काठमाडौं । माओवादी केन्द्रका नेता रामबहादुर थापा हुन् अहिलेको बहालवाला गृहमन्त्री । उनले अब आफुलाई गृहमन्त्री मात्रै राखेनन्, उनी अहिले निरीक्षणमन्त्री पनि । उनको दैनिकी अहिले निरीक्षणमा बढी वितिरहेको छ ।
मंगलबार एकाविहानै सुन्धारास्थित केन्द्रीय कारागार पुगेका गृहमन्त्री थापा, डिल्लीबजार कारागार पनि पुगे । त्यतिमात्र होइन, उनले एकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के जाँच गर्न समेत भ्याए ।
गृहमन्त्रीको सपथ लिएको भोलिपल्ट फागुन १५ गते विहान प्रहरी संगठन र सुरक्षा अवस्थाबारे बुझ्न भन्दै थापा प्रहरी प्रधान कार्यालय हानिए । त्यहाँबाट सुरु भएको उनको निरीक्षण यात्रा अहिले बढ्दै गएको छ । अहिले त उनले निरीक्षणलाई रेलकै गति दिएका छन् । दिनमा तीन- चार ठाउँकै निरीक्षण गर्न भ्याउँछन्, गृहमन्त्री थापा ।
पछिल्लो समय उनी सामाजिक सञ्जालमा पनि निकै छाएका छन् । कैलाली कारागारामा पुर्पक्षका लागि थुनामै रहेका बेला अनसन बसेपछि स्वास्थ्य खराब भएको सुनेर राजपाका सांसद रेशम चौधरीलाई उनले हेलिकोप्टरमा काठमाडौं ल्याउन लगाए ।
पछि उनैले गएर जुस पिलाएर अनसन तोडाए । त्यतिमात्रै होइन जेलभित्रै प्रतिनिधिसभा सदस्यको सपथ ग्रहणको प्रबन्ध समेत मिलाएको कुरा बाहिर चुहियो । जसकारण उनी अहिले बढी चर्चामा छन् । यतिसम्म कि प्रधानमन्त्री ओलीले उनलाई निरीक्षण मन्त्री नै बनाईदिएका हुन्, जस्तो ।
अपराध कर्म गर्नेसँग भेट
रेशम चौधरीलाई जुस खुवाकै कारण चर्चामा रहेका उनले केन्द्रीय कारागार पुगेर उनले कुख्यात अपराधी भनिएका चार्ल्स शोभराज र डिल्ली बजार जेलमा रहेका पूर्व सांसद बालकृष्ण ढुङ्गेललाई भेटे ।
मंगलबार विहान सुन्धारास्थित केन्द्रीय कारागार, भद्रगोल जेल र महिला कारागर पुगेका थिए, उनी । सबैतिर घुमफिर गरेपछि थापा डिल्लीबजारस्थित सदरखोर कारागार पुगे ।
केन्द्रीय कारागारमा उनले चार्ल्स शोभराजलाई मात्रै भेटेनन् । पूर्व माओवादी नेता पुष्कर गौतमलाई पनि भेटे ।
शोभराजसँग खासै कुराकानी गरेनन् । तर, गौतमसँग भने उनले केही समय कुराकानी गरे ।
द्वन्द्वकालमै माओवादी परित्याग गरेका गौतम ओखलढुङ्गाका उज्वनकुमार श्रेष्ठको हत्या अभियोगमा गएको ४ वर्षदेखि जेल सजाय काटिरहेका छन् ।
द्वन्द्वकालीन घटना सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट टुंग्याउनु पर्ने बताउँदै आएको माओवादी केन्द्रले आफुरुलाई छुटाउन पहल नगरेको भन्दै उनले गृहमन्त्रीसँग गुनासो गरे ।
जवाफमा गृहमन्त्री थापाले द्वन्द्वकालीन घटना वृहद शान्ति सम्झौताको विषय भएको बताउँदै त्यसै अनुरुप छुटाउन पहल गरिने आश्वासन दिएर फर्किए ।
डिल्लीबजार पुगेका गृहमन्त्री थापाले ढुङ्गेलसँग पनि कुरा गरे । ढुंगेलले आफू लगायत १५–१६ जना राजनीतिक प्रकृतिका बन्दीहरु रहेको सुनाउँदै रिहाईको पहल गर्न आग्रह गरे । प्रधानमन्त्री केपी ओलीले सबै मन्त्रीलाई एउटै टेबुलमा राखेर निर्देशन दिएपछि सबै भन्दा बढी गृहमन्त्री थापा नै सक्रिय भएका छन् । उनलाई निरीक्षण गरी भ्याईनभ्याई छ ।