arrow

हिमपातले कर्णालीको जनजीवन कष्टकर, जुम्लामा माइनस ६ डिग्री 

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
Jumla-himpat-(1).jpg.jpeg

सुर्खेत । कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार बिहानदेखि परेको हिमपातले यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ । 

हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिन्छ । भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आएको छ । लामो तथा छोटो दूरीका गाडी ठप्प छन् भने हवाई यातायात पनि बन्द भएको छ । 

सोमबार बिहान २ बजेदेखि हिमपात शुरु भएको र आज शिवरात्रि परेकाले सरकारी तथा गैरसरकारी निकायद्वारा प्रवाह गरिने सेवाबाट सेवाग्राहीलाई मर्का नपर्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए । 

प्रजिअ पौडेलका अनुसार सदरमुकाम जुम्ला खलंगामा आधा फिट हिउँ परेको छ । हिमपातले बेँसीमा भन्दा उच्च भेकका बासिन्दाको जनजीवन बढी कष्टकर भएको उनको भनाइ छ । 

उनले मंगलबार परेको हिन्दूहरुको पर्व शिवरात्रि भने जुम्लामा हिमपातमय हुने जनाए । यता हावापानी फिल्ड कार्यालय, जुम्लाले बिहानको तापक्रम माइनस ६ डिग्री सेन्टिग्रेड रहेको जनाएको छ । 

लामो समयदेखि हिउँ नपर्दा भोकमरी हुने कुराले चिन्तित किसानलाई भने यो पटकको हिमपातले राहत पुग्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए । 

उनका अनुसार यो हिउँले नयाँ स्याउ रोप्न र हिउँपोखरी निर्माण गर्न किसानलाई सहयोग पुग्नेछ । सिँचाइ कम भएको जग्गा र स्याउका लागि आवश्यक न्यूनतम तापक्रम पुगेको छ । 

हिमपात भएपछि अब सहकाल लाग्ने स्थानीय वीरबहादुर सिंहले बताए । 

हाम्रा पालामा पर्ने जतिको हिउँ अहिले परेको देखिँदैन, विस्तारै खडेरी बढ्न थालेको छ, खोलानाला सुक्दै गएका छन्, उनले भने । उनका अनुसार हिउँ पर्नुलाई कष्टकर जीवन मान्नेभन्दा भोकमारी, रोगब्याधि हटाउने सहकाल मानिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ