विश्व मौसम विज्ञान दिवस : सरकारले प्रविधि विस्तारमा ध्यान दिएन
प्रकाशित २०७४ चैत ९ शुक्रबार
376
Shares
काठमाडौं । ‘वेदर रेडी क्लाइमेट स्मार्ट’(अंग्रेजीमा)भन्ने नाराका साथ नेपालमा पनि विश्व मौसम विज्ञान दिवस मनाईँदैछ । भविष्यमा हुने क्षती न्यूनिकरणको लागि मौसमको पूर्व जानकारी लिनु आवश्यक छ, भन्ने सन्देश दिन यो नारा तय गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम विज्ञ एवं प्राध्यापक मणिरत्न शाक्यले भविष्यमा हुने लामो खडेरी, चट्याङ, हुरी बतासलगायत मौसमी अवस्थाबारे थाहा पाउन सके क्षती कम गर्न सकिने बताए । उनले मौसम विभागमा जनशक्ति पर्याप्त भएको तर, प्रविधि विस्तारमा सरकारले ध्यान नदिएको समेत बताए । सरकारले मौसम विज्ञानको उपयोगमा ध्यान दिनुपर्ने र आम नागरिक पनि जलवायु परिवर्तनप्रति सचेत रहनु पर्नेमा उनको जोड छ ।
विश्व मौसम संगठन सम्बन्धी महासन्धी कार्यान्वयनमा आएपछि सन् १९५० देखि हरेक वर्ष मार्च २३ तारिखमा यो दिवस मनाउन थालिएको हो । सन् १९६६ मा नेपाल विश्व मौसम संगठनमा आवद्ध भएपछि नेपालमा मौसम पूर्वानुमानलगायत मौसम सम्बन्धी क्रियाकलापको थालनी भएको हो । अहिले नेपालका एक सय ३० वटा नदीमा स्वचालित जलमापन केन्द्र राखिएका छन् ।
यो आर्थिक वर्षभित्रै थप १ सय ५० केन्द्र स्थापना गर्ने मौसम विज्ञान विभागको तयारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले १५ वटा स्टेशन मार्फत दैनिक मौसमी तथ्यांक संकलन गरिरहेको छ ।