arrow

चीनको राष्ट्रपतिमा सि चिनफिङ सर्वसम्मत निर्वाचित

logo
प्रकाशित २०७४ चैत ३ शनिबार
xijingping.jpg

बेइजिङ । चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट चिनियाँ वर्तमान राष्ट्रपति सि चिनफिङ नै पुन: निर्वाचित भएका छन् ।  चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उनलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

केन्द्रिय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित भएका सि हाल ६४ बर्षका छन् । उनले निर्वाचित भएलगत्तै संविधानअनुसार ग्रेट हल अफ द पिपुल्समा सपथ ग्रहण पनि गरिसकेका छन् ।  चिनियाँ राष्ट्रपतिले यस्तो तरिकाले सपथ लिएको यो पहिलो पटक हो ।  गत अक्टोबरमा उनि चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएका थिए ।

गत सन् २००७ मा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटिकल व्युरोको स्थायी समिति सदस्यका रुपमा केन्द्रिय नेतृत्वमा जोडिएका सि छोटो समयमै अहिले सर्वाधिक शक्तिशाली नेता बन्न सफल भएका छन् । उनि अवदेखि अनिश्चितकालसम्म राष्ट्रपति बन्नेछन् । गत हप्ता चिनियाँ संसद्ले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाउने निर्णय गरेको थियो ।

राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए । त्यसपछि नै उनको कार्यकाल लम्विने स्पष्ट भएको थियो । उनले राजनीतिक शक्ति आफूमा केन्द्रित गर्दै पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल भएका छन् ।  

संसद्ले सिका निकट मानिएका  भ्रष्टाचारविरोधी अभियान्ता वाङ चिसानलाई पनि शनिबार नै उपराष्ट्रपतिमा निर्वाचित गरेको छ । राष्ट्रिय जनकंग्रेसको १३औ बैठकको पहिलो चरणमा सहभागी झण्डै तीन हजार सांसदहरुले उनलाई निर्वाचित गरेका हुन् ।

उनि निर्वाचित भएको घोषणा भएलगत्तै उनिसँग नवनिर्वाचित राष्ट्रपति सि चिनफिङले हात मिलाएर बधाई दिएका थिए । उपराष्ट्रपति वाङले पनि शनिबार नै सपथग्रहण गरिसकेका छन् ।  सन् १९४८ मा जन्मिएका वाङ विगत केही बर्ष देखि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय तहमा रहेका छन् ।  सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ