ओली नेतृत्वको सरकारमा राजपा सहभागी हुने संभावना छैन : अनिल झा
राजपा र फोरमपनि सरकारमा सहभागी होउन भन्ने हाम्रो चाहना छ : महासेठ
प्रकाशित २०७४ माघ २६ शुक्रबार
475
Shares
काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले आफूहरुले अहिले केन्द्रिय सरकारमा जानेबारे केही पनि नसोचेको स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा झाले भने,‘हामी केपी ओली नेतृत्वको सरकारमा जाने संभावना छैन, यसबारेमा हामीले कुनै छलफल नै गरेका छैनौं, भोलि पनि जानेबारे पार्टीमा कुनै छलफल हुँदैन होला।’
नेता झाले भने,‘ प्रचण्डजी ओलीजीलाई प्रधानमन्त्री बन्नुपर्छ भनेर दिनरात खटिरहनुभएको छ, अहिलेसम्म उहाँको नेतृत्वमा सरकारमा जानेबारे हाम्रो पार्टीमा छलफल भएको छैन्।’
झाले संविधान संशोधनको लागि सबैभन्दा कटु आलोचना एमालेबाटै भएको गुनासो पोखे । उनले भने,‘त्यसैले हामी एमालेको नेतृत्वमा सरकारमा जाने संभावना छैन, हामी प्रतिपक्षमा बसेर निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्छौं।’ अब बन्ने सरकारले आफूहरुको एजेण्डाप्रति कस्तो धारणा बनाउँछ त्यो हेर्न बाँकी रहेको उनको भनाई थियो ।
त्यस्तै उनले प्रदेश नम्बर २ मा फोरम र राजपा नेपालले संयुक्त सरकार बनाउने विश्वास दिलाए । उनले भने,‘संयुक्त सरकार बनाउनोरे प्रयास र छलफल भैरहेको छ, दुई दिन पहिले यसबारेमा एक चरणमा छलफल भयो, अर्को चरणमा पनि छिट्टै छलफल हुन्छ।’ उनले संयुक्त सरकार बनाउने भएकोले राजपा लचकता अपनाउन तयार रहेको विश्वास दिलाए ।
नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले संविधान संशोधन गरेर मधेशको समस्या समाधान गर्नको लागि एमाले तयार रहेकोले राजपा र फोरमलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
नेता महासेठले मधेशको समस्या समाधान गर्न आफूहरु तयार रहेको बताउँदै भने,‘एमाले र माओवादीले त संविधान संशोधनको लागि सहकार्य गरेर जाऔं भनेर राजपा र फोरमलाई आओस् भनिरहेको छ, हामी त उहाँहरु सरकारमा आउन् भन्ने चाहन्छौं।’ उनले राजपा र फोरमलाई सरकारमा ल्याउनको लागि आफूहरु पहल गरिरहेको समेत जनाए ।
उनले फोरम र राजपा मधेश केन्द्रित दल भएपनि यही देशकै पार्टी भएकोले सरकारमा सहकार्य गर्न चाहेको सुनाए । महासेठले भने,‘राजपा र फोरमले समस्या साँच्चिकै समाधान गर्न चाहेको हो भने हामीसँग सम्पर्क गर्नुपर्यो नि, हामी संविधान संशोधन गर्छौं, तर उहाँहरुले भनेजस्तो जस्ताको त्यस्तै चाहीँ गर्दैनौं, देश र जनताको हितमा संशोधन गर्छौं।’
उनले संविधान संशोधनको मुद्दा सम्बोधन भएपछि मधेशवादी दलहरुसँग कुनै मुद्दा नै नहुने पनि बताए । उनले भने,‘संविधान संशोधनको मुद्दा हल भयो भने अब मधेशवादी दलहरुसँग कुनै मुद्दा नै हुँदैन्।’ प्रदेश सभाका सांसदहरुले हिन्दीमा बोलेकोले जनता आन्दोलित भएको उल्लेख गर्दै उनले बाहिर जे जे भाषा बोलेपनि हुने तर संसदमा बोल्न हिन्दी किन बोल्नुपर्यो भन्दै प्रश्न समेत तेर्साए ।
महासेठले अब एमालेको नेतृत्वमा वा माआवादीको नेतृत्वमा भन्दापनि एकीकृत पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने विश्वास दिलाए । उनले भने,‘अब दुई पार्टी भन्ने कुरै छैन नि, हामी त एउटै पार्टी हौं।’ यद्धपी उनले दुई पार्टीवीच अन्तरविरोध कायम गर्न र एकता भाँड्नको लागि देशी तथा विदेशी शक्तिहरु लागिपरेको आरोप लगाए ।
जे–जस्तो प्रयास गरिएपनि कार्यकर्तादेखि नेताहरु एकताप्रति पूर्ण सचेत रहेको उनको विश्वास थियो । महासेठले भने,‘वाम गठबन्धन घोषणा गरेकै दिनदेखि हामी त भावानात्मक रुपमा एक भैसकेका थियौं, त्यही भएर जनताले हाम्रो पक्षमा प्रचण्ड बहुमत दिनुभयो, अहिले पनि हामी एक भएका छौं।’
महासेठले दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीचको आपसी सहमतिकै आधारमा एकता प्रक्रिया टुँगोमा पुग्ने विश्वास व्यक्त गरे । उनले भने,‘पदीय बाँडफाँडपनि उहाँहरुले टुँगोमा पुर्याउनुहुन्छ, नेताहरुको योग्यता र क्षमताका आधारमा पदाधिकारी चयन हुन्छ।’ उनका अनुसार मन्त्री चयनको लागि अहिले खासै चर्चा भएको छैन । यद्धपी उनले पार्टी नेतृत्वले जे निर्णय दिन्छ आफूहरु त्यसलाई स्विकारेर अघि बढ्न तयार रहेको सुनाए ।
उनले प्रधानमन्त्री र अध्यक्ष दुवै पद एउटै व्यक्तिले चलाउन सक्ने क्षमता भएको उल्लेख गरे । उनले भने,‘ओली र प्रचण्ड दुवै जनाले दुवै पद एकै जनाले चलाउन सक्नुहुन्छ, कसले के चलाउने भन्ने कुरा मैले भन्ने कुरा होईन्, प्रचण्डजीले पनि चलाउन सक्नुहुन्छ, ओलीजीले पनि चलाउन सक्नुहुन्छ।’ दुवै नेताले अध्यक्ष पनि आँफै र प्रधानमन्त्री पनि आँफै भएर चलाईसकेकोले फेरि पनि चलाउन नसक्ने भन्ने कुरै नहुने उनको जिकिर थियो ।
यद्धपी उनले दोस्रो पुस्ताको नेताले नेतृत्व गर्नेबारे कुरा वाहियता भएको टिप्पणी गरे । उनले भने,‘कम्तिमा पनि अझै दश वर्ष ओली र प्रचण्डको आवश्यकत्ता छ, उहाँहरुले विश्राम लिने भन्ने कुरै आउँदैन्, चलाउन सक्नुहुन्छ।’
फरक प्रसँगमा उनले मुलुकमा संसद नभएको अवस्थामा गलत क्रियाकलापहरु भैरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘संसद नभएको अवस्थामा अहिले मुलुकलाई टाँट पल्टाउने कामहरु भैरहेका छन्, यो गलत हो, आउने सरकारलाई थप १२० अर्बको भार आउँछ।’ संसद नभएको अवस्थामा भीआईपीलाई सुविधान थप्ने कुरा गलत भएको उनको गुनासो थियो । यस्तै भैरहे मुलुक टाँट पल्टिन धेरै समय नलाग्ने उनको भनाई थियो ।
उनले एनसेल प्रकरणको कुरा उल्लेख गर्दै भने,‘एनसेल प्रकरणमा पैसा बाहिर गयो, सबै पैसा बाहिर जान दिने हो भने के हुन्छ ? मुलुकको हालत ? संसद नभएको बेला मनपरीतन्त्र भैरहेको छ।’ त्यतिमात्रै नभएर उनले संसद क्रियाशिल नभएको बेला न्यायालयले पनि कानूनका विरुद्धमा निर्णयहरु गरिरहेको आरोप लगाए । उनले भने,‘तर जनता त न्यायलय हेरिरहेका छन्, यही क्रियाकलापहरु बढ्दै गयो भने विश्वास घट्छ।’
नेकपा माओवादी केन्द्रका नेता दिनानथ शर्माले एमाले र माओवादी केन्द्रको एउटै पार्टी बनेर नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् । शर्माले भने,‘पार्टी एकताको गृहकार्य भैरहेको छ, प्रचण्ड र ओलीवीच वान–टु–वान भेटवार्ता धेरै भैरहेको छ, एकता हुन्छ, एउटै पार्टी बन्ने भएपछि अब माओवादी केन्द्रपनि सरकारमा जान्छ भन्ने प्रश्नै हुँदैन्, अब दायाँबायाँ हुने कुरै छैन्।’
यद्धपी उनले दुई पार्टीवीचको एकता दायाँबायाँ होस् भनेर चाहने देशी तथा विदेशी शक्तिहरु धेरै भएकोले अब ती सबै खाले चलखेललाई नेतृत्वले असफल तुल्याउने जिकिर गरे । उनले भने,‘एकता भाँड्न खोज्ने चलखेललाई असफल पार्ने तागद र क्षमता हामीसँग छ।’
नेता शर्माले नेताद्धय ओली र प्रचण्डले सबैको कुरा सुन्ने तर निर्णय आँफै लिने बताए । उनले भने,‘सबै कुरा मिल्छ, हामी एउटै पार्टी भैसक्यो, अब एकता भन्नेवित्तिकै भागबण्डा होईन नि, नेताहरुवीच समझदारीमा कार्यविभाजन हुन्छ।’ उनले पदीय बाँडफाँड विधि र विज्ञान अनुसार हल गर्ने स्पष्ट पारे । उनले जनमत वाम गठबन्धनको पक्षमा त्यसमा पनि एमालेको पक्षमा देखिएकोले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै बन्ने ठोकुवा गरे ।
फरक प्रसँगमा उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको हालै सम्पन्न नेपाल भ्रमणलाई सद्भावपूर्ण भ्रमणको संज्ञा दिए । उनले भने,‘उहाँको भ्रमण सद्भावपूर्ण हो, यसलाई अन्यथा रुपमा लिनुहुँदैन्।’