फेरि शुरु भयो बालुवाटारमा भोजको श्रृङखला, बर्थ डे सहितको ओलीको भोजमा लाखौंको खर्च
दिउँसो केक पार्टी, साँझ ककटेल पार्टी
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
246
Shares
काठमाडौं। प्रधानमन्त्री केपी ओली वालुवाटार प्रवेशसँगै भोजको श्रृङखला शुरु भएको छ। पछिल्लो तीन दिनमा प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवासमा दुई वटा भोज दिएका छन्। पहिलो भोज फागुन ८ गते दिएका ओलीले शुक्रवार ११ गते भने आफ्नो जन्मदिनको अवसरमा भोज दिएका हुन्।
पहिलो भोज एमाले र माओवादीविच पार्टी एकताका लागि सहमति भएको खुसीमा उनले पार्टीका नेताहरुलाई बोलाएर फागुन ७ गते भोज दिएका थिए भने प्रधानमन्त्री ओलीले दोस्रो भोज आफ्नै जन्मदिनमा दिए। आफ्नो जन्मदिनको अवसर पारेर प्रधानमन्त्री ओलीले शुक्रवार रात्रिभोज दिएका हुन्। दिउँसो भने ओलीले केक काटेर पार्टी नेता कार्यकर्ता र आफन्तहरुलाई खुवाएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च पदमा बसेका व्यक्तिले फजुल खर्च गर्न नपाउने आचारसंहिता विपरित आफ्नो ६७ औ जन्मदिन सरकारी निवास बालुवाटारमा भव्य पार्टीका साथ मनाएका हुन् ।
अपरान्ह ४ वजे सुरु भएको ओलीको जन्म दिनको पार्टी खान बालुवाटारमा रहेको प्रधानमन्त्रीको निजी सचिवालयको हलमा विभिन्न मन्त्रालयका सचिव, राजनीतिक दलका नेताहरुदेखि एमाले कार्यकर्ताहरुको भीड लागेको छ।
ओलीको जन्मदिन मनाउन बालुवाटारमा ५ सय जनालाई बोलाईएको सचिवालयले जनाएको छ। ओलीको भोजको अनमोल क्याटरिङले खानाको व्यवस्था गरेको छ।
ओली प्रधानमन्त्री भएको दश दिनमा दिन दिनै जस्तो विभिन्न बहानामा साना ठूला भोजहरु हुदै आएको छ । पछिल्लो दश दिनमा मात्रै भोजमा करिव ५० लाख रुपैया सकिएको प्रधानमन्त्री कार्यालय स्रोतको दावी छ ।
ओलीको जन्म दिनको भोजमा अनमोल क्याटरिङले ह्विस्की, वियर र वाइनको समेत व्यवस्था गरेको छ । भोजमा विभिन्न मन्त्रालयका दर्जनभन्दा बढि सचिवहरु समेत सहभागी छन् ।
सरकारी निवासमा प्रधानमन्त्रीले दिने दिवाभोज, रात्रिभोज र अन्य खाजा खर्च सरकारी कोषबाट भुक्तानी हुने गर्दछ । अघिल्लो पटक सरकारको नेतृत्वमा रहँदा पनि ओलीले सरकारी कोष खर्चेर कैयन भोज दिएका थिए।