arrow

राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
madhab-ghimire.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरेकी छन् ।

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा बुधवार आयोजित समारोहमा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

साहित्यका माध्यमबाट राष्ट्रिय एकतालाई बलियो तुल्याउँदै राष्ट्रिय प्रेमले ओतप्रोत, राष्ट्रियता र स्वाभिमानलाई प्रवद्र्धन र उजिल्याउने काम गरेबापत उनलाई सरकारले माघ २६ गते सहायक रथीको मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।

समारोहमा राष्ट्रकवि घिमिरेले सैनिक ‘स्यालुट’ प्रस्तुत गर्दा उनको सम्मानमा सभाहल तालीले गुञ्जायमान भएको थियो । राष्ट्रकवि घिमिरेलाई उनको जन्मशताब्दी वर्षको उपलक्ष्यमा सरकारले सो उपाधि दिएको हो । विसं १९७६ असोज ७ गते लमजुङको बाहुनडाँडामा जन्मिएा राष्ट्रकवि घिमिरेलाई नेपाली साहित्यमा शिखरपुरुषका रुपमा लिइन्छ ।

उनका ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे...’लगायत राष्ट्रभक्तिले ओतप्रोत भएका सयौँका संख्यामा गीत र कविताहरु प्रकाशन-प्रशारण भएका छन् । सरकारले गैरसैनिक व्यक्तिलाई प्रदान गरेको यो सबैभन्दा माथिल्लो सैनिक उपाधि हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिगण, पूर्वप्रधानन्त्रीहरु, सरकारका उच्च पदस्थ अधिकारीलगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

समारोहमा नेपाली सेनाको इतिहास र वीरगाथा झल्कने वृत्तचित्र, गणेशबन्दना र सैनिक प्रण प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालको विविधता झल्कने तामाङसेलो, शेर्पा, कौडा, मगौटा, झ्याउरे, हुडकेली, राष्ट्रिय र आधुनिक गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ