arrow

के यी प्रधानमन्त्री टोकूवा नै हुन् त ? 

प्रधानमन्त्री ज्यू, पीठ्यूँ पछाडि तपाईंलाई यस्तै शब्दले सम्बोधन गर्दा नराम्रो लाग्छ कि लाग्दैन ?

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
kp-oli-final.jpg

काठमाडौं । २०५६ असार २३ गते वुधबार लुफ्थान्सा एयरलाइन्सको विमान काठमाडौंको भष्मासुर डाँडामा दुर्घटना हुँदा, काँग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेको सातौं दिन थियो । त्यो दिन विमानमा सवार पाँचै जनाको ज्यान गयो ।

देउवा प्रधानमन्त्री बनेको हप्ता दिन नबित्दै विमान दुर्घटना भएपछि नेपाली समाजले उनलाई अलच्छिना प्रधानमन्त्री भन्यो । तर देउवा चार पल्ट प्रधानमन्त्री बने । पछिल्लो पल्ट गएको सोमबार काठमाडौंमै (त्रिभुवन विमानस्थल) ५१ जनाको ज्यान जाने गरी यूएस बंगला विमान दुर्घटना भयो । एमाले अध्यक्ष केपी शर्मा ओली दोश्रो कार्यकालका लागि प्रधानमन्त्री बनेको २५अाैँ दिनमा । जनताको मन जित्न (?) सिपालु ओलीले विमानस्थल पुगेर उद्धार कार्यलाई तीव्रता दिन नेपाल नागरिक उड्यन प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिए। हालसम्म मुलकमा ८ पटक अन्तर्राष्ट्रिय, र आन्तरिकतर्फ ८० भन्दा बढी विमान दुर्घटना भए । 

नेपालमा विदेशी एयरलाइनका विमान दुर्घटनाको शुरुवात काँग्रेस नेता मातृका प्रसाद कोइराला प्रधानमन्त्री बन्दादेखि शुरु भएको हो । २०११ फागुन २५ मंगलबार बाराको सिमरामा कालिङ्गा एयरको विमान दुर्घटना भयो । २ जनाको ज्यान गयो । विमानमा सवार १ जना बँचे । यही थियो नेपालमा दुर्घटना भएको पहिलो अन्तर्राष्ट्रिय विमान । २०१३ जेठ २ मंगलबार इण्डियन एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको ज्यान गयो, १९ जना बाँचे ।

त्यो बेला प्रधानमन्त्री थिए नेपाल प्रजापरिषदका नेता टंक प्रसाद आचार्य । राष्ट्रप्रमुख थिए महेन्द्र । टंक प्रसादलाई हटाएर महेन्द्रले एकिकृत प्रजातान्त्रिक पार्टीका कुँवर इन्द्रजीत सिंहलाई प्रधानमन्त्री बनाए । उनको पालामा तेश्रो विदेशी विमान दुर्घटना भयो, २०१४ चैत ११ सोमबार, पात्लेभञ्ज्याङमा । त्यो दिन भएको इण्डियन एयरलाइन्सको विमान दुर्घटनामा विमानका सबै २० जनाको ज्यान गयो । 

त्यसयता ३२ वर्षसम्म नेपालमा अन्तर्राष्ट्रिय विमान दुर्घटना भएन । २०४९ साउन १६ शुक्रबार नुवाकोटको घ्याङफेदीमा भएको थाइ एयरवेजको विमान दुर्घटना त्रासदीपूर्ण थियो । जहाँ, ११३ जनाको ज्यान गयो, प्रधानमन्त्री थिए, काँग्रेसका गिरिजा प्रसाद कोइराला । २०४९ कै असोज १२ सोमबार ललितपुरको भट्टेडाँडामा १ सय ६७ जनाको ज्यान जानेगरी पाकिस्तान एयरको विमान दुर्घटनाभयो । प्रधानमन्त्री गिरिजाप्रसाद नै थिए । 

त्यसको करीब १६ वर्षपछि नेपाली भूमिमा अर्को विदेशी विमान दुर्घटना भयो २०७१ फागुन २० बुधबार, त्रिभुवन विमानस्थलमा । टर्किस एयरको विमान धावन मार्गमै चिप्लिए पनि यात्रु हताहत भएनन्, प्रधानमन्त्री थिए, सुशील कोइराला ।  

त्यसो त नेपालको करीब ६० वर्षे (सन् १९९५८ जुलाइदेखि आर एनएसी, त्यसअघि नेपालको आफ्नै वायु सेवा थिएन, नागरिक उड्डयन प्राधिकरण सन् १९५७ मा स्थापित) हवाइ यातायातको इतिहासमा पद्मशमशेर जंगबहादुर राणादेखि केपी ओलीसम्मको कार्यकालमा ८० भन्दा बढी विमान दुर्घटनामा परेका छन् ।

ती दुर्घटना मध्ये गिरिजाप्रसाद कोइरालाको पालामा ८, देउवाको पालमा ४, सूर्य बहादुर थापा, कृष्ण प्रसाद भट्टराई, माधव नेपाल, सुशील कोइराला र कीर्तिनीधि विष्टको पालामा ३–३, बाबुराम भट्टराई र लाकेन्द्र बहादुर चन्दको पालामा २–२ तथा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, तुलसी गिरी, सूवर्ण शमशेर, टंक प्रसाद आचार्य र मातृका प्रसाद कोइरालासहित वर्तमान प्रधानमन्त्री ओलीको पालामा एक-एक पल्ट विमान दुर्घटना भएका छन् (हेलिकोप्टर बाहेक) । 

पछिल्लो पल्ट ओली सरकारको हनिमून पिरियडमा अर्को अन्तर्राष्ट्रिय विमान दुर्घटना भएको छ । ओलीले बुटवलमा गएर भाषण गर्दा एउटा शब्द प्रयोग गरे नेपाली जनजीब्रोको भाषामा “अलच्छिना'' । एमालेको मेची महाकाली जागरण अभियानको क्रममा २०७३ साल फागुन अन्तिम साता ओलीले तत्कालिन प्रचण्ड नेतृत्वको सरकारलाई 'अलच्छिना' भनेकै हुन् । त्यो बेला दिनदिनै गाडी दुर्घटना हुने गरेको प्रसंग निकाल्दै ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई 'अलच्छिना' भनेका थिए । 

विहे गरेको केही समयमै श्रीमान्को मृत्यु भएमा, नेपाली समाजमा “पीठ्यूँ पछाडि” महिलालाई अपमान गर्न एउटा शब्द अझै प्रयोग गर्छन् “पोइ टोकुवाई अलच्छिना” भनेर । प्रधानमन्त्रीको हनिमून पिडियडमै ओलीमाथि यस्तै शब्द प्रयोग होला कि नहोला टोकूवा प्रधानमन्त्री भनेर ? प्रधानमन्त्री ज्यू, पीठ्यूँ पछाडि तपाईंलाई यस्तै शब्दले सम्बोधन गर्दा नराम्रो लाग्छ कि लाग्दैन ? यदि नराम्रो लाग्छ भने, ती महिलालाई कस्तो लाग्दो हो, जसका श्रीमान् आफ्नै कालगतिले बित्छन् अनि उनीहरुलाई समाजका मतिभ्रष्टहरुले पोइ टोकूवाई अलच्छिना भन्छन् ! 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ