नेतृत्व विफल भइसक्यो, कांग्रेसको वास्तविक अवस्थाबारे कार्यकर्तालाई जानकारी देउ : प्रकाशमान
प्रकाशित २०७४ फागुन ५ शनिबार
132
Shares
चितवन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विधानअनुसार पार्टी सञ्चालन हुन नसकेको बताउँदै पार्टी नेतृत्व विफल भइसकेको आरोप लगाएका छन् । शनिवार पत्रकारसँग कुरा गर्दै उनले वामपन्थीहरु एकीकरणतर्फ गइरहेको अवस्थामा काँग्रेसलाई पुरानै तौरतरिकबाट सञ्चालन गर्न नहुने बताउँदै उनले “नयाँ परिस्थितिअनुसार पार्टीलाई अगाडि बढाउन सक्नुपर्दछ,” भने।
नेता सिंहले पार्टीलाई विधानसम्मत तरिकाले सञ्चालन गर्नुपर्नेमा जोड दिदैं परम्परागत शैलीमा पार्टी सञ्चालन गर्दा भविष्यमा थप चुनौती आउने धारणा व्यक्त गरे।
नेतृत्वले कार्यकर्तालाई लङ्गडो तर्क दिएको आरोप लगाउँदै उनले काँग्रेसका समर्थकले लङ्गडो तर्कमा विश्वास नगर्ने र पार्टीको वास्तविक अवस्थाबारे कार्यकर्तालाई जानकारी दिनुपर्ने बताए । नेता सिंहले पार्टीको केन्द्रीय समितिलाई दुई महिनामा पूर्णता दिनुपर्नेमा अहिलेसम्म नभएको तथा महासमिति र केन्द्रीय समिति बैठक तत्काल बोलाउनुपर्नेमा पनि जोड दिए ।
वाम गठबन्धनले सहमतिअनुसार सरकारलाई पूर्णता दिन सकेको छैन, उनले भने, “उहाँहरुले राम्रो गर्छौ भन्नुभएको छ, तर सरकार गठन गर्न नै गाह्रो भएको छ ।” नेता सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताए । सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए ।