार्यालय पथलैयामा ४ सय २, पश्चिमाञ्चल ट्राफिक प्रहरी कार्यालय बुटवलमा २ सय ७९, मध्यपश्चिमाञ्चल ट्राफिक कार्यालय कोहलपुरमा १ सय ९२ र सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियामा १ सय ३३ ट्राफिक प्रहरीको दरबन्दी छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ