arrow

सुरक्षा परिषदमा सिरिया हमलाबारे छलफल

सबैलाई एकताबद्ध हुन राष्ट्रसंघीय प्रमुखको आग्रह

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
un-security-council.jpg

संयुक्त राष्ट्रसंघ, न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरियामा जारी हिंसा तथा यहाँको हिंसामा प्रयोग भएको भनिएको रासायनिक एवम् घातक हतियारको प्रयोगका बारेमा चासो व्यक्त गरेका छन् ।

उनले यस बारेमा सुरक्षा परिषदका सबै सदस्य राष्ट्रहरुलाई एकताबद्ध हुन आग्रह पनि गरेको समाचारमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुलाई उनले सिरियाली सैनिकले पछिल्लो समयमा गुटा, इदलिबलगायतका क्षेत्रमा हमलागर्ने क्रममा यस्ता हतियारको प्रयोग गरेको भन्ने व्यापक गुनासो आएकोले यसका लागि सबैको ध्यानाकर्षण गराएका हुन् ।  

सिरियामा भएको घातक रासायनिक हतियारसहितको आक्रमणको छानविन गर्न छुट्टै संयन्त्रको माग भएका बेला उनको यो प्रतिक्रिया आएको हो ।

सिरियामा लगातार रासायनिक आक्रमण भइरहेको भन्दै मंगलबार सुरक्षा परिषदको बैठकमा सदस्य राष्ट्रहरुले जिम्मेवार र उत्तरदायी बनाउन छुट्टै संयन्त्र आवश्यक रहेको बताएका थिए ।

महासचिव गुथ्रेसका प्रवक्ता स्टेफन डुजेरिकले महासचिवको भनाई उद्धृतगर्दै भने — यस्ता हतियारको प्रयोग भएको पाइयो भने त्यो मानवमाथिको सबैभन्दा ठूलो जघन्य अपराध हो, त्यसैले यस्ता काममा संलग्न हुने सबैमाथिको कारबाहीका लागि एकताबद्ध भई कामगर्नु जरुरी छ ।

परिषद्का सदस्य राष्ट्रहरुले सिरियामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघनगर्दै भइरहेका गतिविधिहरु बन्दगर्न मंगलबार छुट्टै संयन्त्र बन्नुपर्ने विषयमा छलफल गरेका थिए ।

यस छलफलपछि उनको यो अभिव्यक्ति आएको हो । महासचिव गुथ्रेसले अपराधको छानबिन गरौँ र यदि यस्ता अपराधहरु प्रमाणित भएभने त्यसमा संलग्नहरुलाई कडा कारबाही गर्ने काममा सबैजनाको ऐक्यबद्धता जरुरी छ ।

रासायनिक आक्रमण गम्भीर प्रकारको हिंसा भएकाले यसमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने सुरक्षा परिषदका सदस्य राष्ट्रहरुको पनि जोड थियो ।

मार्च महिनामा परिषद्को अध्यक्षता गर्नुभएका राष्ट्रसंघका लागि डेनमार्कका राजदूत कारेलभान ओस्टेरोमले व्यक्तिगत, संस्थागत, समूहगत वा सरकारी तवरबाट यस्ता आक्रमणमा संलग्नहरुको खोजी गर्नुपर्ने बताए । महासचिव गुथ्रेसले यस्ता हतियारको प्रयोग युद्धअपराधसम्बन्धी कार्य हो भन्दै नागरिकको बाँच्न पाउने अधिकारको हनन् मात्र नभएर उनीहरुमाथिको जघन्य अपराध हो भनेका छन् ।  

गत महिना मात्र पनि अमेरिकाले सिरियाली सेनाले यस्ता हतियारको गरिरहेको भन्दै यदि अनुसन्धानबाट यस्तो पाइएमा सिरियामाथि युद्धअपराधमा कारबाही हुने बताएको थियो ।

अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी गुटा क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानवस्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो ।

सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरुलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारहरुको प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन् ।

महासचिव गुथ्रेसका प्रवक्ताद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा सिरियाली सरकारले सेनाले पछिल्लो समयमा जारी राखेको सिरियाली उत्तरी प्रान्त इदलिब, पूर्वी गुटालगायतमा यस्ता घातक हतियारको प्रयोग गरिरहेको सूचना आफूहरुलाई प्राप्त भएको जनाइएको छ ।

यदि यस्ता हातहतियारको प्रयोगको बारेमा सिरियामाथि हदैसम्मको कारबाही गरिने पनि महासचिव गुथ्रेसले जनाएको सो विज्ञप्तिमा उल्लेख छ ।

यस्ता आक्रमणका कारण यी क्षेत्रबाट मात्र चार लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन् । त्यस्तै ती क्षेत्रमा ठूलो संख्यामा बालबालिकासहित एक हजार भन्दा बढीको ज्यान पनि गएको छ ।

राष्ट्रसंघको शरणार्थीम्बन्धी सहायता निकायले यी पछिल्ला हवाई हमला र काबारहीका कारण चार लाखजना भन्दा बढी सिरियाली विस्थापित भएका जनाएको छ ।


उता सिरिया सरकारले भने विद्रोहीहरुका विरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको समाचारको खण्डन गरेको प्राप्त अर्को एक समाचारमा जनाइएको छ ।

सिरियाली सेनाले देशको पूर्वी गुटा क्षेत्रका साथै पछिल्लो समयमा इदलिब र हामामा पनि विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानवस्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको भनिएका बेला उसको यो प्रतिक्रिया आएको हो ।

सिरियाली विदेशमन्त्रालयले हालै एक विज्ञप्ति प्रकाशनगरी अमेरिकाले लगाएको सो आरोपको खण्डन गरेको छ । उसले सो विज्ञप्तिमा सिरियाले यस्ता हतियारको प्रयोग नगरेको स्पष्ट गरेको छ ।

सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरुलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारहरुको प्रयोग गर्ने गरेको भनी पहिलेदेखि अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन् ।

पछिल्लो समयमा गुटामा भएको ठूलो संख्याको नरसंहारमा यस्ता हतियार हानेको राष्ट्रसंघीय अधिकारीहरुले पनि अनौपचारिक रुपमा बताउने गरेका छन् ।

यसै विषयमा गहन रुपमा खोजी गर्नुपर्ने माग सुरक्षा परिषदको मंगलबारको बैठकमा उठेको छ । सोही बैठकपछि महासचिव गुथ्रेसले यस विषयलाई कडा अनुसन्धानको दायरामा ल्याइने बताउनुभएको हो । सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ