arrow

याे चप्पलकाे माला किन झुण्ड्याउनु भएकाे ? : गंगामायाकाे उत्तर- प्रचण्ड-बाबुरामलाई पहिराउन

अवस्था निकै नाजुक

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ चैत ८ बिहिबार
gangamaya_news.jpg

काठमाडौं । वीर अस्पतालको दोस्रो तला, ७ नम्बर क्याविन । उनै गंगामाया अधिकारीसँगको अर्को भेट । यो पटक उनको अवस्था मात्रै सोध्न छिरेकी थिए । तर, यो भन्दा अघिका भेट भन्दा अलिक भिन्न दृष्य आँखामा परे ।

अघिल्लो भेटमा १३ वर्ष पछि पोखिएको खुसीको तस्वीर कैद गरेकी थिए । यो पल्ट त्यस्तो दृष्य देखिँन । यो पल्ट गंगामायाले फेरि मलाई मर्न दिए हुन्थ्यो भन्ने नैराश्य पोखिन् । अहिले निकै गाह्रो भएको सुनाइन्, उनले । बेडमा पल्टिरहेकी उनले भनिन्, ‘अहिले त बस्दा, सुत्दा पनि गाह्रो हुन थालेको छ । शरीर पुरै पोलिरहेको छ । शरीर पुरै गलेको छ ।’ अब न्याय पाउनेमा पनि आशा मर्दै गएको सुनाइन्, उनले । यो पहिलो दृष्य हो ।

अर्को अाँखामै परेकाे दृष्य । उनी सुतेको बेडकै आडमा (दायाँपट्टी भित्तामा) दुई जोर थोत्रो चप्पल एउटा डोरीमा उनेर झुण्ड्याइएको थियो । जोसँगै आडमा नेपालको राष्ट्रिय झण्डा छ । अनि, त्यही भित्ताभरी अहिलेसम्म पत्रपत्रिकामा आएका समाचारका कटिङहरु टाँसिएका छन् । दिवंगत छोरा कृष्णप्रसादको तस्वीर पनि छ त्यही भित्तामा । त्यति भित्तो नियालेर बस्छिन् गंगामा । चप्पलको माला बाहेक सबै पहिले पनि थिए ।

दुई जोर थोत्रा चप्पल झुण्ड्याइएको बारे गंगामायालाई जिज्ञासा राखे । जवाफमा उनले भनिन्, ‘यो चप्पलको माला मेरो छोराका हत्यारालाई लगाइदिन राखेकी हुँ । जुन दिन अपराधिहरु भेटिन्छन् । त्यो नि यो माला पहिराउने छु ।’ तिनलाई संरक्षण दिने नेतालाई पनि चप्पलकै माला पहिराउन मन छ, उनलाई । उनले ति ठूला नेताकाे नामै लिइन् । उनले भनिन्, 'प्रचण्ड-बाबुराम भेटिए भने पनि यही माला पहिराउँछु । मलाई कतिपयले भन्लान् । याे 'बुढी'काे यत्राे अाँट । साँच्चै म भेटे भने प्रचण्ड-बाबुरामलाई याे माला लगाइदिन्थे ।' बाबुराम पत्नीकाे नाम पनि लिएकी थिइन, उनले ।

ति दुई जोर चप्पल अधिकारी दम्पतिले प्रयोग गरेकै मध्ये हुन् । न्याय माग्दै सर्वत्र धाउँदा–धाउँदा कति जोर चप्पल जुत्ता फाटे अधिकारी दम्पतीका । कति त सफा गर्नेले फालिदिए, उनले भनिन्, ‘यो चप्पल मैल सिरानीतिर बेड मुनि राखेकी थिए ।’ यि तिनै चप्पल हुन्, जतिबेला गंगामाया र दिवंगत पति नन्दप्रसाद अधिकारी न्याय माग्दै गोरखा फुजेलबाट काठमाडौँ आउँदा लगाएका थिए । ति चप्पलमै अनसन बसेका बेला प्रहरीले पक्राउ गरेको थियो, अधिकारी दम्पतीलाई । राज्यले पागल भनेर समेत भनेको थियो, गंगामायाले भक्कानिँदै ति दिन सम्झिइन्, ‘पागल भनेर थुनियो । औषधि दिइएको दियो । ति ३९ दिन कसरी विर्सनु ।’

छोरा नुरप्रसाद अधिकारीसहित अधिकारी दम्पतीलाई पक्राउ गरेको कुरा तत्कालीन प्रहरी प्रवक्ता गणेश केसीले स्वीकारेकै हुन् । केसीले नन्दप्रसाद अधिकारीको निधनअघि प्रहरीले यातना नदिएको सुनाएका थिए (फाइल कुराकानीबाट)। तर, पछि मानवअधिकारकर्मीले अधिकारी दम्पतीलाई छुटाएको कुरा कतै छुपेको छैन ।

न्यायको निम्ति लड्दा लड्दै पति वियोग व्यहोरेकी गंगामायाले थोत्रा चप्पलको माला तयार पार्नुले, उनमा छोराका हत्यारालाई कारबाही हुने झिनो आश अझै बाँकी छ भन्ने अनुमान गर्न सकिन्छ । तर, कहिले हो माला पहिराउन पाउनु ?

अहिले तत्कालीन विद्रोही माओवादी पनि सरकारमा छ । सशस्त्र संघर्षका महत्वपूर्ण कमाण्डर राम बहादुर थापा गृहमन्त्री छन् । त्यति मात्रै होइन, अहिले कानुन पढेकै व्यक्ति अर्थात् अधिवक्ता शेरबहादुर तामाङ कानुनमन्त्री छन् । तर, गंगामायालाई अहिलेसम्म कसैले एकपटक सोधेका वा भेटेका छैनन् ।

सरकारबाट सहुलियत यत्ति मात्रै हो, वीर अस्पतालमा औषधि दिएर राखिएको छ । अनसन बस्न दिइएको छ । उनको अवस्था साह्रै नाजुक भइसकेको छ ।

हत्यारालाई कारबाही हुने आश्वासनमा उनलाई बारम्बार अनसन तोडाइन्छ । तर, उनको सत्याग्रहमा पूर्ण्विराम लाग्ने गरी कहिल्यै माग पूरा हुँदैन । उनले पछिल्लो पटक गएको माघ १६ गते शहीद दिवसको दिनबाट अनशनमा छिन् ।

तत्कालीन विद्रोही माओवादीको अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै गंगामाया अहिले एक्लै न्यायको लडाई लडिरहेकी छन् ।

आमरण अनसनमै प्राण त्यागेका नन्दप्रसादको शव अझै पनि शिक्षण अस्पतालको शव गृहमै छ । जेठो छोरा नुरप्रसाद अधिकारी पनि चार वर्षदेखि सम्पर्कविहिन छन् ।

कथा धेरै लामो छ । किटानी जाहेरी दिएको लामो संघर्षपछि समातिएका अभियुक्तलाई चितवन जिल्ला अदालतले निर्दोष भनेर छाडिदिएपछि त्यो आदेश विरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेकी गंगामाया सँधै पेशी सरिरहने अदालती प्रक्रियाबाट थप अशान्त छिन् ।

२०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष ६ महिनापछि नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालत चितवनले किटानी जाहेरी भएकामध्ये सात जनालाई धरौटीमा र चार जनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थिएनन् । तीमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको छ । सर्वोच्च अदालतमा थुनछेक बहसपछि अभियुक्त १३ जनामध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नू भन्ने आदेश दिइएको थियो । पौडेल फरार छन् ।

किटानी जाहेरी परेकामा छविलालसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ