arrow

यूएस बंगला विमान दुर्घटना : २३ शव बङ्लादेश पुर्‍याइयो

logo
प्रकाशित २०७४ चैत ५ सोमबार
us-banglas.jpg

ढाका । नेपालमा केहीदिन अगाडी भएको विमान दुर्घटनामा परी निधन भएका बङ्गलादेशी नागरिकहरुको शव सोमबार स्वदेश ल्याइएको छ ।  स्वदेश फिर्ता ल्याइएका २३ ओटा शवको सामुहिक शवयात्रा गराउने तयारी भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

बङ्गलादेशको वायु सेनाको मालवहाक विमानबाट ल्याइएका शवहरु हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।  राजधानी ढाकामा रहेको सो विमानस्थलमा उक्त विमान स्थानीय समय अनुसार दिउसो ४.५ बजे अवतरण गरेको थियो ।

विमानस्थलमा शव ल्याएका बेला सत्तारुढ दल अवानी लिग पार्टीका महासचिव तथा सडक यातायात मन्त्री ओबैडुल क्वेडर विमानस्थलमा पुगेका थिए ।  ल्याइएका शवहरु मध्ये विमानका चालक अबिद सुल्तान, सहचालक प्रिथुला राशिद र टोलीका सदस्यहरू खवाजा हुसेन मोहम्मद शाफी र शर्मिन अक्टेर नाविलालगायतका रहेका छन् ।

बङ्लादेशको निजी विमान कम्पनी युएस बङ्लादेश एयरलाइन्सको विमान यही मार्च महिनाको १२ गते नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो । विमानमा कुल ७१ जना यात्रु रहेका थिए ।

बङ्गलादेशको राजधानी ढाका स्थित सैनिक मञ्चमा शवहरू लगिएपछि सयौं आफन्त तथा सर्वसाधारणहरु दुःख व्यक्त गर्न भेला भएका थिए । सामुहिक शवयात्रापछि मृतकका आफन्तलाई शव हस्तान्तरण गरिने भएको छ ।

विमानमा रहेका ७१ जना मध्ये चार जना चालक दलका सदस्य र बाँकी ६७ जना यात्रु रहेका थिए । उनीहरु मध्ये ३२ जना बङ्गलादेशका नागरिक थिए भने ३३ जना नेपाली, एक एक जना चीन र माल्दिभ्सका नागरिक रहेका थिए ।  शवहरुको पहिचान गर्नु पर्दा ढिला भएकाले दुर्घटना भएको लामो समयपछि मात्रै शवहरु स्वदेश ल्याइएको हो । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ