बागलुङ । ऐतिहासिक चैत्राष्टमी मेला सुरु भए संगै बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । मनोकांक्षा पूरा हुने विश्वासमा पूजा आजाका लागि देशका विभिन्न भूभागबाट भक्तजन यहाँ आउने गरेका छन् । मन्दिर परिसर भित्रै चैत्राष्टमी मेलाको पनि आयोजना गरिएको हुनाले मेला हेर्न र मन्दिर मा दर्शन गर्न आउने भक्तजनहरुको भिड लागेको हो ।
देशमै पवित्र धार्मिकस्थलका रुपमा परिचित सो मन्दिरमा बडादशैँं र चैतेदशैँका बेला विशेष मेला लाग्ने गरेको छ । मन्दिरको मुख्य आम्दानी हुने समय पनि यिनै हुन् । चैत्राष्टमीलाई लक्ष्य गरी पूजा आजालाई विशेष रुपमा व्यवस्थापन गरिएको अध्यक्ष राजु खड्काले बताए ।
मन्दिरको सुरक्षार्थ खटिएका प्रहरी सहित अतिरिक्त प्रहरी खटाइएको छ । स्वयंसेवक र मन्दिर व्यवस्थापनका कर्मचारी अहोरात्र खटिएका छन् । ‘पूजाआजा कार्यलाई सहज बनाउन सबै उपाय अपनाइएको छ’, खड्काले भने, ‘ चैते दशैँको बेला मन्दिरका तीन वटै ढोकाबाट पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ । ’
पाँच सय वर्ष पुरानो सो मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत देवीको पूजा आराधना गरिन्छ । काठमाडौँ, पोखरादेखि विभिन्न ठाउँबाट मन्दिर दर्शनका लागि वर्षेनी भक्तजन आउने गरेका छन् । पछिल्लो समय कालिकाको दर्शनका लागि भारतबाट समेत दर्शनार्थी आउन थालेको अध्यक्ष खड्काले बताए । चैत्राष्टमीमा विशेषगरी नवरात्रभर बिहान ४ बजेदेखि नै भक्तजन मन्दिरमा लाम लाग्ने गरेका छन् । सो मन्दिरमा पूजाआजा गर्नाले शक्ति प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
‘बागलुङ कालिकालाई देशकै प्रसिद्ध शक्तिपीठको रुपमा लिइन्छ’ चैत्राष्टमीको अवसरमा मन्दिको दर्शन गर्न मात्र नभई आफुलाई आवश्यक पर्ने ठेका, डाला नाङ्ला खरिद गर्नका लागि गाउँ गाउँबाट झर्ने गर्दछन । नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको धूमधाम पूजा गरिन्छ । पछिल्लो समय मन्दिरको गरिमा झन् बढ्दै गएको बागलुङका समाजसेवी देवबहादुर श्रेष्ठ बताउँछन ।
महाष्टमी र महानवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने चलन छ । मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोसमेत बलि दिइन्छ । पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ । मन्दिरमा आउने दर्शनार्थिको लागि सहज बनाउनका लागि सुरक्षा व्यवस्था पनि मजबुत बनाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मन्दिरका नजिकै मिनी ‘जु’ निर्माण कार्यपनि अगाडि बढाईएको अध्यक्ष खड्काले बताए । मन्दिरको समग्र विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना बनाएर काम गरिरहेको छ ।
कालिका भगवती मन्दिर परिसरमा सञ्चान हुने मेलाको अवसरमा लोकदोहोरी गीत, खुल्ला कालिका कप पुरुष भलिबल, खुल्ला टि–ट्वान्टी क्रिकेट, खुल्ला छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ । सर्वा्धिक पुरस्कार राशी रहेको कालिका कप भलिवल प्रतियोगितामा १२ समुहले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै, शुक्रबारदेखि नै सुरु भएको लोकदोहोरी गीत प्रतियोगितामा १३ समुहले सहभागिता जनाएका छन् ।
लोकदोहोरीमा प्रथम हुनेले १ लाख ११ हजार, दोस्रो हुनेले ५५ हजार ५ सय र तेस्रो हुनेले २५ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने व्यवस्था रहेको कालिका भगवति गुठी व्यवस्थापन समितिले जनाएको छ । मेलामा रथयात्रा तथा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम र रमाईंलो बालउद्यानको समेत रहेको छ । बागलुङको धार्मिक पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको मेला नाफामुखी भन्दा पनि सेवामुखी हुने आयोजक कालिका भगवती गुठीले जनाएको छ ।