arrow

भिडन्तमा १० नक्सलाइट र १ प्रहरी मारिए

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
mao.jpg

नयाँ दिल्ली ।भारतको छत्तीसगढ राज्यको एक जंगलमा शुक्रबार बिहान प्रहरी र भारतीय सशस्त्र विद्रोही समूह नक्सलाइटबीच भएको भिडन्तमा परी १० जना विद्रोहीको ज्यान गएको समाचार छ ।

उनीहरुको खोजीका लागि पुगेका प्रहरी र विद्रोहीबीचको सो भिडन्तमा परी एकजना प्रहरी पनि मारिएको सो समाचारमा जनाइएको छ ।

राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा सो जानकारी दिइएको छ । उक्त समाचारअनुसार छत्तीसगढ र तेलङ्गना राज्यको सीमा क्षेत्रमा पर्ने एक जंगलमा सो भिडन्त भएको थियो ।

उक्त भिडन्तका क्रममा अरु केही विद्रोही घाइते पनि भएको बताइएको छ । तेलङ्गना र छत्तीसगढ राज्यको संयुक्त सुरक्षा गस्ती टोलीमाथि यी दुई राज्यको सीमा क्षेत्रमा पर्ने पुजारी कन्कर जंगलमा विद्रोहीले आक्रमण गरेका थिए ।

सो आक्रमणपछि प्रहरीको जवाफी फायरमा परी ती विद्रोही मारिएका थिए । उक्त जंगलमा केही घन्टासम्म नै दोहोरो फायरिङ भएको थियो । मारिनेमा नक्सलाइट विद्रोही समूहका एकजना उच्चस्तरीय कमाण्डर पनि परेका छन् । मारिने १० जनामा छ जना महिला लडाकू परेका बताइएको छ ।

भारतमा भूमि अधिकारको मुख्य उद्देश्य र मागराखी सन् १९६७ बाट भारतको पश्चिम बंगालको नक्सालबारी भन्ने स्थानबाट यो विद्रोह सुरु भएको मानिएको छ । आजसम्म यस विद्रोहमा परी कम्तीमा पनि छ हजार नागरिकको ज्यान गइसकेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा यो नक्सलाइट विद्रोहलाई सुुरक्षाको प्रमुख चुनौतीका रुपमा लिन थालिएको छ । सुरुमा भारतको छत्तीसगढमा मात्र सिमीत यो विद्रोह हाल आएर अन्य भारतीय राज्यमा पनि फैलिएको बताइन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हालै दिएको एक सार्वजनिक अभिव्यक्तिमा यसलाई प्रमुख सुरक्षा चुनौतीका रुपमा लिइएको बताएका छन् । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ