arrow

माओवादीलाई पहिलो गाँसमै ढुङगा, ओलीलाई दर्शक भएर हेरिरहे प्रचण्ड

logo
राजनीतिक व्यूरो।
प्रकाशित २०७४ फागुन ३ बिहिबार
oli-pm.jpg

राजनीतिक व्यूरो। काठमाडौं। वामगठवन्धनका तर्फबाट नयाँ सरकार बन्नु अघी नै पार्टी एकता गर्ने कुरा भएपनि व्यवहारमा त्यो हुन सकेन। निर्वाचन सम्पन्न भए यताको दुई महिना भन्दा बढी समय पाउँदा समेत पनि एमाले र माओवादीले पार्टी एकताको ठोस आधार सार्वजनिक गर्न सकेनन्। न त सरकारमा एकैपटक जाने तत्परता देखाए। 

चुनाव यताका दिनहरु अत्यन्तै पर्खाइको पीडामा विताएको झै देखिएको एमालेले सत्तारोहणको अन्तिम समयमा जुन हतारो देखायो अनपेक्षित रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि देखाइन। हतारमा अघिल्लो बर्षको मिति राखेर विज्ञप्ती निकाल्नु, प्रदेश सभाका सांसदहरुले केहि दिन अघी सपथ लिएर मात्र मुख्यमन्त्रीको लागि दावी पेश गरेको अभ्यासलाई पनि वेवास्ता गर्दै सपथ नै नलिइ प्रधानमन्त्रीको लागि दावी पेश हुनु, दावी पेश हुनै नपाइ प्रधानमन्त्री नियुक्ती हुनु, हतारमै सपथ ग्रहण गराउनु लगायत हतारोका क्रियाकलापमा शितल निवास र राष्ट्रपतिका लागि सुहाउने विषय थिएन।  

हतारो राज्यका अन्य निकायहरुलाई पनि थियो। राष्ट्रपति कार्यालयमा वहुमतको दावि सहित एमाले माओवादीले पत्र दर्ता गराएका थिए। यस हिसावले केपी ओली प्रधानमन्त्री हुने कुरामा कसैको गुनासो हुनुपर्ने कुरै थिएन। तर शितल निवासको हतारो प्रधानमन्त्रीका रुपमा केपी ओलीलाई भन्दा वढ्ता हुनु उदेक लाग्दो थियो। शितल निवासको हतारोले प्रधानमन्त्रीका रुपमा केपी ओलीले जिम्मेवारी पाएको पत्र प्राप्त हुँदै गर्दा अझै औपचारिक रुपमा देउवा प्रधानमन्त्री थिए। करिव १ घण्टा त देशमा शेर बहादुर देउवा र केपी ओली दुबै प्रधानमन्त्री थिए। 

प्रधानमन्त्री कार्यालयमा पनि थियो हतारो
राष्ट्रपति कार्यालयले हतारो देखाउँदै गर्दा प्रधानमन्त्री कार्यालय पनि नयाँ प्रधानमन्त्रीका लागि अत्यन्तै आतुर देखियो। नयाँ प्रधानमन्त्री वहाल हुनु अघी नै सरकारको आधिकारीक वेभसाइटमा प्रधानमन्त्रीका रुपमा केपी ओली आइसकेका थिए। प्रधानमन्त्रीका रुपमा सपथ खाएर पद वहाली हुनुअघी नै प्रधानमन्त्री कार्यालय 'एक्सन'मा आइसकेको थियो। त्यो 'एक्सन' आगामी दिनमा पनि देखिने होकी अहिले मात्र हो त्यो भने प्रतिक्षाकै विषय हो। 

प्रधानमन्त्री भएपछि संसदीय दलको नेता
हतार हतारमा भएका वैठकहरुमा वाम गठवन्धनका तर्फबाट तत्काल सरकार बनाउन हतारोमा एमालेले आफ्ना अध्यक्ष केपी ओलीलाई संसदीय दलको नेता छान्न पनि विर्सिएछ। दुई पार्टीको समर्थन सहित प्रधानमन्त्री बन्न दावी लिएर राष्ट्रपतिकहाँ पुगेका ओलीलाई प्रधानमन्त्रीमा राष्ट्रपतिले नियुक्त गरेपछि एमालेका वरिष्ठ नेता माधव नेपालको प्रस्तावमा ओलीलाई संसदीय दलको नेता छानियो। संक्रमणको अन्त्य गर्दै चुनाव सकाएर संविधान कार्यान्वयनको चरणमा प्रवेश गराएका देउवाले बाँकी केहि घण्टामा सबै सकाउँछनकी भन्ने शैलीमा खासगरि एमाले र शितल निवास अत्यन्तै वेचैन भएको देखियो। यो वेचैनीमा कैयन अभ्यासहरुलाई पनि तिलाञ्जली दिइयो। 

मन्त्रीपरिषदको सिफारिस रोक्ने हतारो
देउवा नेतृत्वको सरकार थप केहि दिन लम्विनु भनेको शितल निवास र सिंहदरवारको खटपट बढ्नु हुन्थ्यो। राष्ट्रिय सभाको लागि मन्त्रीपरिषदबाट सिफारिस गरिएका ३ जनाको नाम राष्ट्रपतिले अड्काएर राखेकी थिइन। एमाले यो कुनै पनि हालतमा नमान्ने भनिरहेको थियो। राष्ट्रियसभाको अध्यादेश ल्याउने वेलामा देखिएको कटुता यो प्रकरणमा पुन वढ्ने देखिएको थियो। जति दिन देउवा रहन्छन त्यति लफडा मोल्नुपर्ने आँकलन शितल निवासले गरेको देखियो। त्यसैले पनि सरकार गठनमा आकर्षित हुने धारामा नै फड्को मारेर अघी बढियो। 

हात्ती छिर्‍यो पुच्छर अड्क्यो
अन्तिम नतिजा आउन जति ढीलाई भएपनि अन्तिम समयमा भने निर्वाचन आयोगले पनि हतारो नै देखायो। निर्वाचनको अन्तिम नतिजाको लागि यति समय कुरेको आयोगले राष्ट्रिय सभा चाहि पूर्ण नै नभइ राष्ट्रपतिलाई अन्तिम नतिजा भनेर ३ जना छुटेको लिष्ट बुझायो। नियमावलीलाई आदेशले काट्दै नामावली सच्याउने म्याद सात दिनबाट घटाएर दुई दिनमा झार्‍यो। हतारो आयोगलाई पनि अन्तिममा आएर चाहि निकै नै भएको देखियो। 

सिद्धान्त नमिलेपछि छुट्यो माओवादी
हतारोकै बीचमा एमालेले माओवादीसँग भने सरकारमा एकैपटक जाने समय मिलाउन सकेन। एमालेले माओवादीलाई वाहिरै राखेर सरकारमा जाने हतारो देखायो। केपी ओलीलाई सरकारमा जाने हतारोको बीचमा पार्टी एकताको सैद्धान्तिक खाका कोर्न एमाले र माओवादी वरालिए। एमाले जवज अगाल्दै गर्दा माओवाद र माओ विचारधारालाई स्विकार्न तयार भएन। अर्कातिर माओवादी माओवाद र माओ विचारधारा छोडेर खुरुक्क जवज मानेर जाने अवस्थामा पनि थिएन। जति नै लिपपोत गरेपनि यो तथ्यलाई एमाले र माओवादीले ढाट्न सक्ने अवस्था थिएन। कार्यकर्तालाई झुक्याउन सक्ने अवस्था पनि छैन।

यहि सैद्धान्तिक मतभेदलाई मिलाउन नसक्दा आफैले हस्ताक्षर गरेर प्रधानमन्त्री बनाएका केपीको सपथमा प्रचण्ड गएपनि आफ्ना मान्छेलाई मन्त्री बनाउन भने पठाएनन। उनी ढीलो गरि भएपनि शितल निवासमा गए। पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरुको लहरमा बसेर ओलीको सपथ हेरिरहे। सपथ पछि माधव नेपाल र झलनाथ खनालसँगै गएर बधाइ पनि दिए। तर पहिलो गाासमै ढुङगा लागेको प्रचण्ड खासै खुल्न सकेनन्। 

माओवादीका तर्फबाट प्रधानमन्त्री बनाउन केपीलाई समर्थन रहेको पत्र प्राप्त भएपछि एमाले नेतृत्व अब माओवादी एमालेमा विलय हुने भयो भन्ने शैलीमा प्रस्तुत भएको माओवादी नेता बताउँछन्। माओवादीका केहि नेता शुरु देखि नै एमालेले माओवादीसँग एकताको शैलीमा भन्दा पनि पार्टी विलय गराउने शैलीमा प्रस्तुत भएको बताउँदै आएका थिए। 

माओवादी वार्गेनीङमा
सरकारमा तत्काल सहभागि नभएको माओवादी व्यवहारलाई पनि एमालेका नेताहरुले ठूलो भाग खानको लागि गरिएको वार्गेनिङको रुपमा लिएका छन्। एमाले नेतृत्वको सरकारमा आउनुको विकल्प अब माओवादीसँग नरहेको र पार्टी एकताबाट पनि माओवादी भाग्न नसक्ने एमालेका नेताहरुको विश्लेषण छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ