राजपा शशंकित : उपेन्द्रलाई महन्थको सुझाव–पक्का कुरा नगरी सत्ताको लागि जिब्रो नतिखार्नु
प्रकाशित २०७४ फागुन १६ बुधबार
287
Shares
काठमाडौं । राष्ट्रिय दलको मान्यता प्राप्त एक घटक संघीय समाजवादी फोरम वर्तमान वाम सरकारमा जान खुट्टा उचालिरहेका बेला सँगै रहेको अर्को घटक राष्ट्रिय जनता पार्टी राजपा शशंकित भएको छ ।
राजपाले सरकारको भूमिकाप्रति शंका गर्दै वक्तव्य निकालेको छ । उनले संघीय समाजवादीको नाम नलिई ‘हाल विभिन्न सञ्चारमाध्यमहरुद्वारा सम्प्रेषित जानकारी अनुसार सरकारले संविधान संशोधन र अन्य महत्त्वपूर्ण विषयलाई गौण राखी त्यसप्रति किञ्चित पनि संवेदनशील नदेखिएको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, भनेको छ । घुमाउरो शैलीमा राजपाले फोरमलाई संविधान संशोधनको नाउमा सत्ताको स्वाद चाख्न लागेकोमा सतर्क रहन भनेको छ ।
राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले जारी गरेको वक्तिव्यमा संविधान संशोधनप्रति संवेदनशील नभई सत्ता समीकरण गर्न लागिएकोप्रति शंका गरेका हुन् ।
विज्ञप्तिको अन्तिम खण्डमा ‘मधेसी, थारु, आदिवासी, जनजाथि, पिछडावर्ग, अल्पसंख्यक, मुस्लिम र दलित लगायतहरुद्वारा उठाएको माग पूरा हुने गरी संविधान संशोधन तथा झुठा मुद्दा फिर्ता, बन्दी रिहाई लगायत विषयहरु अविलम्ब संशोधन हुने गरी वातावरण बनाउनको लागि इमान्दारीपूर्वक प्रयास गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ’ भनिएको छ ।
घुमाउरो शैलीमा राजपाले फोरमलाई संविधान संशोधनको सुनिश्चितता नभई सरकारमा सहभागी हुन लागेकोमा सचेत गराएको छ । महन्थ ठाकुरले निकालेको विज्ञप्तिको मूल आशय विगतमा सबै सम्झौताहरु पूरा नहुने अवस्थामा सम्झौता नगर्नु, र संविधान संशोधनको नाउमा सत्ता स्वाद लिन जिब्रो नतिखार्नु, भन्ने हो ।