arrow

रुसले २३ जना बेलायती कूटनीतिज्ञलाई निकाल्यो

logo
प्रकाशित २०७४ चैत ३ शनिबार
russiandiplomats.jpg

मस्को, रसिया । पूर्व रसियाली गुप्तचरमाथि भएको हमलालाई लिएर तनाव चुलिरहँदा रसियाले २३ जना ब्रिटिश कूटनीतिज्ञलाई निष्कासन गरेको शनिबार रसियाली विदेश मन्त्रालयले जनाएको छ । रसियाले उही विवादका कारण रसियास्थित एक बेलायती महाबाणिज्यदूतावासलाई पनि बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ ।

विदेश मन्त्रालयको यो निर्णय सम्भवत आइतबार हुने रसियाली राष्ट्रपतिको निर्वाचनपछि मार्च १८ गते रसियाली शक्तिशाली नेता भ्लादिमिर पुटिनलाई कार्यान्वयनका लागि अनुमोदन गर्न पेश हुनेछ ।

रसियाका लागि बेलायती राजदूत लौरी ब्रिस्टोसँग भएको कूटनीतिक वार्तापछि रसियाली विदेश मन्त्रालयले मस्कोस्थित बेलायतको दूतावासका कूटनीतिक कर्मचारीलाई आफ्नो मुलुकमा प्रवेश गर्न वा रहन प्रतिबन्धित विदेशी व्यक्तिका रुपमा घोषणा गरिएको जानकारी गराएको हो ।

रसियाली विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “पूर्व रसियाली गुप्तचरमाथि भएको हमलालाई लिएर तनाव बढेपछि बेलायती कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको छ । उनीहरूले एक साताभित्र रसियाबाट बाहिरिनु पर्नेछ ।”

मार्च ४ मा पूर्व रसियाली गुप्तचरमाथि भएको हमलामा रसियाको संलग्नता रहेको बेलायत सरकारले आरोप लगाएको छ । यसअघि बेलायतले पनि २३ रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।

पछिल्लो विवादको केन्द्रविन्दु अर्थात् हमलामा घाइते भएका पूर्व रुसी गुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरी युलिया अहिले पनि अस्पतालमा उपचार गराइरहेका छन् । उनहरूको अवस्था अझै पनि गम्भीर रहेको बताइएको छ ।

यसैबीच बेलायतले रसियाद्वारा यस किसिमको निर्णय आउने विश्वास गरेको बताउँदै तुरुन्तै (अर्को हप्ताको शुरुमा नै) बेलायतको राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने र आगामी कदमबारे निर्णय लिने बताएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ