arrow

नयाँ राष्ट्रपतिका लागि राष्ट्रपति भण्डारी र लक्ष्मी राईको उम्मेदवारी मनोनयन दर्ता

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
rastrapati-candidate-bidhya-laxmi.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन् ।  

यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उनले बुधबार उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । 

उनका प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् । 

राष्ट्रपति भण्डारीले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराएकी हुन् । 

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

नेकपा एमालेले मंगलबार वर्तमान राष्ट्रपति भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ । 

त्यसैगरी नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन् ।  

यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोजपुरका शहीद दिवानसिंह राईकी सुपुत्री लक्ष्मी राईले उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । 

उनका प्रस्तावकमा सांसद चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले हुन् ।  

उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँगै कुरा गर्दै नेत्री राईले आफ्नो उम्मेदवारी विकास र समृद्धिका लागि भएको बताइन् । 

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

काँग्रेसको आजै बसेको केन्द्रीय कार्यसमिति बैठकले उहाँलाई पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेत्री राईको उम्मेदवारी मनोनयनका क्रममा पार्टीका तर्फबाट महामन्त्री डा शशाङ्क कोइराला, नेता डा मीनेन्द्र रिजाललगायत उपस्थित थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ