ओली-प्रचण्डले प्रसाईँको घरमा भात मात्रै खाए, जुटेन सहमति
प्रकाशित २०७४ फागुन ६ आइतबार
239
Shares
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको एक्ला एक्लै वार्ता फेरि बस्नेगरी टुंगिएको छ ।
भक्तपुरको पुरानो ठीमीस्थित मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाइँको घरमा भएको एक्ला एक्लै वार्तामा पार्टी एकता र कार्यदिशा तथा माओवादी केन्द्र सरकारमा सहभागि हुने विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
ठीमीको बैठकमा पनि ठोस सहमति जुट्न सकेन । छलफल सकारात्मक भएको र फेरि छलफल गर्ने गरी वार्ता सकियो । यो छलफलपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर एकताकाे प्रारम्भिक खाका दिने बताइएको थियो ।
ओलीले माओवादीबाट सरकारमा सहभागि हुनेहरुको नाम पठाउन दाहाललाई आग्रह गरेको बताइएको छ । तर, दाहालले पार्टी एकतापछिको कार्यदिशा प्रष्ट नभएसम्म सरकारमा सहभागि नहुने जवाफ दिए ।
माओवादीले २१ औं शताब्दीको जनवाद र माओवादी एकीकृत पार्टीको कार्यदिशा हुनुपर्ने अडानमा छ । एमालेले जनताको बहुदलीय जनवाद बाहेक अन्य विषयमा छलफल हुनै सक्दैन भनिरहेको छ ।
सैद्धान्तिक विषयकै छलफल लम्बिएको बताइँदै छ । वाम विश्लेषकहरु भने संविधानले नै समाजवाद बोकेकाले अब यी कुनै वाद वा सिद्धान्तमा अल्झिरहनुको औचित्य नभएको बताइरहेका छन् । तर, दुबै पार्टीको दोस्रो तहका नेताहरु पुरानै अडानमा छन् । र , नेतृत्वलाई दबाब दिइरहेका छन् ।
भात मात्रै खाए
पुरानो ठीमीमा ओली–प्रचण्डले भात खाए । दुई शीर्ष नेताले भात खाएको घर हो,– झापामा प्रस्तावित बिएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाइँको । उनी दाहाल निकट व्यवसायी हुन् । प्रसाईँले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन लबिङ गरिरहेका छन् । ओली र दाहाल त्यसप्रति सकारात्मक रहेको कुरा बाहिर आइसकेको छ ।
‘ओली–र दाहालका लागि ‘ब्राउन राइस’ र केही थरि दाल, तरकारी र सागको व्यवस्था गरे ।’ ओलीले खाना खाँदा काँटा तथा चम्चा प्रयोग गरे भने, दाहालले सँधैझै हातैले खाए ।