arrow

श्रीमान-श्रीमती छुट्याउन लागे दुई जिल्लाका प्रहरी

logo
बिजय चौहान,
प्रकाशित २०७४ चैत १० शनिबार
parsa2.jpg

वीरगन्ज ।  समाजमा रहेको छुवाछुत तथा दाइजो प्रथालाई अन्त्य गर्न पर्सामा एकतर्फ अन्तरजाजिय विवाह सम्पन्न भएको छ भने, अर्कोतर्फ प्रेमविवाह गरेका जोडीलाई छुट्याउने काम प्रहरीले नै गरेको छ ।

वीरगन्जको गिता मन्दिरमा शनिबार पर्साको पकहामैनपुर गाउँपालिका २ मधुवनी निवासी त्रिलोकी प्रसाद पटेल र सोही गाउपालिकाको वाड नम्बर १ धोरे निवासी रीना मेहताको अन्तरजातिय विवाह दुवैका परिवारको सहमतिमा सम्पन्न भएको छ भने शुक्रबार  बारा–पर्साका प्रहरीले ६ वर्ष पुरानो प्रेम सम्बन्ध र दुई वर्ष अगाडी प्रेम विवाह गरेका बाराको कलैया ३ निवासी २४ वर्षीय किरण गुप्तालाई उनका श्रीमान  परवानीपुर गाँउपालिका ५ निवासी वर्ष २६का सुर्यप्रताप पटेलसंग छुट्याउने काम गरेको हो ।

सुर्यप्रतापसंग प्रेम विवाह गरेकी किरणले उनीसंगै जिवन विताउन सात दिन आडी घरबाट हिडेपछि शुक्रबार उनलाई प्रहरीले नियन्त्रणमा लिई अभिभावको जिम्मा लगाएको छ ।

नाता कायमकालागि किरणले पर्सा जिल्ला अदालतमा दिएको उजरीको प्रतिउत्तर दिन शुक्रबार जिल्ला अदालत पुगेका सुर्य प्रतापलाई प्रहरीले अदालतको दोस्रो तल्लाबाट नियन्त्रणमा लिएपछि अपहरणको उजुरी गलत भएको भन्दै प्रहरीसम्म पुगेकी किरणलाई प्रहरीले नियन्त्रणमा लिइको थियो । श्रीमान निर्दोष भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेकी किरणलाई विना कसुर प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । पक्राउ गरिएका सुर्यप्रतापलाई प्रहरीले छाडेपनि किरणलाई भने प्रहरीले शुक्रबार मध्यरातमा उनको सिउँदो पानीले पखाल्न लगाई बारा प्रहरीको जिम्मा लगाएको थियो ।

आफु बालिग रहेको र आफु चाहेको व्यक्तिसंग बस्न पाउने आफ्नो कानुनी अधिकार भएको किरणले प्रहरीलाई भन्दापनि उनको कुरालाई प्रहरीले अटेरगरी बाराबाट आएको प्रहरी नायब उपरिक्षक भुनेश्वर साहको जिम्मा किरणलाई लगाई बारा पठाइएको थियो ।

वालिग रहेकी किरणलाई पक्राउ गरिएको विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक राजु लिम्बुसंग बुझ्दा उनले अभिभावकले दिएको उजुरीको आधारमा किरणलाई बारा प्रहरीको जिम्मा लगाएको बताए । उनले सुर्य प्रतापलाई अदालत परिसरबाट नभई बाहिरबाट नियन्त्रणमा लिइएको र सोधपुछ पछि छाडिएको दावी गरे।

बालिग रहेकी किरणलाई उनको इच्छा विपरित बारा प्रहरीका जिम्मा किन लगाइएको वारे नायब उपरिक्षक लिम्बुसंग बुझ्दा उनले अभिभावकले दिएको निवेदनको आधारमा केटीको मर्जि भएपनि नभएपनि अभिभावकै जिम्मा लगाउने व्यवस्था अनुसार गरिएको  जानकारी दिए ।

बारा प्रहरीको नियन्त्रणमा गएकी किरणले शुक्रबार देखी नै अन्न त्यागेकी छन भने श्रीमान सुर्यप्रतापसंगै बस्ने अडानमा रहेकी छन् । बाराको महिला सेलमा रहेकी किरणलाई प्रहरीले शुक्रबार बेलुका अभिभावकको जिम्मा लगाएको थियो।

यसै बीच शनिबार सुर्यप्रतापले वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी रकमको चलखेलमा बारा  र पर्साका प्रहरीले आफनो श्रीमतिलाई आफुसंग छुटयाएको आरोप लगाएका छन् । किरणका परिवारजनबाट नजराना बुझी दुवै जिल्लाका प्रहरीले आफुहरु बालिग भएपनि छुट्याएको उनको दावी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ