arrow

नेपालगञ्ज पुगेर राष्ट्रपतिले भनिन् - सय अपराधी छुटोस् तर, गैर अपराधीले सजाय पाउनुहुन्न

logo
प्रकाशित २०७४ चैत ९ शुक्रबार
bidhya.JPG

 नेपालगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिलाई थप सुदृढीकरण गरेर राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्ने बताएकी छन्।

नेपाल बार एशोसिएसनले शुक्रवार आयोजना गरेको १४औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको लोकतान्त्रीकरण प्रक्रियामा एशोसिएसनले खेलेको भूमिका प्रशंसनीय छ भनिन् ।  

‘समकालीन विश्व राजनीतिक परिवेशमा संविधान निर्माणको ऐतिहासिक उपलब्धिलाई जोगाइराख्न संविधानको कार्यान्वयन, नागरिकको न्यायमा पहुँच र राजनीतिक स्थायित्वका लागि कानून व्यवसायीले अझ महत्वपूर्ण भूमिका खेल्नुपर्छ”, उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले पछिल्लो समय न्याय क्षेत्रमा घटेका घटना गम्भीर प्रकृतिका छन्, यस विषयमा सम्मेलनको ध्यान आकृष्ट हुनुपर्छ र न्यायपालिकाको परम्परागत छविलाई अझ सुदृढ पार्न कानून व्यवसायीको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरिन् ।  

न्यायपालिकाको शक्ति जनविश्वास भएको बताउँदै उनले संविधान र कानूनको व्याख्यामा एकरुपतासहित नेपालको न्यायपालिकाको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न सबै पक्ष अग्रसर हुनुपर्नेमा पनि जोड दिइन् ।  

राष्ट्रपति भण्डारीले कानून व्यवसायीले कानून कार्यान्वयन गराउन सहज भूमिका खेल्नुपर्छ भन्दै बरु १०० जना अपराधी छुटोस् तर, एकजना गैर अपराधीले सजाय पाउनु हुन्न भन्ने भावना र मान्यतामा भूमिका खोजिनुपर्छ भनिन् ।

सम्मेलन उद्घाटन समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले कानूनी पैरवीकर्ताका रुपमा एशोसिएसनले आफूलाई स्थापित गर्नुपर्छ भने ।

उनले नयाँ राजनीतिक परिवेशभित्र संविधान कार्यान्वयन तथा मुलुकको आर्थिक समृद्धि र विकास योजनालाई पनि सँगै लिएर हिँड्नुपर्ने आवश्यकतामा जोड दिए ।

पूर्व सभामुख सुभाषचन्द्र नेवाङले नेपालको संविधानमाथि कसैको हस्तक्षेप कदापि स्वीकार्य नहुने स्पष्ट पार्दै नेपाली जनता र मुलुकको आवश्यकताअनुसार संविधान संशोधन हामी आफैँ गर्छौं भने ।

एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीको सभापतित्वमा भएको सम्मेलन उद्घाटन समारोहमा एशोसिएसनका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटा र महासचिव खम्बबहादुर खातीले पनि बोल्नुभएको थियो ।

सम्मेलन उद्घाटन कार्यक्रममा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, नेपाल सरकारका महान्यायाधिवक्ता, प्रदेश र प्रतिनिधिसभाका सांसदलगायतका विशिष्ट महानुभावको उपस्थिति रहेको थियो ।

त्यस अवसरका एशोसिएसनका तर्फबाट अध्यक्ष केसीले राष्ट्रपति भण्डारी, मुख्यमन्त्री पोखरेल र पूर्व सभामुख नेवाङलाई मायाको चिनो प्रदान गरे ।  आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा १० वटा विषय प्रस्तुत हुने र त्यसमाथि समूहगत छलफल गरी नेपालगञ्ज घोषणापत्र जारी गर्ने बताइएको छ ।

सम्मेलनमा मुलुकभरिका करीब ३०० हजार कानून व्यवसायीको सहभागिता रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ