arrow

फ्रान्स र जर्मनद्वारा सिरियाली शहर गुटामा युद्धविराम गराउन रुससँग आग्रह

logo
प्रकाशित २०७४ फागुन १२ शनिबार
french-german.png

ब्रसेल्स, बेल्जियम। जर्मनी र फ्रान्सले सिरियाली शहर गुटामा पछिल्लो समय सिरियाली सेनाको हवाई तथा स्थल कारबाहीलाई रोक्न आग्रह गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ र जर्मन चान्सलर एन्गेला मर्केलले शुक्रबार रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन समक्ष आक्रमणलाई रोक्न पत्र लेखी आह्वान गरेकाछन्, फ्रान्सको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी जनाएको छ।

यूरोपियन यूनियन (इयू) सम्मेलनमा सहभागी हुने सिलसिलामा ब्रसेल्स पुगेका यूरोपेली शक्तिशाली दुई नेताले रसियालाई पत्राचार गरेको विज्ञप्तिमा उल्लेख छ। जर्मनी र फ्रान्सले गुटामा मानवीय सहयोग पुग्न नसक्दा यस क्षेत्रका वासिन्दालाई खाद्यान्न तथा अन्य अतिआवश्यकीय सामग्रीको चरम अभाव भएका भन्दै कम्तिमा पनि ३० दिन लामो युद्धविराम गर्न पहल गर्न आग्रह गरेका बताइएको छ।

उनीहरूले रसियालाई सिरियाबारेमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव तयार पार्न सहयोग गर्न पनि आह्वान गरेको बुझिउको छ। रसियाको समर्थन प्राप्त सिरियाली राष्ट्रपति बसर अल असद सरकार नेतृत्वको सेनाले विगत केही समय यता गुटा क्षेत्रमा कारबाही चलाउदा सयौँ सिरियाली सर्वसाधारणको मृत्यु भएको छ। उक्त क्षेत्र सिरियाली विद्रोहीको आधार क्षेत्र मानिन्छ।

सिरियामा सन् २०११ देखि शुरु भएको द्वन्द्वका कारण तीन लाख २० हजारभन्दा बढी सिरियालीको ज्यान गुमेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ। द्वन्द्वका कारण यहाँको झण्डै आधा जनसङ्ख्या विस्तापित बनेको छ। रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ