गिरिजाप्रसाद र सम्राट अशोकलार्इ सम्झिँदा प्रचण्डले एकताबारे बोल्न भ्याएनन्
प्रकाशित २०७४ माघ २७ शनिबार
410
Shares
काठमाडौं । गुम्बा उद्घाटन गर्नको लागि चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्तिप्रक्रियाको विषयमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पटकपटक सम्झिएका छन् । भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको लागि शुक्रबार चितवन पुगेका उनले गिरिजाप्रसाद कोइरालाको आग्रहमा नै आफूहरु जनताको लागि शान्तिप्रक्रियामा हस्ताक्षर गर्न सहमत भएको बताए।
प्रचण्डले देशमा अल्पसंख्यक, जनजाति, मधेसी, महिला, दलित, भौगौलिकरुपमा उत्पीडित जनता, किसान र मजदूरका पक्षमा लामो लडाई लडेर शान्ति प्रक्रियासम्म आइपुगेको चर्चा गर्दै परिआए आफू राष्ट्रको लागि पहिलेको जस्तै भूमिकामा बस्न पनि तयार रहेको बताए। गिरिजाप्रसाद कोइरालाले आफूलाई अस्पतालको शैयाबाट देश तपाईकै काँधमा छ भनेको स्मरण गर्दै उनले आफ्नो भूमिका सबैलाई मिलाउने र अफ्टेरो गाँठाहरु फुकाउने रहेको दाबी पनि गरे ।
आफ्नो भूमिका आजको दिनसम्ममा देशको गाँठो फुकाउने तर्फ केन्द्रीत रहेको भन्दै देशको समृद्धिको लागि आगामी दिनहरुमा जस्तोसुकै भूमिका देल्न पनि आफू तयार रहेको उनले बताए । उनले संविधान निर्माणको समयमा प्रतिपक्षमा होस् या त पहिलो संविधान सभामा होस् माओवादीले राष्ट्रको लागि सधैं मियोको काम गरिरहेको बताएका छन् ।
बाहिरी विषयमा कुराकानी गरेर समय व्यतित गरेका उनले बाम गठबन्धनको विषयमा भने खासै केही पनि कुरा गरेनन् । उनले इतिहास हेर्दा सम्राट अशोक नै बुद्धका पहिला अनुयायी र प्रचारक रहेकोले बुद्धलाई सम्झिँदा अशोकलाई चाहिँ विर्सन नहुने बताए ।