- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । धर्म के हो ? कम्युनिष्टहरु धर्मलाई अफिमसंग तुलना गर्छन् । कम्युनिष्ट सिद्धान्तले धर्म मान्दैन ।
यति हुँदा पनि नेपालमा बाहेक जुनसुकै देशमा उच्च ओहदाको सपथ ग्रहणमा लिने ईश्वरको नामसमेत सहजै लिने गरिन्छ । दुर्भाग्य नेपालकै कम्युनिष्टहरु ईश्वरको नाममा सपथ ग्रहण गर्न हिच्किचाउँछन् ।
जब सपथ लिने पनि कम्युनिष्ट र सपथ दिने पनि कम्युनिष्ट भएपछि के फरक पर्छ होला ईश्वर भन्ने शब्द नै हटाउँदा ?
त्यसो गर्न नसक्ने तर संविधान र कानुन उल्लंघन गर्न उद्दत हुनेले के चाहीं पालना गर्छन् त भन्ने प्रश्न अहम् हो ।
हुँदाहुँदा केपी शर्मा ओलीले त बिहिबार दोस्रो पटक प्रधानमन्त्री हुँदा हदै गरे । ‘ईश्वर’ शब्द त उच्चारण गरेनन् नै ‘देश’ शब्द पनि बोलेनन् ।
यसले के जनाउँछ ? यसको सीधा अर्थ ‘म ईश्वरप्रति बफादार छैन र म देशप्रति बफादार छैन’ भन्ने हो ।
यो भन्दा ओली र उनको कम्पनीलाई नपच्ने होला । तर यथार्थ त यही नै हो । यदि ओलीले हतारमा यी शब्द उच्चारण गर्न भुलेका हुन् भने फेरि सपथ लिँदा फरक पर्दैन ।
यस्ता गल्ती विश्वका ठूला र शक्तिशाली राष्ट्रका प्रधानमन्त्री वा राष्ट्रपतिले गरेका छन् । तर गल्ती सुधार पनि गरेका छन् ।
ओलीलाई गल्ती सुधार्ने मौका छ । तर गल्ती सुधार गर्लान् कि नगर्लान् अर्को पाटोको कुरा ।
ईश्वर सम्बन्धमा गम्भीर मतभेद
कम्युनिष्ट कुनै पनि प्रधानमन्त्री वा मन्त्रीले ईश्वरका नाममा सपथ लिन हिच्किचाउँछन् ।
यो ईश्वर मान्दिन भनेको हो वा बेइमान गर्ने हुनाले ईश्वरकै नाममा सपथ लिन डराउँछु भनिएको हो । यसबारे कम्युनिष्ट नेताहरु स्पष्ट छैनन् ।
एउटाले गरेपछि अर्काले पनि देखासिकी गर्ने परम्परा छ । सकभर नियम कानुन तोड्ने परम्परा कायमै छ ।
यसैको निरन्तरता अहिलेको बाम गठबन्धनको सरकारले गरेको छ ।
सपथ ग्रहणमा लेखिएका शब्दहरु हुबहु र अक्षरस सपथ लिनुपर्छ । शब्द छुटाएर आफ्नो शैलीमा लिने सपथ स्वीकार्य किन हुन्छ ?
कानुनको ठाडो उल्लंघन गर्दासमेत नेपालका विज्ञहरु र कानुनका ज्ञाताहरु चुप छन् । यो दुर्भाग्य हो ।
मठ मन्दिर नजान सुझाव–
जुन व्यक्ति नास्तिक हुन्छ त्यो मठ मन्दिर धाउँदैन । आस्थावान् मानिसमात्र मन्दिर जान्छ । गुम्बा जान्छ । मस्जिद जान्छ । चर्च जान्छ ।
धर्ममै विश्वास नहुने मानिस त्यो बाटो नै हिंड्दैन । तर ईश्वरका नाममा सपथ दिन डराउने र ईश्वरका नाममा सपथ लिए आफ्नो पार्टीको अस्तित्व नै समाप्त हुने ठान्ने ओली ज्यू अब तपाई मठमन्दिर गएर आफूलाई लज्जित नबनाउनुस् ।
तपाईको कुनै पनि टिमलाई मन्दिर जान नदिनुस् । अर्थात् कुनै पनि धार्मिक कार्यक्रममा जान बर्जित गर्नुस् ।
राष्ट्रको कार्यकारीले धार्मिक अनुष्ठानमा जाने परम्परा तोड्नुस् । जब तपाईले सपथ ग्रहणमै ईश्वरको नाम लिन हिच्किचाउनु हुन्छ भने तपाईलाई कुनै पनि धार्मिक अनुष्ठानमा जाने अधिकार छैन ।
कि छ ? कि नैतिकताले दिन्छ ?
समय बलबान छ । एक दिन ओलीले यसको जवाफ सार्वजनिक रुपमै दिनुहुनेछ ।
कृपया मानमर्दन भएको नठानियोस् । कानुन उल्लंघन भएकाले सच्याउन आग्रह गरिएको हो ।
होइन भने ‘डाडूपन्यु’ तपाईकै हातमा छ कानुन गलत भयो भनेर सच्याउनुस् तर बिन्ती छ मन्दिर गएर धर्मावलम्बीको अपमान नगर्नुस् ।