'आजबाट केपी ओली र मलाई अध्यक्ष मान्दा भयो' : प्रचण्ड
प्रकाशित २०७४ फागुन ८ मंगलबार
439
Shares
रत्ननगर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताएका छन् ।
भरतपुरमा मंगलवार प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको भन्दै कानूनी रुपमा निर्वाचन आयोगमा दर्ता गरेपछि भन्न मिल्ने उल्लेख गरे।
“महाधिवेशन नभएसम्म दुवैजना अध्यक्ष प्रणालीमा गएका छौँ, आजबाट केपी ओली र मलाई अध्यक्ष मान्दा भयो,” उनले भने । व्यवहारिक र सैद्धान्तिक रुपमा ओली र आफू नयाँ पार्टीको अध्यक्ष भएको भन्दै दाहालले बैठकको अध्यक्षता समेत आलोपालो गर्ने गरी सहमति भएको जानकारी दिए । महाधिवेशनसम्म यसैगरी अघि बढ्ने उनको भनाइ थियो ।
अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको सहभागितामा कार्यदल बनाएको र अर्को कार्यदल अन्तरिम विधान र संगठनको सेटका लागि सुझाव दिन रामबहादुर थापा, प्रदीप ज्ञवाली लगायतको सहभागितामा दुईवटा कार्यदल बनाएको उनले बताए ।
हप्ता दिनभित्रमा कार्यदलको सुझावको आधारमा र त्यही विधानको आधारमा बैठक बसेर पुरानो समिति भंग गर्ने तथा नयाँ केन्द्रीय समिति बनाएर निर्वाचन आयोगमा दर्ता गर्ने अध्यक्ष दाहालले बताए ।
दुई वर्षभित्रमा महाधिवेशन गर्ने र सो समयसम्म ओली नै प्रधानमन्त्री हुने दाहालको भनाइ थियो । “महाधिवेशनपछि त महाधिवेशनले के गर्छ भन्ने हो, तर अहिले पाँचै वर्षका लागि ओली नै प्रधानमन्त्री, अव महाविधेशनले यही गर्छ भनेर मैले अहिले नै भन्न सक्दिन नी,” पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भने।
उनले सरकारमा आजै मन्त्री सिफारिस गर्ने जानकारी दिए । “नेपाल राष्ट्रका निम्ति निकै दुरगामी परिणाम यो एकता हो,” उनले भने । जनताको चाहना पूरा भएको भन्दै अध्यक्ष दाहालले खुशी व्यक्त गरे ।
विमानस्थलमै आइपुगेका काँग्रेस महामन्त्री शशांक कोइरालाले कम्युनिष्ट एकतालाई सकारात्मक रुपमा लिएको भन्दै काँग्रेसलाई पनि बलियो बनाउन फाइदा पुगेको बताए । उनले प्रचण्डसँग हात मिलाउँदै एकताको बधाईसमेत दिएका थिए ।