पाल्पा । तानसेन नगरपालिका घोरबण्डाकी ३१ वर्षकी पार्वती कुमाल महिला मजदुर हुन् । उनी दैनिक ज्याला मजदुरी गर्दै घरको दैनिकी चलाउँदै आएकी छन् । तर उनले दैनिक रुपमा पाउने ज्याला भने पुरुषको भन्दा कम हुने बताइन् । सँगै एउटै काम गर्ने पुरुषको भन्दा दुई सय रुपैयाँ कम ज्याला पाउने गरेको बताउँछिन् । आफु सँगै काम गर्ने पुरुषले पाँच सय रुपैया पाउदाँ आफुले ३ सय रुपैयाँ मात्र पाउने गरेको कुमाले बताइन् । उनी जस्तै रामपुरकी सविरन मियाँले बिहान ९ बजेदेखि साँभm ५ बजे सम्म घर बनाउने मिस्त्री काम गर्छिन् ।
उनले पुरुष सरह नै दिनभर मिस्त्री काम गरेर रु पाँच सय बुझ्दै आएकी छिन् । उनी मिस्त्री काममा पुरुष भन्दा कुनै कम छैनन् । तर उनले ज्यालामा पुरुष समान ज्याला बुझ्न पाएकी छैनन् । पैसा कम भयो भने ठेकेदारहरुले भोलि देखि काममा नआउन भन्छन्, त्यसैले बाध्य भइ जति दिए पनि काम गर्न बाध्य भएको छु, मजदुरी मियाँले गुनासो गरिन । पुरुषले भन्दा बढी काम गरे पनि कामको मूल्याङ्कन हुदैन । काम नगरे साझाँ जुलो बाल्न सकिदैन त्यसैले कम पैसामा भए पनि काम गर्न बाध्य छौं उनले भनिन् । उनीहरु जस्तै जिल्लामा सयौं महिला मजदुरहरु दैनिक मजदुरी गर्दै आएका छन् । तर उनीहरु पारिश्रम भने पुरुषहरु भन्दा केही कमी पाउने गरेको बताउँछन् । यो निर्माण जन्य कार्यमा काम गर्ने महिला मजदुरको पिडा मात्र होइन अन्य क्षेत्रमा काम गर्ने महिलाहरुको पिडा पनि कम छैन । दैनिक ८÷ १० घण्टा सम्म काम गरे पनि मासिक ५ ÷ ६ हजार रुपैयाँ मात्र पारिश्रम पाउने गरेको महिलाहरु बताउँछन् ।
काम गर्दा र सीप हुदाँ हुदै पनि महिलाहरुलाई पुरुषको तुलनामा ज्यालादारीमा विभेद उत्तिकै कायम छ । दिनभर पुरुष सरह घर,भवन बनाउने,सडक बनाउने जस्ता काममा संलग्न महिलाहरुलाई पुरुषको तुलनामा आधा ज्याला दिने गरेको पाइन्छ । सिमेन्ट घोल्ने,तार जाली बुन्ने,घरमा ईट्टाको गारो लगाउने लगायतका सबै काम महिलाले पुरुष सरह नै गर्छन् तर महिला भएकै कारण ज्यालामा ठगीएका छन् ।
काम र सीप अनुसार समान ज्याला दिदै आएको रामपुरका निर्माण व्यवसायी मनबहादुर लामा बताउँछन् । मजदुरहरुलाई दिनमा आठ घण्टा काम गरेवापत एक दिनको न्युनतम पाँच सयदेखि बढीमा आठ सम्म काम हेरेर महिला पुरुष नभनीकन ज्याला दिएको लामाले जिकिर गरे । सीप र मेहनतका हिसाबले महिला पनि पुरुष सरह नै जुनसुकै काममा सक्रिय छन् । तर पनि महिलामाथी कुदृष्टि राख्ने,महिलालाई उपेक्षाले हेर्ने,त्यसैमाथी समान काम, ज्यालामा विभेद भने हाम्रो समाजमा विद्यमान नै छ ।
नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा तानसेन नगरपालिकाकी उपमेयर लक्ष्मी पाठकले जिल्लामा महिला श्रमीकहरु असमान ज्याला पाउन बाध्य भएकाले नगरपालिकाले यस सम्वन्धि छुट्टै कानुन बनाएर लैजान आफले पहल गर्ने बताइन् । प्रत्येक वर्ष विभिन्न नारा सहित महिला दिवस मनाउदै आएका महिला अधिकार कर्मीहरु पनि नारा अनुसारको समाजमा परिवर्तन नभएको बताउँछन् ।