arrow

मन्त्रीपरिषद विस्तार हुँदै, एमालेमा छटपटी, माओवादीभित्र हल्लीखल्ली

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
uml-maobadi-new.jpg

काठमाडौं । केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रीपरिषद विस्तार गर्दैछन् । तेस्रो पटकमा मन्त्रीमण्डल पूरा गर्ने बताइरहँदा एमाले र माओवादीबीच छटपटी चुलिएको छ । 

फागुन ३ गते प्रधानमन्त्रीको सपथ खाएपछि तीन सदस्यीय मन्त्रीमण्डल बनाएका ओलीले त्यसपछि सपथ लिएको ११ दिनमा ४ जना सदस्य थपे । 

पहिलो पटकमा एमालेका मात्रै दुई जना र दोस्रो पटक एमालेका २ र माओवादीका २ जना थपेका ओलीले तेस्रो पटकमा संघीय समाजवादी फोरमलाई पनि समेट्ने प्रयासमा छन् । 

फोरम समेटिँदा एमाले र माओवादीभित्रको भाग पनि काटिने छ । यसरी भाग खोसिंदा भने स्वभावैले एमालेका आकांक्षीलाई आफू पर्ने हुँ कि हैन भन्ने छटपटी रहेको छ । 

अर्थमन्त्री बाहिरबाट ल्याएपछि त्यसै पनि एमालेमा असन्तुष्टि चुलिएको छ । 

अरु पनि उत्तिकै छन् । मन्त्रालय मर्ज भएपछि मन्त्री हुन्छु भनेर हल्ला पिट्नेहरु पनि थन्किएका छन् । 

एक एमालेका केन्द्रीय सदस्य एवं सांसदले हाम्रो कुरासंग भने ‘देशका लागि केही गर्छु भन्नेहरुले त्याग गर्ने बेला नै यही देखियो ।’

उनले भने ‘मन्त्री बन्ने आकांक्षा थियो तर मर्ज भैसकेपछि थुप्रै आकांक्षीले पछि हट्नुपर्ने अवस्था आयो ।’

यही स्थितिले चल्छ त ? भन्ने प्रश्नमा उनले सहजै भने, ‘हेर्दै जाउँ पार्टीभित्र मिलाउन नसक्ने हो भने एक दिन विष्फोट हुन्छ ।’

के छ माओवादीको स्थिति ? 
माओवादीले अहिलेसम्म गृहमन्त्रीमा रामबहादुर थापा बादल र उद्योग, वाणिज्य मन्त्रीमा मातृका यादव आइसकेका छन् । 

माओवादीको भागमा पाँच जना अझै नियुक्त हुन बाँकी छ । 

भागमा सात मन्त्री परेका हुन् । यो भागबण्डा फोरम समेटिने प्रसंग चल्नुअगाडिको हो । 

तर फोरम पनि आउने पक्काजस्तै भएपछि माओवादी नेताहरुमा पनि हल्लीखल्ली मच्चिएको छ । 

बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित भइसकेको प्रचण्ड सचिवालयको भनाइ छ । 

यी पाँचैजना सरकारमा जाँदैनन् । कोही न कोही त काटिनै पर्नेछ । यस्तोमा को अभागी सावित होला ? 

यसमै बहस छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बादल र नारायणकाजी श्रेष्ठ मिलेर मन्त्रीको चयन गर्ने भएकाले उनीहरु जुनसुकै बेला नाम फेर्न तयार हुने देखिन्छ । 

पोखरेल पाँचौं पटक मन्त्री हुने भएकाले पनि उनको नाम झिक्न दवाव छ । 

माओवादी छोडेर फेरि फर्किएकालाई अवसर दिने नीति पार्टीको भएकाले प्रवक्ता पम्फा भुषाललाई मन्त्री दिनुपर्ने दवाव छ । 

महिला सिट कम्तीमा ३३ प्रतिशत पुर्याउन पनि भुषालको नाम आउनु पर्ने हो । 

प्रचण्डको रोजाइमा पम्फा भन्दा पहिले आफ्नै बुहारी विना परेकी छिन् । 

हुनत नामै आएकामध्ये सबैको मौका नहुँदा फालिनेको लिष्टमा को पर्ला भन्ने चासो छ । 

एक जना त कुनै हालतमा कटौती हुनेछन् । प्रचण्डले विवाद बढी भए आफ्नै मान्छेलाई कटौती गर्ने सम्भावना छ । 

उनीहरुमा ‘रिङ आउट’ हुने सम्भावना छ । माओवादीमा रिङ इन हुनका लागि प्रचण्ड निवास धाउनेदेखि सोर्सफोर्स लगाउनेको ताँती छ ।

यसकारण पनि हल्लीखल्ली छ । 

एमालेबाट नसोचेका व्यक्ति लालबाबु पंडित पहिलो चरणमै मन्त्री बनेका थिए । माओवादीबाट पनि फ्याट्ट नयाँ मानिसको उदय नहोला भन्न सकिन्न । हल्लीखल्ली बढी नै भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ