चलचित्र 'प्याड म्यान' को प्रभाव - महिला दिवसमा पुरुषलाई सेनेटरी प्याड
प्रकाशित २०७४ फागुन २४ बिहिबार
280
Shares
काठमाडौं । सेनेटरी प्याडलाई लिएर बनाइएको अक्षय कुमार अभिनित चलचित्र 'प्याड म्यान' ले भारतमा सकरात्मक छाप छोडेसँगै नेपालमा पनि प्रभाव पारेको छ । एक सय आठौँ ‘अन्तर्राष्ट्रिय महिला दिवस २०१८’ का अवसरमा बिहिवार पुरुषलाई सेनेटरी प्याड वितरण गरिएको छ ।
महिलामा हुने महिनावारि समान्य प्रक्रिया भएको भन्दै पदयात्रामा सहभागी पुरुषलाई महिलाको स्वास्थ्यलगायत महिनावारी स्वच्छतामा अझै जिम्मेवार बनाउन महिलाले महिनावारीमा लगाउने सेनेटरी प्याड वितरण गरिएको हो ।
सो अवसरमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुरुष हुनु भनेको महिला हिंसा गर्नु नभएको बताए । उनले ‘महिला हिंसाविरुद्ध पुरुष पदयात्रा’को उद्घाटन गर्दै उनले महिलामाथि हिंसा गर्ने पुरुष नै नहुने बताए । उनले भने, “हामीले प्रजातन्त्र गणतन्त्र पायौं, प्रविधिका पछिल्ला सबै सामग्री प्रयोग गरिरहेका छौं तर महिलामाथि हुने हिंसा घटेको छैन ।”
महिला हिंसाविरुद्ध पुरुषले महिलालाई साथ र सहयोग दिनुपर्ने बताउँदै उनले संविधानले दिएको समानताको हकलाई महिलाले भोग्नसक्ने सम्पूर्ण अवसर सिर्जना गरी असमानताको व्यवहारलाई हटाउनुपर्नेमा जोड दिए ।
नेपाल वातावरण पत्रकार समूह, फ्रिडम फोरम नेपाललगायत बीसभन्दा बढी संघसंस्थाद्वारा संयुक्त रुपमा आयोजित पदयात्रा भृकुटीमण्डपबाट शुरु भई भद्रकाली मन्दिर, शहीदढोका हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो ।