काठमाडौं । पर्यावरण, स्वास्थ्य, कृषि र व्यापार सहित जीवनका हरेक पक्षमा पानीको महत्वबारे जागरण बढाउन विहिबार (मार्च २२) विश्व पानी दिवस मनाइँदैछ । पानी दिवसमा विश्वभर नै स्थानीय र राष्ट्रियस्तरमा विभिन्न कार्यक्रम गरिन्छ ।
नेपाल सरकारले सन् २०१७ सम्ममा सबैमा आधारभूत खानेपानी पुर्याउने लक्ष्य राखे पनि यो अबधिमा ८७ प्रतिशत मात्रै लक्ष्य पुरा भएको, खानेपानी सरसफाइ वातावरण महाशाखाले जनाएको छ । सरकारले २०३० सम्ममा सबैमा गुणस्तरयुक्त खानेपानीको पहुँच पुर्याउने लक्ष्य पनि राखेको छ ।
नेपालका ९० प्रतिशत संघसंस्थाले कुनै न कुनै रुपमा खानेपानीको क्षेत्रमा काम गर्ने गरेको दाबी पनि गरिन्छ । खानेपानी क्षेत्रमा काम गर्ने खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले आफ्नो शाखा ६० जिल्लामा विस्तार गरिसकेको छ ।
राष्ट्रसंघको आव्हानमा सन् १९९२ देखि वर्षेनी मार्च २२ को दिन पानी दिवस मनाउने गरिएको हो । यो वर्षको पानी दिवसको मुख्य नारा “पानीको लागि प्रकृतिमा आधारित समाधान” तय गरिएको छ । विश्व पानी दिवसको सन्दर्भ पारेर नेचर बेस्ड सल्युशन फर वाटर ले दिएका केही तथ्यांक :
पानीको बढ्दो अभाव
- सन् २०१५ लाग्दै गर्दा १ अर्ब ९० करोड जनसंख्या (विश्व जनसंख्याको करीब २७ प्रतिशत) लाई पानीको चरम अभाव, ३ अर्ब ६० करोडलाई वर्षको १ महिना पानीको संकट थियो । सन् २०५० सम्म ५ अर्ब ७० करोडलाई वर्षको एक महिना पानीको संकटमा पर्ने । तीमध्ये एशियाका मात्रै ६९ प्रतिशत (ब्यूरेका एट अल, २०१६ । )
पानीको गुणस्तर
- १९९० ताकानै अफ्रिका, एशिया र लेटिन अमेरिकाका प्राय सबै नदीमा जलप्रदुषण (UNEP,2016a)
- पानीको खस्कँदो गुणस्तरले मानव स्वास्थ्य, वातावरण र दिगो विकासमा धक्का ।
- औद्योगिक र महानगरीय क्षेत्रबाट फालिने ८० प्रतिशत पानी बिना कुनै उपचार वातावरणमा जाने, मानव स्वास्थ्य र पर्यावरणमा ठूलो खतारा (WWAP,2017)
भयंकर क्षति
- बाढी र खडेरीका कारण विश्व अर्थतन्त्रमा बार्षिक ४० अर्ब अमेरिकी डलरको क्षति । आँधीबाट बार्षिक औषत ४६ अर्ब डलर क्षति । अफ्रिका र एशिया बढी प्रभावित । सन् २०३० सम्म यस्तो क्षति २०० देखि ४०० अर्ब डलरसम्म पुग्ने (OECD,2015)
- १९९२ देखि बाढी, खडेरी र आँधीले ४ अर्ब २० करोड जनसंख्या प्रत्यक्ष प्रभावित र विश्वभर १ खर्ब ३० अर्ब अमेरिकी डलरको आर्थिक क्षति (UNESCAP/UNIDR,2012)
- बाढीले मात्रै १९९५ यता ४७ प्रतिशत जल उत्पन्न प्रकोप निम्त्याएको र २ अर्ब ३० करोड जनसंख्या प्रभावित । भू–क्षयिकरण, मरुभूमिकरण र खडेरीका कारण हाल १ अर्ब ८० करोड जनसंख्या प्रभावित ।
पानीको माग
- विश्वभर पानीको माग : ४६०० घनकिलोमिटर, वर्षेनी ३० प्रतिशतसम्म माग बढ्दै, २०५० सम्म माग ६००० घनकिलोमिटर (ब्यूरेका एट अल २०१६) ।
- विश्वभरको पानीको मात्रामध्ये १० प्रतिशत घरेलु प्रयोजनमा खपत । २०५० सम्म अफ्रिका र एशियामा घरेलु प्रयोजनका लागि पानीको प्रयोग ३ गुना बढ्ने प्रक्षेपण –ब्यूरेक एट अल, २०१६ ।
- कृषिका लागि जमिनको पानी ८०० घनकिमी प्रतिवर्ष । भारत, अमेरिका, चीन, इरान र पाकिस्तानमा मात्रै विश्वभर कृषिमा खपत हुने पानीको ६७ प्रतिशत प्रयोग
- सन् २०२५ सम्म कृषिका लागि ६० प्रतिशत र उर्जा (विशेष गरी खाद्यान्न र बिजुली) का लागि ८० प्रतिशतसम्म पानीको प्रयोग बढ्ने (अलेक्ज्याण्ड्राटस र ब्युरिन्स्मा, २०१२)
- २०५० सम्म विश्व जनसंख्या ९ अर्ब ४० करोडदेखि १० अर्ब २० करोडसम्म पुग्ने अनुमान, ती मध्ये शहरी क्षेत्रको जनसंख्या २ तिहाइ, ग्रामिण भेगमा १ तिहाई मात्र ।
हाल विश्वको ८० करोड जनसंख्या भोकमरीमा छ । सन् २०५० सम्म जनसंख्या ९ अर्ब नाघेमा भोकमरी टार्न ५० प्रतिशत उत्पादन बढाउनु पर्ने (FAO/IFAD/UNICEF/WFP/WHO,2017) को समग्र प्रतिवेदनले देखाएको छ । त्यसका लागि पानीको श्रोत जोगाउनुको विकल्पै छैन । र, यो पनिः २०३० सम्म पानीको श्रोत जोगाउने पूर्वाधारकै लागि १० खर्ब अमेरिकी डलर लाग्ने डोब्स एट अलको रिपोर्ट २०१३ ले देखाएको छ ।