रोक्का भएको जिविस कोषबाट भक्तपुर जिससका कर्मचारीलाई भत्ता
प्रकाशित २०७४ फागुन ९ बुधबार
682
Shares
काठमाडौं । जिल्ला समन्वय समिति (जिसस)भक्तपुरले रोक्का भएको खाताबाट कर्मचारीहरुलाई भत्ता दिने गरेको कुरा सार्वजनिक भएको छ । तत्कालीन जिल्ला विकास समिति कोषमा रहेको करोडौं रुपैयाँ सरकारले तत्कालका लागि रोक्का गर्ने निर्णय गरेको भएपनि मन्त्रालय र नेपाल सरकारकै निर्णय विपरित उनीहरुले रोक्का रकम खर्च गरेको जिसस भक्तपुरका एक लेखा अधिकारीले जानकारी दिए ।
अहिले भक्तपुर जिससमा मात्रै करोड बढी रुपैयाँ रोक्का रहेको भएपनि यकीन विवरण तत्काल जानकारी दिन नसकिएको जिसस भक्तपुरका लेखा अधिकारी तीर्थराम दुलालले जानकारी दिए ।
सरकारी निर्णयानुसार अहिले जिससका कर्मचारीको भत्ताको लागि कोष तथा लेखा नियन्त्रक कार्यालयले भत्ताको लागि रकम निकासा नगर्ने भएपछि भक्तपुर जिससले रोक्का खाताबाट नै भत्ता खाने गरेको कुरा बाहिर आएको छ । जिससका सूचना अधिकारी जौवन कोजुले गत असोज महिनासम्म जिससका सबै कर्मचारीहरुले भत्ता लिएको स्वीकार गरे । उनले दशैपछि भने भत्ता नबुझेको बताए । तर, पुरानो खाताबारे भने लेखासँग बुझेर मात्रै कुराकानी गर्न सकिने जानकारी दिए ।
त्यस्तै, जिससका लेखा अधिकारी दुलालले दशैसम्म भत्ता खाएको भएपनि त्यसपछि भत्ता नखाएको स्पष्ट पारे । उनले सुरुमा जिविसको पनि खाता रोक्का हटिसकेको भनेर कुरा टार्ने प्रयास गरेपनि पछि अन्य जिससको खाता रोक्का भईरहँदा भक्तपुरको मात्रै कसरी खुल्यो भन्ने प्रश्न पछि भने दुलालले नयाँ खाताबाट भत्ता दिने गरेको स्वीकार गरे ।
अहिले भक्तपुर जिससमा झण्डै ३ दर्जन कर्मचारी रहेका छन् भने ७ महिनासम्म झण्डै ५ लाख रुपैयाँ खर्च भईसकेको भेटिएको छ । जिसस स्रोतका अनुसार कर्मचारीहरुले सातै महिनाको भत्ता खाईसकेका छन् । यस अघि मासिक २ हजार रुपैयाँ भत्ताको रुपमा लिने गरेको जिसस भक्तपुरले सरकारी निर्णय उल्लंघन गरी अरु जिससले रोक्का गरिसकेको भत्ता पनि खानेगरेको हो ।