arrow

सेना दिवस सन्दर्भः आतिशबाजीदेखि तोप बढाइँसम्म

logo
नारायणप्रसाद न्यौपाने,
प्रकाशित २०७४ माघ २९ सोमबार
army-day.jpg

काठमाडौँ । मुलुकको प्रमुख सुरक्षा अंगको रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा मंगलबार मुलुकभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा मंगलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् ।  

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड (शस्त्राभ्यास), प्यारा जम्प, कवाज तथा तोप बढाइँसम्मका विविध कार्यक्रम हुनेछन् ।

नेपाली सेनाको ब्याण्डले भारतीय र बेलायती सेनाको गोर्खा ब्याण्डसँग मिलेर संयुक्तरुपमा गीति नाट्य प्रस्तुत गर्नुका साथै उक्त कार्यक्रम समापनको अवसरमा आतशवादीसमेत गरिने छ । उक्त समारोह अपराह्न ५ बजे शुरु भई करिब साँझ ७ बजेसम्म चल्ने छ ।

नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा हुन लागेको यस वर्षको सेना दिवस समारोहमा विशेष अतिथिका रुपमा भारतीय सेनाध्यक्ष विपीन रावतलाई आमन्त्रण गरिएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । सेनाध्यक्ष रावत नेपाली सेनाको मानार्थ महारथी हुन् ।  

सैनिक मुख्यालय जंगीअड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्ममा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् । सेना दिवसकै उपलक्ष्यमा जंगी अड्डामा बुधबार साँझ सांस्कृतिक कार्यक्रमसहित विशेष समारोह आयोजना हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

द्रुतमार्गदेखि विश्वशान्तिको जिम्मेवारी

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी राख्दै आएको छ । नेपाली सेनाकै वीरताका कारण दक्षिण एशियामा नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको इतिहास छ ।

वर्तमान सेनाको सांगठनिक स्वरुपको शुरुवात १८१९ सालदेखि भएको हो । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि शुरु भएकामा हालसम्म ४२ मिसन रही करिब एक लाख १९ हजार २०७ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ ।

विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिँदा ६३ सैनिकको बलिदान भइसकेको छ भने सोही संख्यामा घाइते छन् । नेपाली सेनाको जिम्मेवारीले अहिले राष्ट्रिय सुरक्षाको अतिरिक्त द्रुतमार्ग निर्माणदेखि विश्वशान्ति स्थापनासम्मका जिम्मेवारी पाएको छ ।

सबैभन्दा बढी चर्चामा रहेको राष्ट्रिय गौरवको महत्वकांक्षी आयोजना द्रुतमार्ग निर्माण नेपाली सेनाको व्यवस्थापनमा अहिले अघि बढिसकेको छ । सेनाले द्रुतमार्गको जिम्मेवारीलाई निकै ठूलो अवसर र चुनौतीका रुपमा लिँदै निर्धारित समयमै पूरा गरेर विकास निर्माणमा पनि कीर्तिमानी कायम गर्ने अठोट गरेको छ ।

अन्य मुलुकका लागि पाठशाला
संयुक्त राष्ट्रसंघमार्फत विश्वका विभिन्न मुलुकमा स्थापना भएका १३ वटा शान्ति मिसन शिविरमा चार हजार ८३४ को संख्यामा नेपाली सैनिक अहिले तैनाथ छन् ।

हाल नेपाली सेना कङ्गो, लाइबेरिया, दक्षिण सुडान, सुडान, मरोक्को, इजरायल, लेवनान, माली, सिरिया, सेन्टर अफ्रिकन गणतन्त्र, इराक र लिबियामा शान्ति सेनाका रुपमा परिचालित छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको कोटीमा नेपाल छैटौँ स्थानमा छ ।

सेना र हातहतियार उत्पादन र प्रयोगको दृष्टिले विश्वका अत्यन्त शक्तिशाली र अन्य मुलुकका सेनाका लागिसमेत अहिले नेपाली सेनाको संगठन, पेशागत क्षमता र दक्षता पाठशाला बन्दै गएको छ ।

विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच पछिल्लो समय शान्ति सेनाका रुपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । नेपाली सेनाको हालको जनशक्ति झण्डै ९५ हजारको हाराहारीमा छ ।

पछिल्ला समयमा नेपाली सेनाले मुलुकभित्र विपद् व्यवस्थापन, प्रकृति संरक्षण र सडक विस्तारलगायतका पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षेत्री भने– नेपाली सेना राष्ट्रको पहरेदार र राष्ट्रिय एकताको प्रतिविम्बका रुपमा आफ्नो कर्तव्यपथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा समर्पित रहने छ ।

देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाका लागि पूर्वजले देखाएको वीरताका गाथा नेपालको इतिहासका पानामा स्वर्णिम अक्षरले लेखिएको छ ।”– उनले भने ।

राजनीतिक हस्तक्षेत्रबाट मुक्त संगठनका रुपमा रहेको नेपाली सेना सबै जातजातिको साझा फूलबारीका रुपमा रहेको छ । पोदारदेखि क्षत्रीसम्म २०६ थर र जातजाति रहेको यो संगठनमा विविधताभित्र एकता देखिन्छ । पछिल्लो समय नेपाली सेनामा महिला जनशक्तिको सहभागितामा पनि उल्लेख्यरुपमा वृद्धि हुँदै गएको छ ।

राष्ट्रिय सुरक्षासँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्ने कार्यलाई नेपाली सेनाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ