arrow

पुनः एकताको गृहकार्यमा राप्रपाका समूह

logo
कृष्णराज गौतम,
प्रकाशित २०७४ फागुन २१ सोमबार
Aggrement-Between-RPPN-and-RPP.jpeg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजित भई विभिन्न दलमा आबद्ध नेता तथा कार्यकर्ता बलियो पार्टी निर्माणका लागि पुनः एकताको गृहकार्यमा जुटेका छन् ।

मुलुकमा सम्पन्न भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा । राष्ट्रियसभाका चुनावमा अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि उनीहरूले मुलुकको संरचनानुसार देशैभर पार्टीका संगठन विस्तारका लागि सक्रियता देखाएका छन् । हालै भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राप्रपा, राप्रपा(प्रजातान्त्रिक) र एकीकृत राप्रपा(राष्ट्रवादी) भएर प्रतिष्पर्धा गरेका कारण पराजय भोगेको अनुभव तीनै दललाई छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री राजाराम श्रेष्ठले मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माणको खाँचो रहेकाले एकीकृत दल बनाउन विभिन्न दलका नेतासँग अनौपचारिक छलफल शुरु भइरहेको जानकारी दिए ।
 
मुलुकमा बहुदलीय व्यवस्था शुरुआत भएसँगै पूर्व प्रधानमन्त्रीद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले २०४७ साल जेठ १५ गते दुई राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना गरेर संगठन विस्तारको शुरुआत रेका थिए । निर्वाचन आयोगमा दल दर्ता हुँदा तिनको नाम राप्रपा(थापा) र राप्रपा(चन्द) थियो । समय समयमा सोही पार्टी विभिन्न भागमा छरिएर राष्ट्रियता, प्रजातन्त्र, जनताको समृद्धिको विषय उठाउँदै नेताहरूले राजनीतिक गतिविधिमा केन्द्रित हुने त कहिले एकताबद्ध भई पुराना अनुभव, धर्म तथा संस्कृतिको संरक्षणका लागि राजनीतिक आवाज उठाउँदै आएका छन् ।

विसं २०४८को आमनिर्वाचनमा राप्रपा(चन्द)बाट तीन र राप्रपा(थापा)बाट एक जना विजयी भएकामा पछि एकीकृत भएपछि प्रतिनिधिसभामा २० जना सांसदसम्म विजयी गराई नेकपा एमाले र नेपाली काँग्रेससँग मिली थापा र चन्द दुवै जना संसदीय प्रजातान्त्रिक प्रणालीमा प्रधानमन्त्री बन्न सफल भए ।

संविधासभा निर्वाचनमा तत्कालीन राप्रपा (नेपाल) र राप्रपाबाट गरी कूल ३७ जना सांसदसम्म भई दलका नेताहरु उपप्रधानमन्त्री र मन्त्रीहरु भए । स्थानीय तह र प्रदेशसभामा केही स्थान पाए पनि प्रतिनिधिसभा निर्वाचनमा भने झापा–३ मा मात्र वाम गठबन्धनसँग सहकार्य गरी महामन्त्री राजेन्द्र लिङ्देन मात्र राप्रपाबाट विजयी भए । तीनै दल राष्ट्रिय दल हुनबाट चुके ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा तथा विभिन्न राष्ट्रवादी मोर्चासँग एकीकरण गर्नेलगायत विषयमा छलफलका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बोलाएको छ । पार्टीका प्रवक्ता भुवन पाठकका अनुसार एकताका गृहकार्य भइरहेको भए पनि त्यसको वैचारिक आधार प्रष्ट भइसकेको छैन ।

पूर्वपञ्चका दल एकताबद्ध भई बलियो संगठन निर्माणका लागि यसअघि पनि केही नेताहरूले प्रयत्न गरेका थिए । अहिले सबै दलका नेताले व्यक्तिगत स्वार्थ त्यागेर मुलुक र जनताको आवश्यकतालाई प्राथमिकतामा राखी एकता प्रक्रिया अगाडि बढाउनुपर्ने विचार एकीकृत राप्रपा (राष्ट्रवादी) का सहमहामन्त्री प्रदीपविक्रम राणाले व्यक्त गरे।

राष्ट्रिय चरित्र बोकेका संस्थाले मात्र मुलुकमा विभिन्न जाति तथा समुदायबीचको एकतालाई निरन्तर कायम राख्न सक्ने मान्यतालाई स्थापित गराउनसके चाँडो एकता कायम हुन सक्ने सोही पार्टीका नेता सुन्दर पाण्डेले बताए ।

ती पार्टीका दोस्रो पुस्ताका केही नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिले पनि तीन वटै दलका अध्यक्षले नेतृत्व बाहिर बसेर पार्टीको अभिभावकत्व लिनुपर्ने र पार्टीको नयाँ नाम राखेर नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने सुझाव दिएका छन् । तीन वटै दलको औपचारिक बैठकमा सो विषयमा छलफल गरिने बताइएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ