arrow

कम्युनिष्ट र राजाले सरकार चलाउँदाको अस्थिरताको हिसाव काँग्रेससँग माग्दै एमाले नेता

०४८ साल यता कुन दलले कति दिन सत्ता चलाए ?

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
Gshaha_Mnepal_kpoli.JPG

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सांसद् गगन थापाले आईतबार संसद्मा बोलेको विषयलाई लिएर नेकपा एमालेका प्रचार विभागका सचिव विष्णु रिजालले प्रजातन्त्र पुनर्स्थापना यता पहिलो जननिर्वाचित सरकार गठन भएयताको २५ वर्ष सरकार चलाउँदाको जवाफ माग गरेका छन् । गगन थापाले आईतबार प्रतिनिधि सभामा सरकारको आजदेखि नै दिनगन्ती सुरु भएको र हरेक दिनको हिसाव माग्ने बताएका थिए । 

एमालेका प्रचार विभाग सचिव रिजालले आईतबार साँझ आफ्नो ट्वीटर मार्फत् बाम गठबन्धनको सरकारले प्रत्येक दिनको प्रगतिको जवाफ दिने भन्दै जनता तपाईंहरूसँग २५ बर्षको अस्थिरता, विकृति र कुशासनको हिसाब चाहन्छन् हिम्मत छ ? भन्ने प्रश्न गरेका थिए । रिजालले लेखेका छन् 'आज संसदमा गगन थापाले सरकारसँग प्रत्येक दिनको हिसाब माग्ने बताउनुभएछ । राम्रो कुरा हो, हामी तयार छौं, हिसाब दिन्छौं । याद रहोस् - जनता तपाईंहरूसँग २५ बर्षको अस्थिरता, विकृति र कुशासनको हिसाब चाहन्छन् । हिम्मत छ ?'

रिजालले ०४८ साल यताका २५ बर्षको हिसाव मागिरहँदा २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएयता ६ कम्युनिष्ट प्रधानमन्त्रीको हिसाव पनि काँग्रेसले नै दिनुपर्ने होकी हैन भन्ने बारेमा भने खुलाएका छैनन। उनको शैली भने सबैको जवाफ काँग्रेसले नै दिनुपर्ने खालको छ। प्रतिगमनको विरुद्धमा काँग्रेस सडकमा आन्दोलन गरिरहँदा प्रतिगमन आधा सच्चियो भनेर सरकारमा एमाले समेत सहभागी भएको सरकारको हिसाव पनि काँग्रेसले नै दिनुपर्ने शैलीमा रिजालले प्रश्न गरेका छन् । 

पटक पटक कम्युनिष्ट प्रधानमन्त्री रहेको बेलाको र राजाको महत्वाकांक्षाले २०५९ असोजदेखि ४ वर्ष भन्दा बढी सत्ता लिएको बेलाको हिसाव पनि रिजालले काँग्रेससँग खोजेका छन्। त्रिशंकु संसदका बेला एमालेले आफ्नो समर्थनमा लोकेन्द्र बहादुर चन्दलाई सरकारको नेतृत्वमा पुर्‍याउँदाको हिसाव पनि रिजालले काँग्रेससँग मागेका छन्।

२०४८ सालमा गिरिजाप्रसाद कोइराला जननिर्वाचित प्रधानमन्त्री भए यताका १० हजार ६ सय ३३ दिनमा नेपाली काँग्रेसले नेतृत्व गरेर करिव आधा समय मात्र सरकार चलाएको छ भने बाँकी आधा समय कम्युनिष्ट र राजाले सरकार चलाएका छन् । यस बीचमा मनमोहन अधिकारी बाहेक पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल, डा बाबुराम भट्टराई र केपी ओली प्रधानमन्त्री भइसकेका छन्। प्रचण्ड र ओली दुई पटक प्रधानमन्त्री भएका छन्। 

नेपाली काँग्रेसले यस समयमा ६ हजार ५२ दिन सरकारको नेतृत्व गरेको छ। यस ६ हजार ५२ दिन मध्येको ८ सय ४६ दिन भने लोकतन्त्र वहाली पछि बनेको गिरिजा प्रसाद कोइरालाको नेतृत्वको सरकारमा एमाले र माओवादी समेत सहभागि भएका थिए। संयुक्त सरकारको यो ८ सय ४६ दिन दिन घटाउने हो भने ५ हजार २ सय ६ दिन मात्र काँग्रेस एक्लैले सरकारको नेतृत्व गरेर सरकार चलाएको देखिन्छ।

यस हिसावले पनि एमाले लगायतका केहि दलले भन्ने गरेको २५ बर्षको कुशासनको जिम्मा भन्ने आरोप स्वत गलत देखिन्छ। त्यसरी हेर्ने हो भने त्यसको आधा हिस्सा कम्युनिष्ट दलहरु र राजाको प्रत्यक्ष शासनलाई जान्छ। यस बीचमा दोस्रो संविधानसभाको चुनाव गराउन आएको खिलराज रेग्मीको ३ सय ३४ दिनलाई पनि जोड्नु पर्ने हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ