arrow

नेपाल–भारत प्रबुद्ध समूहको बैठकमा यस्तो भयो सहमति

logo
प्रकाशित २०७४ फागुन १२ शनिबार
EPG-meeting.jpg

काठमाडौं । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूह इपीजीको जारी सातौँ बैठकमा मस्यौदाको स्वरुपलाई अन्तिमरुप दिने सहमति भएको छ ।

हालसम्मका बैठकका उपलब्धिलाई लिपिबद्ध गरी मस्यौदालाई अन्तिम रुप दिन बैठकमा सहमति भएको समूहका एक सदस्यले बताए । बैठकबारे जानकारी दिन आइतबार अपराह्न पत्रकार सम्मेलन गरिने पनि उनले जनाए ।

मैत्री एवं सौहार्दपूर्ण वातावरणमा भएको बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायत विषयमा विचारविमर्श भएको थियो ।

द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धि सम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्न दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति भएअनुसार इपीजी गठन भएको हो ।

तीन वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला उक्त सहमति भएको थियो । त्यसअघि २३ वर्षपछि काठमाडौँमा नै सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकले दुवै देशका परराष्ट्र सचिवलाई इपीजी गठनका निम्ति आवश्यक गृहकार्य गर्न निर्देशन दिएको थियो ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका बेला परिवर्तित परिस्थितिअनुरुप बहुआयामिक नेपाल–भारत सम्बन्धलाई प्रगतिशील एवं अग्रगामी तुल्याउन इपिजी गठनको आवश्यकतामा जोड दिइएको थियो, जसलाई भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वीकार गरेका थिए । सन् २०१६ को जुलाईमा पहिलो बैठक बसेको इपीजीको कार्यकाल आगामी चार महिनामा समाप्त हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ