arrow

मन्त्रिपरिषद् विस्तारबारे ओली र प्रचण्डको एकैबोली 

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
oli-prachanda2.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् । 

राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारसँगको कुराकानीमा उनले सम्बन्धित दलहरुसँग छलफल चलिरहेको र चाँडै सरकारले पूर्णता पाउने बताएका हुन् । 

प्रधानमन्त्री ओलीले विभिन्न चरणका निर्वाचन सम्पन्न भए पनि संक्रमणकालका केही विकृत प्रवृत्ति कायम रहेकाले सुशासन र समृद्धिको दिशामा अघि बढ्न केही चुनौती भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत बनाउन आफूहरु प्रयत्नशील रहने बताए ।

संविधान र कानून बमोजिम संवैधानिक अंगहरुलाई निष्पक्ष र विवादरहित बनाउनुपर्ने भएकाले कतिपय अवस्थामा विभाजित बनाउने प्रवृत्ति पनि निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए । 

यता, पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रुपमा पूरा भएको बताएका छन् । 

संघीय संसद् भवन परिसर बानेश्वरमा राष्ट्रपति पदका लागि मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेला संविधान कार्यान्वयनका लागि स्थानीय तह निर्वाचनबाट प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

“स्थानीय तहको निर्वाचनसँगै शुरु भएको संविधान कार्यान्वयनको प्रक्रिया राष्ट्रपतिको निर्वाचनपछि आधारभूत रुपमा पूरा भएको छ, निर्वाचनमा जनताले उत्साहपूर्ण सहभागिता जनाएका छन्, अबको यात्रा विकास र समृद्धितिर हुनेछ”, उनले भने । 

सरकारले कहिले पूर्णता पाउँछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले मंगलबारै प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा छलफल भएकाले एक दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ