arrow

जीवनमा जम्मा एक दिन स्कुल देखेका हरिरामको कथा

कमैयाबाट भरिया, भरियाबाट साइकल ‘म्यान’

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ फागुन १० बिहिबार
hariram_news.JPG

काठमाडौं । साइकल नहुँदो हो त, हरिराम थारुको जीवन कस्तो हुँदो हो ? साइकल उनको असली जीवन साथी भएको छ । साइकलकै सहाराले उनको ६ जनाको परिवार पालिएको छ । त्यसो त उनलाई के खाउँ के लाउँको अवस्था छैन । विगत सम्झेर अझै भकानिन्छन् उनी । विगत त नर्क नै थ्यो । कमैया । सरकारले कमैया मुक्तिको घोषणा गरेको धेरै भइसक्यो । उनलाई त्यो पनि थाहा छैन । तर, अहिले उनी आफै मुक्त कमैया भइसकेका छन् ।

उनलाई कमैया मुक्तिको कुरा पनि थाहा छैन । उनले भने, ‘ म राजा मर्नु भन्दा अघि नै काठमाडौँ छिरेको ।’ कति पढ्नु भा छ ? ‘जम्मा एक दिन विद्यालय गएको थिए । सरले बेसरी पिट्नु भो । बिचैमा भागेर घर आएँ । त्यसपछि कहिल्यै स्कुल गईन ।’ पिट्ने सरको नाम त के, राम्ररी मुख देख्न पाइँन ।

काठमाडौँ आएपछि पनि उनलाई काम पाउन सजिलो भएन । निकै कष्ट सहनु पर्‍यो । उनले भने, ‘९ महिलासम्म घट्टेकुलो चोकमा नाम्लो लिएर बसे । भरियाको काम गरे ।’ साइकलसँग कम्ता साइनो छैन उनको । भारी बोकेको पैसाले साइकल किनेको झलझल्ति सम्झिन्छन् उनी । त्यसैले त साइकल नै साथी बनाए ।

अहिले उनको दैनिकी हो,–‘साइकल डोर्‍याएर घर–घरमा ग्यास सिलिण्डर ओसार्नु ।’ ग्याँस बोक्ने अलावा उनी फुर्सद मिल्नेवित्तिकै सुटिङमा जान्छन् । उनी ‘लाइटम्यान’ पनि । गाउँको परिचय, कमैया । नेपाल ग्याँसको विक्रि केन्द्र अनामनगरबाट उनी सोल्टीमोडसम्म ग्याँस पुर्‍याउन जान्छन् । अनामनगरमा काम कम भएका बेला बानेश्वरमा पनि ग्याँस ओसार्न आउँछन् उनी ।

उनका साथीहरु पनि छन् । १४ जना । उनीरु सबैले प्रतिव्यक्ति, दिनमा ७ सयदेखि १५ सयसम्म कमाउँछन् । खाजा त्यसैमा जोडिन्छ । साइकल विग्रिए त्यसैबाट बनाउने हो । महिनामा कति कमाई हुन्छ ? ‘खाना, खाजा कटाएर १९ हजार जति हुन्छ ।’

एउटा साइकलमा एक पटकमा पाँच वटा सिलिन्डर बोक्छन् । एउटा छोरो त यहाँ काम नपाएपछि विदेश हानियो, ‘उनी भन्छन् । एउटा छोरा व्यापारीकोमा काम गर्छ ।’ तर, परिवार पाल्न पुगेकै छ । खाना साधारण नै खाइन्छ । मिठो मसिनो खाना चाडबाड नै कुर्नु पर्छ ।

ग्याँस पुर्‍याएको पैँसा कसले दिन्छ ? जवाफमा उनले भने, ‘जसको ग्याँस लगिदिएको हो । उसैले दिन्छन् । दुरी हेरेर पैसा दिन्छन् । एउटा सिलिण्डरको ५० रुपैँया त लाग्छ नै ।’ अरु त ठिकै । दुःख धेरै । फोन गरेको भरमा हिड्नु पर्छ, उनले भने, ‘घरमा मान्छे भेटिएन भने फर्केर आउनुपर्छ । समय खेर जान्छ । कमाईमा पनि घाटा लाग्छ । कतिपय ठाउँमा धेरै तला माथि उक्लिनु पर्ने हुन्छ । फेरि पैसामा विवाद गर्छन् । साइकल विग्रिए बाटोमा विजोगै हुन्छ । सास फेर्न पाइँदैन । एउटाकोमा लगे अर्कोले ढिलो भयो भन्दै रिसाउँछन् ।’
उपलब्धि के भयो त ? ‘गाउँमै एक कठ्ठा जग्गा किने । पहिले केही पनि थिएन । अहिले चार कोठाको पक्की घर छ । छोरा पढाइयो । छोराको विहे पनि गरियो ।’

ग्याँस विक्रेताको पनि विजोकै । राम प्रसाद उप्रेती बानेश्वरमा नेपाल ग्याँसको विक्रकेता भएर बसेका छन् । उनी काठमाडौं आएको २६ वर्ष भयो । उनको घर तेह्रथुम । तर, उनको आफ्नै व्यापार होइन । नेपाल ग्याँसले तलबमा राखेको । १९ हजार ५ सय रुपैँया आउँछ तलब । सुविधा–महिनामा चार शनिबार विदा । दशैँमा बोनस । उनका पनि धेरै गुनासा छन् । विहानै हिड्नु पर्छ, भनेजस्तो भोक मर्ने खाजा छैन ।

मोबाइल खर्च आफ्नै पो जान्छ त । एउटा सिलिण्डर ३२ रुपैँया नाफा हुन्छ । त्यसैमा भ्याट जोडिन्छ । अहिलेसम्म जीवन खाइखेलेरै वितिरहेको छ उनको । तर, उनलाई चिन्ता छ, भोलि कम्पनीबाट हात धोएर निस्किनुपर्छ । उनी भन्छन्, ‘शरिरमा बल भएसम्म खान पाइन्छ । त्यसपछि त्यस्तै हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ